
न्युयोर्क । युद्ध मैदान झैं देखिएको स्मार्टफोन बजारमा मोवाइल फोनको पुरानो लडाकु नोकियाले ठुलै क्षेप्यास्त्र प्रहार गरेको छ । विश्वकै ठुलो मोबाईल बिक्रेताको ताज गुमाएको नोकियाको नयाँ क्षेप्यास्त्रको रुपमा आएको छ नोकिया लुमिया ९२० । अमेरीकाको न्यूयोर्कमा गएराति कम्पनीले सार्वजनिक गरेको नोकिया लुमियामा स्मार्टफोनमा पहिलो पटक वायरलेस प्रविधीबाट चार्ज गर्न सकिने सुविधा उपलब्ध हुनेछ । यसमा भएको क्यामेरा उच्च क्वालिटिका डिजीटल क्यामरा बराबरीमा हुनेछन् ।
स्न्यापड्रागोन एस फोर प्रोसेर भएको लुमिया ९२० को डिस्प्ले साढे चार इञ्चको छ । रमाइलो कुरा के भने यो फोनलाई पञ्जा लगाएर पनि चलाउन सकिन्छ । यसमा विण्डोज ८ मा उपलब्ध सुविधा त छन् नै त्यसैगरी नोकिया म्याप्स जस्ता नोकिया मोवाइलमा मात्र पाईने अन्य सुविधा पनि यो मोवाइलमा छ ।
मोवाइलमा प्रयोग भएको डिस्प्ले प्रविधि हाई डिफिनिसन (एचडि) भन्दा पनि उच्चस्तरीय भएको नोकियाको दावी छ । लुमिया ९२० मा ८.७ मेगापिक्सेलको क्यामरा छ, यो क्यामरामा प्रयोग भएको फ्लोटिङ लेक्स टेक्नोलोजिका कारण लुमियाका सेट अन्य सेट भन्दा दश गुणा वढी प्रकास शोषण गर्ने क्षमताको हुनेछ ।
यो प्रविधीका कारण कम प्रकाश भएको अवस्थामा पनि उच्च गुणस्तरको तस्वीर एवं भिडियो लिन सकिने कम्पनीले जानकारी दिएको छ ।
यसैगरी यसमा भएको क्यामेराले तस्वीर खिच्दा अन्य व्यक्तिको तस्वीरलाई सहजै रुपमा हटाउन पनि सक्छ ।
हाई इन्ड सेटको रुपमा लुमिया ९२० सार्वजनिक गरेकै दिन नोकियाले लो इन्डको लुमिया ८२० पनि सार्वजनिक गरेको छ । लुमिया ८२० मा पनि विण्डोज ८ अपरेटिङ सिस्टम हुनेछ भने यसको डिस्प्ले ९२० को तुलनामा सानो ४.३ इञ्चको हुनेछ । ८२० मा ८ जीबी मेमोरी हुनेछ भने अन्य सुविधाहरु उस्तै हुनेछन् ।