
सविन मिश्र/बिजमाण्डू
काठमाडौं । चाडपर्वको समय सुरु भएसँगै बजारमा चहल पहल निकै बढेको छ । चाडपर्व मनाउन आवश्यक सामग्रीको जोहो गर्न उपभोक्ता बजार पसिसकेका छन् । सरकारी र केही निजीक्षेत्रका सस्थाहरुले कर्मचारीलाई भत्ता दिइसकेका छन् । यसले पनि बजार चम्काउन मद्दत गरेको छ ।
काठमाडौंबाट टाढा जानुपर्नेहरुले घर जाने बसको टिकट बुकिङ गरिसकेका छन् भने हवाइ मार्गबाट जानेहरुले पनि टिकटको ब्यवस्था गरिसकेका छन् ।
दशैं लागेसँगै गत वर्षको दशैंको तुलनामा यो वर्षको दशैंमा मानिसहरुको घरको भान्सा पनि महँगो हुने भएको छ । गत वर्षको तुलनामा यो वर्ष खाद्यान्न, मासु, मदिरा, कपडालगायत सबै बस्तुको भाउ बढेको छ । थोरै आम्दानी हुनेलाई चाडवाडको रमाइलो भन्दा खर्च धान्ने अर्को समस्या छ ।
'सबै सामानको भाउ बढ्यो केही छुनै सकिँदैन'
पूर्वसचिव महाश्रम शर्माकी पत्नी उषा शर्मा पेशाले सरकारी विद्यालयकी शिक्षिका पनि हुन् । २०५० सालमा उनले पहिलोपटक काठमाडौंमा दशैं मनाएकी थिइन् । त्यतिबेलाको समयको तुलना गर्दै शर्मा भन्छिन्, 'देवरको परिवारसहित हामी काठमाडौंमा थियौं, १५ सयले दशैंमा हामीलाई पुग्ने कपडा आएको थियो, अहिले त भाउ कहाँ पुग्यो कहाँ !'
कपडा मात्रै नभइ मासु, फलफूल, दही दुधलगायत सबै खाद्य वस्तुको भाउ बढेको छ ।
'गएको वर्ष हामीले ५५ सयले मासु पुर्याएका थियौं, शर्मा भन्छिन्, 'यसपटक सात हजार भन्दा कमले पुग्ने देखिँदैन ।' गत वर्ष ६ सय रुपैयाँ प्रतिकिलो रहेको खसीको मासुको मूल्य यो वर्ष आठ सय पुगिसकेको शर्माले बताइन् । शर्मा प्रतिनिधि पात्र हुन् । उनी जस्तै र उनको भन्दा पनि कम आम्दानी हुने नेपाली निकै धेरै छन् ।
'हरेक छाक महँगो भएको छ, बजारमा सामानको भाउ छोइ नसक्नु भएको छ,' शर्मा भन्छिन्, 'बजार गएर सामान किन्दा हामी कसरी बाँचिरहेका छौं जस्तो लाग्छ ।' चामल, दाल, गेडागुडी सबैको भाउ बढेको बताउँछिन शर्मा । भन्छिन्, 'पोहोर ५०/५५ रुपैयाँ किलो पर्ने चामलको भाउ ७० पुगिसक्यो, अनि कसरी धान्न सक्नु !'
तरकारी र फलफूलको भाउ पनि निकै बढेको उनको गुनासो छ । 'दाल चामल मात्रै होइन तरकारीको भाउ पनि बढ्यो,' उनी भन्छिन्, 'पोहोर ९० रुपैयाँ धार्नी थियो आलु अहिले त १६० रे, कसरी सक्नु !' सरकारी तथ्यांकले नै भन्छ मुल्य बृद्धिदर १० प्रतिसत भन्दा धेरै छ । अझ खाद्य समूहको त १५ प्रतिसत छ ।
तलब त त्यसै सकिन्छ
आफू सरकारी कर्मचारी र घरमा श्रीमान पनि निजामति सेवाकै विशिष्ठ श्रेणीमा पुगेर रिटायर्ड भएका ब्यक्ति, शर्माको घरमा दशैं पेश्की तथा तलव गरेर सामान्य नागरिकको तुलनामा ठुलै रकम भित्रिन्छ । त्यसैले सामान्य नागरिकलाई भन्दा यो परिवारलाई दशैं मनाउन त्यति समस्या त पर्दैन ।
'दशैं मनाउन कहाँ ऋण खोज्न जाने भन्ने समस्या त हामीलाई हुँदैन,' उनी भन्छिन्, 'तैपनि यस्तो महँगीमा सामान्य खर्च गर्दा पनि दशैं मनाउन गारो हुन्छ ।'
हामीलाई त गारो छ अरुले के गर्लान !
