
सियोल । अमेरिकी न्यायालयले कोरियाली कम्पनी सामसुङलाई एक अर्बभन्दा बढि क्षतिपुर्ति सुनाएको भोलिपल्ट सामसुङको सेयर मूल्यमा उच्च गिरावट आएको छ । फैसलापछिको पहिलो कारोवारमा सोमबार सामसुङको सेयर मुल्य ७.५ प्रतिसतले घटेको छ । यसका कारण लगानीकर्ताहरुले १२ अर्ब डलर गुमाउनु परेको छ । उच्च रकमको जरिवानासँगै कम्पनीका ग्यालेक्सी सिरिजका केहि स्मार्टफोनको बिक्रीमा लाग्नसक्ने प्रतिबन्धका कारण लगानीकर्ता चिन्तित भएको विष्लेशकहरु बताउँछन् ।
आम्दानीका आधारमा विश्वको ठुलो प्रविधि कम्पनी बन्न सफल सामसुङको सेयरमा एकै दिनमा देखिएको गिरावट चार वर्ष यताको उच्च हो । यसैगरी विगत चार वर्ष यताकै उच्च रकम सोमबार नै कारोवार भएको थियो । अमेरिकाको क्यालिफोर्निया राज्यको सान जोसेमा अदालतका न्यायाधिशले सामसुङले एप्पलको ६ वटा प्याटेन्ट उलंघन गरेको भन्दै एक अर्ब पाँच करोड डलर बराबर क्षतिपुर्ति दिनुपर्ने फैसला सुनाएका थिए । सामसुङले सो फैसला अन्तिम नभएको भन्दै पुनरावेदन गर्ने बताएको छ भने एप्पलचाँहि सामसुङको ग्यालेक्सी सेट बिक्रीमाथि नै प्रतिवन्ध लगाउन अर्को मुद्धा हाल्ने तयारीमा छ ।
स्मार्टफोनका दुई महारथिको युद्धका कारण फिनल्याण्डको कम्पनी नोकियालाई भने फाइदा हुने भएको छ । एप्पल र सामसुङ प्याटेन्ट युद्धमा होमिएका बेला नोकिया माइक्रोसफ्टसँगको साझेदारीमा उपभोक्ता आर्कषित गर्न थालेको विश्लेषकले अनुमान गरेका छन् । उनीहरुको अनुमानलाई सेयर बजारले समेत हरियो झण्डा देखाएको छ । सामसुङको सेयर घटेकै दिन नोकियाको सेयर १० प्रतिसतले बढेको छ । माइक्रोसफ्टको अपरेटिङ सिस्टम भएको लुमियाका विभिन्न सेट २०११ देखि बजारमा ल्याए पनि सोचे अनुसारको सफलता नपाए पनि कम्पनीको छवि अहिलेसम्म राम्रै छ ।
यसका डिजाईनहरु कुनै सेटसँग मिल्ने खालका छैनन भने विण्डोजको अपरेटिङ सिस्टम पनि एण्ड्रोइड र आईओएसको तुलनामा नितान्त फरक छन् । यस्तोमा कानुनी झमेलाका कारण आफुले खरिद गरेको फोन नै बन्द हुने डर तथा आईफोन प्रयोगकर्ताबाट चोरीको फोन चलाएको भन्दै खिसिट्युरी भोग्नुभन्दा उपभोक्ता नोकिया तिर लाग्ने संभावना बलियो छ । यही काराण लगानीकर्ता नोकिया प्रति आशावादी देखिएका हुन् । कम्पनीले यही सेप्टेम्वरमा विण्डोज ८ सहितको नयाँ स्मार्टफोन ल्याउने तयारी गरिरहेको छ ।