
विश्वका ४९ विपन्न मुलुकको व्यापार अभिबृद्धिमा सघाएर गरिबी निवारणमा योगदान दिन संयुक्त राष्ट्र संघ, विश्व व्यापार संगठन लगायतका संस्था मिलेर छुट्टै निकाय गठन गरेका छन् – इन्हान्स इन्टिग्रेटेड फ्रेमवर्क (इआईएफ) । जसको कार्यकारी प्रमुख छन् ४६ बर्षे नेपाली युवा रत्नाकर अधिकारी ।
लमजुङमा जन्मिएर काठमाडौंबाट स्कुले शिक्षा पुरा गरेका अधिकारी नेपालबाट करिययर सुरु गरि युवा उमेरमै सम्युक्त राष्ट्र संघिय एजेन्सीमा निर्देशक तहमा पुगेका हुन् ।
निरन्तरको मेहनतले आफुलाई यो ओहोदामा पुर्याएको उनी बताउँछन् । ‘म धेरै महत्वाकांक्षी छैन किनभने त्यसले निराशा बढाउँछ’ उनी भन्छन् । इआईएफको कार्यकारी निर्देशक बनौंला भनेर कहिल्यै नसोचेको उनी सुनाउँछन् ।
हुनत अघिल्लो कार्यकालकै लागि सन् २००८ मा ‘हेड हन्टिङ’ गरेर इआईएफ सम्बद्ध केहि अधिकारीले उनलाई आवेदन गर्न सुझाएका थिए । तर, युएनडिपीको जागिर छोडेर पिएचडीको चक्करमा उनले आवेदन गर्न मानेनन् ।
रत्नाकरले सन् २००५ मा युनएनडिपीको श्रीलंकास्थित क्षेत्रीय कार्यालयमा व्यापार विज्ञको जागिर अगावै म्यान्चेष्टर्ड युनिभर्सिटीमा पूर्ण छात्रबृत्ति सहित पिएचडी अवसर पाएका थिए । जाने योजना पनि बनेका थियो ।
अचानक युएनबाट कामका लागि अफर आयो । जनवरीमा गरेको युएनडिपीको आवेदन उनले विर्सि सकेका थिए । तर, जुनमा उताबाट खोजि भयो । एक कार्यक्रममा पोखरा पुगेको रत्नाकर तुरुन्त काठमाडौं आए । टेलिफोनबाट अन्तर्वाता लिएको भोलिपल्टै उनीहरुले सफल भएको भन्दै कन्ट्रयाक्ट पेपर पठाए ।
परिवार र साथीसँगको सल्लाहले युएनमा काम गर्न जाने निधो भयो । त्यस बेलाका लागि उनले पिएचडी त्यागि दिए ।
तर, युएनमा लामो समय अलमलियो भने त्यहिँ हराइन्छ भनेर उनी चनाखो थिए । श्रीमती मोना नेपालमा एक्सनएडमा काम गर्थिन् । श्रीलंकामा पनि उनले एक्सन एडमा काम सुरु गरिन् ।
तर, चार महिना पछि सन्तानलाई समय दिने उनले जागिर छोडिन् । काममा जानु नपरेपछि मोना घरमा चुप बस्न सकिनन् । उनले विभिन्न विश्वविद्यालयमा पिएचडीका लागि आवेदन गर्न थालिन् । अन्ततः उनले पनि वेलायतको वार्विक विश्वविद्यालयमा पिएचडी अवसर पाइन् ।
अब रत्नाकरलाई पनि हतार लाग्न थाल्यो । समय पनि पर्याप्त थिएन । सन् २००५ मा म्यान्चेष्टर्ड विश्वविद्यालयमा पठाएको पोलिटिकल इकोनोमी अफ एक्स्पोर्ट कार्टेल विषयको प्रपोजलमा सामान्य संसोधन गरेर उनले पनि वार्विकमा पठाइ दिए । विश्वविद्यालयले स्विकार गर्यो ।
युएनडिपीको जागिर छोडेर रत्नाकर सन् २००८ मा बेलायत पुगे । त्यसपछि प्रोफेसरसँग विषय परिवर्तनको प्रस्ताव गरे । त्यसबेलाका जल्दोबल्दो विषयको रुपमा रहेका ट्रेड एन्ड क्लाइमेट चेञ्ज र एड फर ट्रेड गरि दुई विकल्प प्रस्तुत भए । उनले दोस्रो रोजे ।
एड फर ट्रेडको त्यहि अध्ययन समेत नजानिँदो गरि उनलाई इआईएफसम्म पुग्ने सिंढी बन्यो । जाम्बियाकी डोरोथी तेम्बोको पदावधि सकिएपछि एक बर्ष अघि इआईएफमा पुनः कार्यकारी निर्देशकका लागि भ्याकेन्सी निस्कियो ।
अधिकारी बेलायतको पढाइ सकेर नेपाल फर्किसकेका थिए । तर, त्यो भ्याकेन्सीमा वास्ता गरेका थिएनन् । नेपालका बाणिज्य मन्त्रालय सम्बद्ध उच्च अधिकारीले नै आवेदनका लागि सुझाए ।
लामो अनुभवसँगै एड फर ट्रेडमा पिएचडी गरेको हुनाले पनि अधिकारीका लागि इआइएफसम्मको बाटो सजिलो रहेका तर्क पेश गरे उनीहरुले । भिडियो कन्फ्रेन्समा अन्तर्वार्ता गर्ने भनेर उनलाई नयाँ दिल्लीमा डाकियो । तर, त्यहाँ पुग्दा त लिखित जाँच समेत दिनु पर्यो ।
