साउनबाट करेन्टको जोडदार झड्का, विद्युत महसुल २० प्रतिशतले बढ्यो

बिजमाण्डू
२०६९ असार १५ गते ००:०० | Jun 29, 2012

काठमाडौं । विजुलीको विकल्प खोज्न थाल्नुहोस् किनभने अबको १५ दिनपछि बल्ने विजुली २० प्रतिशत महँगो हुँदैछ । विद्युत महसुल निर्धारण आयोगले साउन १ गतेदेखि लागू हुने गरी विद्युत महसुल वृद्धि हुने निर्णय विहिवार गरेको हो । २०५८ यता विद्युत महसुल बढेको यो पहिलो पटक हो ।
विद्युत महसुल बढाए पनि सबैभन्दा कम विद्युत खपत गर्ने ग्राहकलाई भने राहत दिइएको छ । महिनामा २० युनिटभन्दा कम विद्युत खपत गर्ने ग्राहकले बढेको महसुल दिनुपर्ने छैन् । २१ युनिटदेखि ५० युनिटसम्म विद्युत खपत गर्ने ग्राहकलाई पनि वृद्धिले असर गरेको छैन यस अघि पनि उनीहरुका लागि सात रुपैयाँ ३० पैसा महसुल लाग्थ्यो अहिले पनि त्यति नै लाग्छ ।
मासिक ५१ देखि १५० युनिट विद्युत खपत गर्ने ग्राहकले पहिले तिर्दै आएको प्रति युनिट सात रुपैयाँ ३० पैसाको सट्टा अबदेखि आठ रुपैयाँ ६० पैसा तिर्नुपर्दछ । मासिक १५१ देखि २५० युनिट खपत गर्ने ग्राहकले अबदेखि ९ रुपैयाँ ५० पैसा प्रति युनिट तिर्नुपर्ने हुन्छ । मासिक २५१ युनिटभन्दा माथि यसअघि नौ रुपैयाँ ९० पैसा तिर्दै आएका ग्राहकले अबदेखि प्रतियुनिट ११ रुपैयाँ तिर्नुपर्दछ ।
नयाँ महसुल दर लागू भएपछि वार्षिक सात अर्ब नोक्सानीमा रहेको विद्युत प्राधिकरणको घाटा साढे दुई अर्ब रुपैयाँमा झर्नेछ । अर्थात बढेको विद्युत महसुलबाट प्राधिकरणले वर्षमा साढे चार अर्ब रुपैयाँ थप आम्दानी गर्नेछ । आयोगले विद्युत प्राधिकरणले दिने अन्य सेवामा पनि शुल्क पुनरावलोकन गरेको छ ।

Tata
GBIME
Nepal Life