काठमाडौं। बिचौलिया दीपक भट्ट र उनको समूहमा आबद्ध घरानाहरुले कसरी पब्लिक लिमिटेड कम्पनीको पैसा दुरुपयोग गरे र कसरी गैरकानुनी रुपमा आफ्ना लागि अर्बौं रुपैयाँको स्रोत जुटाउने प्रयास गरिरहेका थिए?
राज्य संयन्त्र कब्जा गरेर बिचौलियाले जनताको पैसामा कसरी लुट मच्चाउँछन् भन्ने यो एउटा उदाहरण हो। र, सम्भवत: यो जानीजानी गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो वित्तीय अपराध पनि।
नेपाल रिको सेयर हत्याउन भएको फण्डाका बारेमा बिजमाण्डूले सिरिजमा समाचार प्रकाशित गरेको थियो। तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीदेखि अर्थमन्त्री विष्णु पौडेलसम्म भट्टका अगाडि नतमस्तक थिए, जसले गर्दा जारी अनुसन्धान नै रोकेर भट्टलाई ‘क्लिन चिट’ दिइएको थियो।
बिचौलिया भट्ट तीनै व्यक्ति हुन् जसले पूर्वप्रधानमन्त्रीहरु ओलीसहित शेरबहादुर देउवा, पुष्पकमल दाहालदेखि पूर्वमन्त्रीहरु आरजु राणा, जनार्दन शर्मा र विष्णु पौडेलसँग पहुँच बनाएर राज्य संयन्त्र कब्जा गरेका थिए। जेनजी आन्दोलनले पुरानो सत्ता उखेलेर फ्यालेपछि उनीमाथि अनुसन्धान तीब्र भएको हो। अनुसन्धानमा भट्ट र उनको समूहले धितोपत्र बजारमा संगठित रुपमा अपराध गरेको प्रमाण फेला परेको हो।
भट्ट, साहिल र सुलभ अग्रवाल तथा मोर परिवार लगायत व्यावसायिक घरानाको प्रमुख लगानी रहेको कम्पनी हो- हिमालयन रि इन्स्योरेन्स। हिमालयन इन्स्योरेन्सको सतप्रतिशत लगानी भएको अर्को कम्पनी हो, हिमालयन क्याप सर्भ लिमिटेड।
हिमालयन इन्स्योरेन्सको ७५ प्रतिशत र बिचौलिया समूहको २५ प्रतिशत लगानी भएको अर्को कम्पनी हो हिमालयन सेक्युरिटिज बैंकर लिमिटेड। सर्वसाधरणको लगानी रहेको तर बहुमत सेयर तथा व्यवस्थापन नियन्त्रणमा रहेका कम्पनी हुन्, हिमालयन लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी।

हिमालयन लाइफ इन्स्योरेन्सले दुई अर्ब रुपैयाँ पुँजी लगानी गरेको अर्को एउटा फण्ड छ, एचएलआई लार्ज क्याप फण्ड। पाँच अर्ब रुपैयाँको यो फण्डमा बिचौलियाको प्रभावमा नेपाल इन्स्योरेन्सले समेत ४० करोड रुपैयाँ लगानी हालेको छ।
तर यी कम्पनीहरुमा भएको कोषलाई बिचौलिया समूहले व्यक्तिगत लाभ लिनका लागि ठूलो रकम दुरुपयोग गरेको भेटिएको छ।
यी कम्पनीहरुले सेयर खरिद गर्नका लागि भनेर भृकुटी स्टक ब्रोकर कम्पनीमा पैसा ‘एडभान्स’मा दिएका छन्। जबकी यो पैसाबाट बिचौलिया भट्टका नाममा सेयर खरिद भएको छ। भृकुटी ब्रोकर कुनैबेला हिमालयन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णकी श्रीमतीको कम्पनी हो। यी सबै अपराधको केन्द्र भृकुटी स्टक ब्रोकर हो।
त्यति मात्रै होइन्, यसरी भृकुटीमा पब्लिक लिमिटेड कम्पनीबाट आएको एडभान्स पैसा दुई घराना जगदम्बा समूहका सदस्य र लक्की समूहका सदस्यको खातामा समेत पुगेको छ।
