
काठमाडौं। तेस्रो त्रैमाशमा ७७ प्रतिशतले नाफा बढेको तिनाउ डेभलपमेन्ट बैंकको सेयर मूल्य छ रुपैयाँले बढेको छ । अघिल्लो बर्ष एक करोड १४ लाख नाफा कमाएको बैंकले दुई करोड तीन लाख नाफा कमाएको छ । तर चार करोड छ लाख रुपैयाँ नाफामा रहेको इन्टरनेशनल डेभलपमेन्ट बैंकको सेयर मूल्य भने चार रुपैयाँले घट्यो । बैंक अघिल्लो बर्ष यो अवधिमा २० करोड रुपैयाँ नोक्सानमा थियो ।
.png)
एलायन्स इन्स्योरेन्स, चिलिमे जलविद्युत्, नेपाल बंगलादेश बैंक लगायतको एक करोड देखि दुई करोड ५८ लाख सम्मको कारोबार भएको छ । लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य दुई सय पाँच ले बढेर तीन हजार दुई सय ६५ रुपैयाँ पुग्यो । नया नेपाल लघुवित्त बिकास बैंकको सेयर मूल्य ५० रुपैयाँले बढ्यो भने किनबेच पनि दुई सय ८५ पटकसम्म भएको छ ।
नेप्से परिसुचक भने स्थिर दखियो । नेप्से ०.३६ अंकले घटेर ८०८.०९ मा सिमित भएको छ । बजारले ठोस गति लिन नसके पनि बढ्ने दिशा समात्ने संकेत देखिएको छ । कारोबार अवधिमा करिब छ अंकले घटेको नेप्से पुनः बढ्ने प्रयासमा देखिएको हो । नेप्सेमा अन्तिम समयमा सोझो रेखाले सुधार भएको छ । नेपाल टेलिकम, बैंक अफ काठमाण्डु लगायतको अन्तिम कारोबारमा मूल्य बढेपछि बजार सोझो दिशामा उकालो लागेको देखिन्छ ।
सोमवार बीमा र वित्त बाहेक अन्य कुनै समूहको परिसुचकमा सुधार हुन सकेन । बीमा समूहको परिसुचक ३६.५२ अंक र वित्त समूह १.४४ अंकले बढेको छ । आइतवार २४ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भयो ।