
चिसो पेय पदार्थ भन्ने वित्तिकै हाम्रो दिमागमा कोकाकोला या पेप्सी आउँछ । चिसो पेय पदार्थका रुपमा विश्वव्यापि प्रसिद्धि कमाएका दुई पेय पदार्थमध्ये कोकाकोलाको लोकप्रियता अत्याधिक छ । यो लगातार विश्वका उत्कृष्ट ब्राण्डहरुको सूचीमा अग्रस्थानमा रहँदै आएको छ । यसको लोकप्रियता कत्तिसम्म छ भने दैनिक एक अर्ब ८० करोड बोत्तल कोकाकोला बिक्री हुने गरेको छ । यसको लोकप्रियताका कारण नै वर्मामा पुनः प्रवेश गर्ने कम्पनीले निर्णय गरेको छ ।
६० वर्ष अघि वर्माबाट बाहिरिएको कोकाकोला गत सोमबार मात्रै फेरी प्रवेश गर्यो । कम्पनीले कोकाकोलाको पहिलो ट्रिप बर्मा ल्याईपु¥याएको छ भने केहि महिनापछि वर्मामा नै उत्पादन सुरु गर्ने योजना कम्पनीको छ । अमेरिकाले वर्मा माथि लगाएको ब्यापार प्रतिबन्धका कारण कोकाकोला बाहिरिएको थियो । हालै मात्रै अमेरिकाले प्रतिबन्ध हटाएपछि कम्पनीले पुनः प्रवेश गर्न लागेको हो । वर्मामा ६० वर्षपछि प्रवेश गरे पनि विश्वका दुई मुलुकमा कोकाकोलाको आधिकारीक बक्रि तथा उत्पादन केन्द्र छैन । ती मुलुकहरु हुन्, क्यूवा र उत्तर कोरीया । अमेरिकाले दुबै मुलुकमा व्यापारमाथि लगाएको प्रतिबन्धका कारण क्युवा र उत्तर कोरीयामा यसको आधिकारीक उत्पादन तथा बिक्री हुँदैन । यद्यपि चोरीको बाटोबाट लगेका कोकाकोलाको बिक्री उत्तर कोरीयामा हुने गरेको समाचार हालै मात्र प्रकाशित भएको थियो ।
पूँजीवादको पर्याय जस्तै मानिएको कोकाकोलाले कम्युनिष्ट र केही कट्टरपन्थि मुलुकमा भने समस्या भोग्दै आएको छ । वर्मा वाहेक चीन, सोभियत संघ र भियतनाममा पनि कोकाकोलाको बिक्री केहि वर्षका लागि स्थगित भएको थियो । सन् १९६९ देखि १९७९ सम्मको दश वर्ष अवधिमा चीनमा कोकाकोलाको बिक्री प्रतिबन्धित भएपनि १९७९ देखि निर्वाध यसको उत्पादन तथा बिक्री वितरण भईरहेको छ । अहिले चीन कोकाकोलाको मुख्य बजार हो ।
विश्व प्रसिद्धि कमाएको यो पेय पदार्थले धेरै आलोचना र विध्वंश पनि सहेको छ । सन् १९५० को दशकमा कोकाकोलाले फ्रान्सको संस्कृती विगारेको भन्दै ट्रकका ट्रक कोकाकोला ध्वस्त पारिएको थियो । यसैगरी शीतयुद्ध ताका कोकाकोलालाई पूँजीबादको पर्याय मान्दै कम्युनिष्टहरुले देखि सहेनन् । यही कारण केहि कम्युनिष्ट मुलुकमा लामो समयसम्म यसको बिक्री भएन् ।
यसैगरी बर्लिनको पर्खाल भत्काँईदा पूर्वी जर्मनहरुले कोकाकोलालाई स्वतन्त्रताको संकेतका रुपमा पिए । यता अरब लिगका सदस्यले इजरायलमा बिक्री गरेको भन्दै १९६८ देखि १९९१ सम्म यसमाथि प्रतिवन्ध नै लगाए । एक स्वतन्त्र ब्राण्डिङ कन्सलट्यान्ट ब्रुस वेबस्टरका अनुसार कोकाकोल राजनीतिमा मुछिन नचाहेको भए पनि पटक पटक मुछिईरह्यो । उनका अनुसार अमेरिकी ब्राण्ड भएका कारण अमेरिकाको नीति र प्रभावसँगै यसको पनि प्रशंसा र आलोचना दुबै भयो । सन् २००३ मा अमेरिकाले इराकमा गरेको आक्रमणको विरोध जनाउँदै थाइल्याण्डमा भएको प्रदर्शनमा कोकाकोला पोखिएको थियो । इरानी राष्ट्रपती महमुद अहमदिनेजाद हालै मात्रै आफ्नो मुलुकमा कोकाकोला प्रतिबन्धित गरिदिने धम्की समेत दिए । यसैगरी भनेजुएलाका राष्ट्रपति ह्युगो चाभेजले आम जनतालाई कोकाकोलाको सट्ट आफ्नै देशमा उत्पादित फलपुलको जुस पिउन सल्लाह दिनछन् ।
अमेरिकी राज्य जर्जियाको एटलाण्टा शहरमा सन १८८६ मा पहिलो पटक उत्पादित कोकोकोला सन् १९०० पछि मात्रै युरोप र एशिया प्रवेश गरेको हो । यसको लोकप्रियतामा दोश्रो विश्वयुद्धले प्रमुख भूमिका खेलेको मानिन्छ । दोश्रो विश्वयुद्धमा खटिएका अमेरीकी सेनाको पेय पदार्थ कोकाकोला नै थियो । त्यसताका अमेरिकी सैनिक क्याम्प भएका ६० स्थानमा कोकाकोलाको बोटलिङ प्लाण्ट थियो । पूर्व अमेरिकी राष्ट्रपति जो युद्धको समयमा युरोपमा खटिएको संयुक्त मोर्चाको मुख्य कमाण्डर थिए, उनी समेत कोकोकोलामा लठ्ठ थिए । उनैको प्रयासमा दक्षिण अफ्रिकामा खेदिएका सैनीकहरुले कोकाकोला चाख्न पाएको विश्वास गरिन्छ । विभिन्न आरोह अवरोहका बावजुद उत्पादनको १२६ वर्षपछि पनि कोकाकोलाको बिक्री दर कहिल्यै घटेको छैन, बरु वर्षेनि बढदैछ । बीबीसी