बिओकेको लाभांसप्रति लगानीकर्ताको चिसो प्रतिक्रिया, सेयर २६ रुपैयाँले घट्यो

बिजमाण्डू
२०६९ भदौ १४ गते ००:०० | Aug 30, 2012
बिओकेको लाभांसप्रति लगानीकर्ताको चिसो प्रतिक्रिया, सेयर २६ रुपैयाँले घट्यो

काठमाडौं । पाँच प्रतिशत बोनस सेयर र २१.३२ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेकै दिन विहिवार बैंक अफ काठमाण्डूको सेयर मूल्यमा ठूलो गिरावट आएको छ । बुधवार आठ रुपैयाँले चढेर प्रतिकित्ता ६०३ रुपैयाँमा कारोवार भएको बैंकको सेयर मूल्य विहिवार २६ रुपैयाँले घटेर ५७७ रुपैयाँमा कारोवार भयो ।
बैंक अफ काठमाण्डूले अपेक्षा अनुसार लाभांस नदिएपछि लगानीकर्ताहरु निरास भएका हुन् ।
बैंकको बुधवार बसेको सञ्चालक समितिले नगद र बोनस सेयर गरेर २६.३२ प्रतिशत लाभांस दिने प्रस्ताव गरेको थियो । बैंकले अघिल्लो आर्थिक वर्षमा ६० करोड ७६ लाख ६२ हजार मुनाफा आर्जन गरेको थियो । बैंकको सञ्चालक समितिको बुधवार बसेको वैठकले नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारण सभाबाट अनुमोदन भएपछि शेयरधनीलाई लाभांस दिने प्रस्ताव गरेको हो ।
बैंकले अघिल्लो वर्ष १६।७५ प्रतिशत नगद लाभांश दिएको थियो भने १८ प्रतिशत बोनस सेयर दिएको थियो । बैंकले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै अघिल्लो आर्थिक वर्षमा २४ अर्ब ९९ करोड निक्षेप र १८ अर्ब ८१ करोड रुपैयाँ कर्जा लगानी गरेको बुधवार प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा निक्षेप १८।९ प्रतिशत र कर्जा लगानी ७।७ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले विर्तामोड, खाँदबारी, महाराजगञ्ज र बत्तीसपुतली गरी ४ नयाँ शाखा र दुई स्थानमा थप एटिएम सेवा पनि जडान गरेको थियो । यसबाट बैंकको कूल शाखा ४५ पुगेको छ भने एटिएम संख्या ५४ पुगेको छ ।

Tata
GBIME
Nepal Life