धितोपत्र वोर्डले क्रेडिट रेटिङ नबुझेपछि ! कम ग्रेडिङ पाएको भक्तपूर फाइनान्सको आइपिओ लम्बियाे

बिजमाण्डू
२०७१ असार १६ गते ००:०० | Jun 30, 2014
धितोपत्र वोर्डले क्रेडिट रेटिङ नबुझेपछि ! कम ग्रेडिङ पाएको भक्तपूर फाइनान्सको आइपिओ लम्बियाे
विजयराज खनाल/बिजमाण्डू
काठमाडौं। भक्तपूर फाइनान्सको प्राथमिक सेयर निष्कासन (आइपीओ) ले इक्रा नेपालबाट अवस्था सबैभन्दा कमजोर रहेको संकेत गर्ने ग्रेडिङ पाएपछि नियमक निकाय धितोपत्र बोर्ड अलमलमा परेको छ। भक्तपूर फाइनान्सले इक्रा नेपालबाट ग्रेड फाइभ पाएको छ, जुन सबैभन्दा कम ग्रेडिङ हो।
कम्पनीहरुको सेयर निष्कासनलाई प्रदान गर्ने सबैभन्दा तल्लो स्तरको ग्रेडिङ दिएपछि धितोपत्र बोर्डले इक्रा नेपालसँग ग्रेडिङको औचित्य माग गरेको थियो। इक्रा नेपालका प्रमूख कार्यकारी अधिकृत दिपकराज काफ्लेले बोर्डले ग्रेडिङको औचित्य र कम्पनीको अवस्था बारे विस्तृत जानकारी माग गरेको जानकारी दिए। इक्राले बोर्डले मागे अनुसारको जानकारी दिँदा पनि वोर्डको चित्त वुझ्न सकेन, जसले गर्दा वोर्डले भक्तपुर फाइनान्सलाई प्राथमिक निस्कासन अनुमति दिएन। 
क्रेडिट रेटिङ नियमावली ल्याएर वोर्डले इक्रालाई कम्पनी रेटिङको जिम्मेवारी दिएको थियो। अध्ययन अनुसन्धान गरेर तयार पारिएको नियमावलीअन्तर्गत कम्पनी गठन त भयो नै दर्जनभन्दा वढी संस्थाले क्रेडिट रेटिङ पनि गराइसकेका छन्। भक्तपुर फाइनान्सले क्रम ग्रेडिङपाएपछि भने कस्ता संस्थालाई आइपिओ निस्कासन अनुमति दिने/नदिने भनेर वोर्ड स्पष्ट हुन सकेन।
बरु वोर्डले थप स्ष्टताका लागि नेपाल राष्ट्र बैंकलाई गुहारेको छ। यस बारेमा बोर्डका निर्देशक तथा प्रवक्ता निरज गिरीले भने, 'हामीले निर्णय लिन नसकेको भन्ने होइन, राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाको सुपरिवेक्षण गर्ने भएकोले कम्पनी बारे बुझ्ने प्रयास गरेका हौं।' उनले राष्ट्र बैंकबाट कम्पनी बारे जानकारी आउन बाँकी रहेको जानकारी दिए।
क्रेडिट रेटिङको अभ्यास नेपालमा नयाँ भएको र हालसम्म कुनै पनि संस्थाको निष्कासनले 'गे्रडिङ फाइभ' नपाएकोले पनि बोर्डले तत्काल निर्णय गर्न नसकेको हो। नियमावली तयार पारेपनि कतिसम्म ग्रेडिङ पाएकालाई अनुमति दिने/नदिने भन्ने स्पष्ट नहुँदा वोर्ड द्वीविधामा परेको हो।
इक्रा नेपालले कम्पनीहरुको प्राथमिक सेयर, हकप्रद सेयर निष्कासनलाई ग्रेड वानदेखि ग्रेड फाइभसम्मको रेटिङ प्रदान गर्छ। सबैभन्दा तल्लो स्तरको ग्रेड फाइभले आधारभुत पक्ष खराब रहेको संकेत गर्छ। यद्यपी इक्रा नेपालले भने आफ्ना सबै रेटिङ र ग्रेडिङले मूल्य निर्धारण गर्न वा  लगानीकर्तालाई खरिदको निर्णय लिन नभन्ने उल्लेख गर्दै आएको छ। 
'हाम्रो धर्म हो कम्पनीको अवस्था कस्तो छ भनेर देखाउने, तर लगानीकर्ताले जोखिम लिएर पनि कमाउने अवस्था आउने सोच्छ भने उसले सेयर खरिद गर्न सक्छ,' काफ्लेले भने। 
बोर्डले कुनै पनि कम्पनीलाई तत्काल सेयर जारी नगर्न वा अवस्था सुधार भएपछि मात्र सेयर जारी गर्न भनेको छैन। तर आवश्यकता अनुसार यस्ता कदमहरु पनि लिन पर्ने भएकोले राष्ट्र बैंकमा कम्पनी बारे बुझ्न लागेको गिरीले जानकारी दिए। 
तीन बर्षदेखी सञ्चालनमा रहेको कारण कम्पनीको पछिल्लो ट्रयाक रेकर्ड अवधि कम भएको, आम्दानीको विविध स्रोत नभएको, खरब कर्जाको दर उच्च (६.३ प्रतिशत) रहेको इक्रा नेपालले आफ्नो विवरणमा उल्लेख गरेको छ। त्यस्तै, ठुला २० निक्षेपपकर्ताले नै कुल निक्षेपको ४८ प्रतिशत र कुल ऋणीमा २० ऋणीले कुल कर्जाको ३७ प्रतिशत हिस्सा ओगट्नु पनि कम्पनीको कमजोर पक्ष भएको टिप्पणी गरेको छ। 
कम्पनीले चाहेमा सेयर निष्कासन गरेपछि पनि केही महिनाको अन्तरालमा पुनः आफ्नो रेटिङ गराउन सक्ने काफ्लेले बताए। प्राथमिक सेयर निष्कासनको ग्रडिङमा कम्पनीहरुको अवस्थाको मुल्यांकनलाई नै आधार मानिन्छ। 

Tata
GBIME
Nepal Life