हिमालयन रि इन्स्योरेन्ससहित ५ कम्पनीले भृकुटी स्टक ब्रोकरमा ३ अर्ब ७३ करोड रुपैयाँ एडभान्स दिएका थिए। त्यसबाट नेपाल रि इन्स्योरेन्स कम्पनीको झण्डै २० लाख कित्ता सेयर अर्थात २ अर्ब ८९ करोड रुपैयाँको सेयर दीपक भट्टका नाममा खरिद गरिएको छ।
६२ करोड रुपैयाँ सुलभ अग्रवालकी श्रीमती शुभी अग्रवालको खातामा पुगेको छ भने सुभीले त्यो पैसा सुलभको खातामा पठाएकी छन्। सुलभले त्यो पैसा दीपक भट्टको खातामा पठाएको र यो रकम जगदम्बा स्टीलको कारोबार मिलाउन प्रयोग भएको छ। भृकुटीले अर्को २३ करोड रुपैयाँ ऋषीराज मोरलाई दिएको छ।
सम्पति शुद्धीकरण विभागले भट्टमाथि गत महिनाबाट सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धान अघि बढाइरहेको थियो, यही बेला उनको डिम्याट खातामा झण्डै २० लाख कित्ता नेपाल रि इन्स्योरेन्सको सेयर देखियो।
त्यो सेयर खरिदको स्रोत के हो? भन्दै विभागले खोजी सुरु गरेको छ। विभागले बीमा कम्पनीहरुको नियामक नेपाल बीमा प्राधिकरणलाई लेखेको पत्र अनुसार, नेपाल रि इन्स्योरेन्सको सेयर खरिद गर्न हिमालयन रि इन्स्योरेन्सबाट २ अर्ब ७३ करोड, यसको सहायक कम्पनी हिमालयन सेक्युरिटिज बैंकरबाट २२ करोड १९ लाख, हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनीबाट ३७ करोड, एचएलआइ लार्ज क्याप फण्डबाट २५ करोड १४ लाख र नेपाल माइक्रो इन्स्योरेन्सबाट १६ करोड १७ लाखभन्दा बढी रकम गएको छ।
विभागले प्राधिकरणदेखि नेपाल धितोपत्र बोर्ड, सीडीएससी एण्ड क्लियरिङ र नेपाल स्टक एक्सचेञ्जलाई पत्र लेखेर सम्पूर्ण कारोबारको विवरण माग गरेकोमा सबैले बुझाइसकेका छन्।
संस्थाको नामबाट पैसा लिएर व्यक्तिका नाममा सेयर खरिद गरिदिने ब्रोकर कम्पनी भृकुटीलाई पनि विभागको सिफारिसमा निलम्बन गर्ने तयारी सुरु भइसकेको छ। यसका अध्यक्ष सन्दिप चाचानमाथि कारबाही गर्न लागिएको छ।
यो सबै कारोबारमा धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको प्रत्यक्ष सहयोग देखिएको छ। उनले दीपक भट्टका नाममा सेयर किन्ने स्रोत जुटाइ दिन एचएलआइ लार्ज क्याप फण्डलाई आवेदन दिएको १४ दिनमै स्वीकृति दिएका थिए। जबकी सरकारी लगानीको कम्पनीलाई उनले ६ महिनासम्म रोकेका थिए।
सन्तोषनारायण र दीपक भट्टबीच लेनदेनको पुरानो कारोबार छ। यस बारेमा पनि बिजमाण्डूले बिस्तारमा समाचार प्रकाशित गरेको थियो। तर, उनीमाथि कारवाही गरिएन।
अहिले भट्टमाथि चार वटा छुट्टाछुट्टै काण्डमा अनुसन्धान भइरहेको छ। बैंकिङ कसुर, सम्पति शुद्धीकरण, धितोपत्र कसुर र ठगीमा अनुसन्धान भइरहेको हो। विभाग स्रोतका अनुसार, भट्ट, सुलभ, साहिल, मोरलगायत अन्य केही व्यवसायीमाथि मुद्दा लैजाने तयारी भएको छ। त्यसैअनुसार सरकारले मंगलबार भट्टको पासपोर्ट रोक्का गरेको छ।
भट्टका नाममा खरिद गरिएका सेयर पनि रोक्का राखिएका छन्। साथै उनको र उनको समूहका केही व्यक्तिहरुको खाताबाट हुने कारोबारको सीमा तोकिएको छ।