'हामीलाई दशैं मान्नै गारो त छैन, तर तलव आएन भने तिहार मान्न चैं गारो हुन्छ,' शर्मा भन्छिन, 'घरमा सरको पेन्सन आउँछ, म पनि स्कूल पढाउँछु र राष्ट्र बैंकको एउटा काम पनि गर्दैछु । त्यसैले सामान्य रुपमा दशैं मान्न हामीलाई गारो त पर्दैन ।'
शर्माको चिन्ता भने अर्कै छ । उनी अहिले नेपाल राष्ट्र बैंकले गर्ने पारिवारिक सर्वेक्षणमा सर्वेक्षकको रुपमा काम गर्दै छिन् । त्यसैले पनि उनले धेरै परिवारलाई भेट्छिन र उनीहरुको अवस्था तथ्यांकमा उतार्छिन् । आफूले भोगेकै महँगी र राष्ट्र बैंकले अन्तिममा निकाल्ने तथ्यांकमा कत्तिको तादम्यता पाउनुहुन्छ भन्ने प्रश्नमा उनले जवाफ दिइन्, 'सबैले आफ्नो वास्तविकता बताउने हो भने त हाम्रै भान्छाकै जस्तो आउँछनी ।'
'हामी दुवैको केही न केही पैसा आउँछ र दशैं मनाउन गारो भन्ने हुँदैन,' उनले भनिन्, 'यहाँ मैले धेरै यस्तो परिवार भेटेको छु, उनीहरुको अवस्था निकै कमजोर छ, कसरी दशैं मनाउलान् उनीहरु जस्तो लाग्छ ।'
महँगियो कपडा
अरु सामानको तुलनामा कपडामा मूल्य वृद्धिको दर केही कम रहेको उनको अनुभव छ । भाउ वृद्धिदर थोरै भएपनि मान्छेले छुनै नसक्ने गरी भाउ बढिसकेको शर्माले बताइन् । 'हाम्रो चार जनाका लागि सामान्य कपडा किन्दा पनि १३/१४ हजार रुपैयाँ सकिन्छ,' उनले भनिन्, 'पहिले यति धेरै मूल्य वृद्धि थिएन ।'
उषासँगै यसपटक भने उनका श्रीमान, रिटायर्ड सचिव महाश्रम शर्मा पनि बजार घुम्न निस्केछन् । 'पहिलो पटक उहाँसँग बजार गएको उहाँ त भाउ सुनेरै तर्सनुभयो,' उषा भन्छिन्, 'मूल्य वृद्धि मान्छेले सोचेको भन्दा धेरै फरक भइसकेको छ ।'
यसपटक पहिरोले चीनबाट पर्याप्त कपडा नेपाल भित्रिन नसकेको भन्दै लत्ताकपडामा २५ प्रतिशतसम्म मूल्यवृद्धि भएको व्यापारीहरु नै बताउँछन् ।
सिट पाइँदैन भाडा चैं महँगो
पटक पटक पेट्रोलियम पदार्थको भाउ बढ्दा त्यसको असर भान्सादेखि मानिसको हरेक यात्रामा देखिने गरेको छ । भाउ बढेपनि सहजै ग्यास नपाउने तथा महँगो भाडा तिर्दा पनि आरामदायी यात्रा गर्न नपाउँदा यात्रु मर्कामा परेको उनको गुनासो छ ।
'मान्छेले दशैंमा घर जानकै लागि बसको टिकट लिन त्यत्रो सास्ती खेप्नु पर्यो, लाइन बस्दा पनि मान्छेले टिकट पाएनन्,' शर्मा भन्छिन्, 'बस भाडा पनि धेरै बढेको छ, तैपनि मान्छेले पैसा तिर्छु भन्दा पनि टिकट पाउँदैन ।' यसले पनि मानिसहरुलाई देरै दु:ख र तनाव दिएको उनको बुझाइ छ ।