एक सयभन्दा बढि आवेदक मध्ये १२ जनाको सर्टलिष्टमा परे । त्यसपछि अन्तिम चरणको अन्तर्वार्ताका लागि जेनेभा जानुपर्यो । गत बर्षको १६ अगष्टमा साउतीको साधारणसभामा व्यस्त रहेका बेला खबर आयो, उनी इआईएफको कार्यकारी निर्देशकमा छनौट भए ।
आफ्नै मातृभूमीबाट करियर सुरु गरेर संयुक्त राष्ट्रसंघ मातहतका संस्थाका निर्देशक तहमा सोझो नियुक्ती पाउने अत्यन्त सिमित नेपालीमा रत्नाकर पर्छन् ।
निरन्तर मेहनत र जिम्मेवारी प्रतिको अठोटलाई अहिलेको ओहोदामा पुगेको उनको भनाइ छ । धेरै महत्वाकांक्षा नराख्ने र प्राप्त उपलब्धिमा सन्तोष मान्दै मेहनत गर्ने बानीले जीवन जिउन अझ सजिलो बनाउने उनी बताउँछन् ।
त्यहि सरल सोचमा आधारित भएर इआईएफको चारदेखि पाँच बर्षे कार्यकाल पुरा गरे पछिका दिनबारे उनले योजना बनाइ सकेका छन् – फर्केर नेपाल आउने र यहि क्षेत्रलाई सकेको सेवा गर्ने ।
यो क्षेत्रको ब्यापार उत्थान र गरिबी निवारणका लागि आफ्नो अवाज बुलन्द गरि रहने । उनी आफुलाई राष्ट्रवादीभन्दा धेरै दक्षिण एसियावादी भनेर चिनाउन चाहन्छन् । यसको आफ्नै इतिहास पनि छ ।
सन् १९९० मा दिल्ली स्कुल अफ इकोनोमिक्सबाट माष्टर्स सकेर आएपछि केहि समय लिडर्स भन्ने संस्थामा उनले काम गरे । त्यहाँ दुईबर्ष विताए पछि तात्कालिन इन्डोस्वेज (हालको नेपाल इन्भेष्टमेन्ट) बैंकमा लेखा अधिकृतको रुपमा प्रवेश गरे ।
सात बर्ष बैंकमा विताउँदा म्यानेजरसम्म पुगे तर उनले त्यहाँ भविश्य देखेनन् र राजीनामा दिए । बैंकमा काम गर्दा गर्दै उनले सन् १९९१ मा प्रो-पब्लिक संस्था स्थापना गरेका थिए । बैंकबाट बचेको समय उनले प्रो-पब्लिकलाई दिन्थे ।
त्यहि सिलसिलामा भारतको जयपुरस्थित कट्स भन्ने संस्थाले प्रो-पब्लिकसँग मिलेर नेपालमा एउटा कार्यक्रम राख्यो । त्यसबेला (विश्व व्यापार संगठन) डब्लुटिओको स्थापनाको चहल पहल सुरु भइ सकेको थियो । कट्स र प्रो पब्लिकले गरेको कार्यक्रममा डब्लुटिओ स्थापनापछि दक्षिण एसियाका अवसर र चुनौतीबारे छलफल भयो ।
त्यहिँ दक्षिण एसिया स्तरमा वाचडगको भूमीका निभाउन सक्ने संस्था खोलौं भन्ने प्रस्ताव आयो । सहभागी सबैले सहमति जनाए । नाम ‘साउथ एसिया वाच अन ट्रेड इकोनोमिक्स एन्ड इन्भायरोमेन्ट (सावती)’ जुर्यो । सार्कका सातवटै देशका बिभिन्न संस्थाको प्रतिनिधित्वमा साउती स्थापना गर्ने निर्णय भयो ।
एकातिर बैंक, अर्कोतिर प्रो-पब्लिक, सन् १९९७ देखि पार्टटाइम साउती पनि थपियो । बिहान सरस्वती क्याम्पसमा पठाउनु त छँदैछ । विहान साढे छ बजे कलेज पुगेर पढाउने । नौं बजे हतार हतार घर फर्किएर खाना खाएर बैंक जाने ।
छ बजे छुट्टि भएपछि बिजुलीबजार स्थित प्रो-पब्लिक । त्यहाँ नौ/साढे नौ बजेसम्म काम गरे पछि मात्र घर फर्किने बेला हुन्थ्यो । दिनको कम्तिमा १५ घण्टा नबिसाइ काम, कडा मेहनतको उच्चतम अभ्यास गरे उनले । यहि अनुभवका आधारमा युवा पुस्तालाई सुझाव दिनुपर्दा पनि उनी त्यहि भन्छन् ‘हार्डवर्कको त कुनै सर्टकर्ट नै छैन ।’
त्यसबेला उनले मेहनत गरेको देखेर चिनेजानेकाले यो मान्छेलाई कति धेरै पैसा चाहिएको समेत भन्ने गरेको उनी सुनाउँछन् । तर, उनी पैसाका लागि होइन केही सिक्न र केही हासिल गर्न दौडिरहेका हुन्थे ।
प्रस्तुती: प्रभात भट्टरार्इ/बिजमाण्डू