
दोहा । कतारमा कार्यरत नेपालीहरुले अब मोबाईलबाट नै नेपालमा पैसा पठाउन सक्ने भएका छन् । मोबाईल रेमिट्यान्स सेवा प्रदान गर्दे आएको कम्पनी इस्टनेटस् रेमिट्यान्सले सोमबारदेखि नेपालमा पनि यस्तो सेवा विस्तार गरेको हो । मोबाइलबाट पैसा पठाउन चाहाने नेपालीहरुले कतारी कम्पनी क्युटेलको सिम लिनुपर्ने हुन्छ । सातै दिन र चौबिसै घण्टा उपलब्ध हुने यो सेवा अन्तर्गत पठाइएको पैसा हिमालयन बैंकका नेपालभर रहेका २ हजार ४ सय सेवा केन्द्रबाट प्राप्त गर्न सकिनेछ ।
सर्वसुलभ, सहज एवं सुुरक्षित मोवाइल वित्तीय सेवा प्रदान गर्ने कम्पनीको योजना अनुसार नै नेपालमा सेवा विस्तार गरिएको इस्टनेटस् ग्रुपका प्रमुख कार्यकारी हजिम मुलहिमले बताएका छन् । इन डट मोरेस नाम दिइएको यो सेवा सञ्जालमा स्विफ्ट वल्र्डवाईड फाइनान्सीयल म्यासेजिङ नेटवर्कमा आवद्ध दश हजारभन्दा बढी बैंकहरु संलग्न । स्विफ्टरेमिट भनिने यो सञ्जालमा आबद्ध हुने हिमालनय बैंक पहिलो बैंक हो । कम्पनीका अनुसार यो सेवावाट कतारमा रहेका दुई लाखभन्दा बढि नेपालीहरु लाभान्भित हुनेछन् ।