एनबी बैंकको चमत्कारिक नाफा, गतवर्ष १४ करोड घाटा, यो वर्ष ७० करोड नाफा

बिजमाण्डू
२०६९ साउन १५ गते ००:०० | Jul 30, 2012
एनबी बैंकको चमत्कारिक नाफा, गतवर्ष १४ करोड घाटा, यो वर्ष ७० करोड नाफा

काठमाडौं । गतवर्ष १३ करोड ८१ लाख रुपैयाँ घाटामा रहेको नेपाल बंगलादेश बैंकले यो वर्ष चमात्कारिक नाफा गर्दै नाफा ७० करोड २९ लाख रुपैयाँ पुर्याएको छ । खराब कर्जामा परिणत भएको ऋण यो वर्ष उठाएपछि नेपाल बंगलादेश बैंकले चमत्कारिक नाफा आर्जन गरेको हो । बंगलादेश बैंकको आम्दानीको मूख्य स्रोत व्याज आम्दानी भने घटेको छ । बैंकले खराब कर्जा उठेपछि नोक्सानी व्यवस्थामा राखेको पैसालाई नाफामा देखाएको हो । त्यसैगरी बैंकले खराव ऋण उठाउने क्रममा गैर बैंकिङ्ग सम्पत्ति समेत विक्री गरेको थियो ।
बैंकले यस वर्ष नोक्सानी वापत छुट्याउनु पर्ने रकम ६७ प्रतिशतले घटाएको छ । खर्चबाट छुट्याउनु पर्ने यस्तो रकम अहिले सात करोड नौ लाख रुपैयाँमा आएको छ । मूख्य कुरा अघिल्लो वर्ष डुबाएको पैसामध्ये बैंकले साढे तीस प्रतिशत उठाएको छ । गत वर्ष ३२ करोड ३६ लाख रुपैयाँ खराव ऋण उठाएको बैंकले यसपाली ४२ करोड २६ लाख रुपैयाँ उठाएको हो । यसले बैंकको नाफा बढाउन महत्वपूर्ण भूमिका खेलेको छ । खराव ऋण १७.९९ प्रतिशतबाट घटेर ४.२९ प्रतिशतमा सिमित भएको छ ।
खराव ऋण वढेर बैंक घाटामा मात्रै गएको थिएन शाखा विस्तारका क्रममा  कारवाहीसमेत भएको थियो । बैंकले पुँजी कोषसमेत वढाएको छ । १०.९९ प्रतिशतमा रहेको पुँजी कोष १३.३१ प्रतिशतमा पुगेको छ । आम्दानीको प्रमुख स्रोत ब्याज भने घटेको बैंकले सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ । खुद व्याज आम्दानी करिव २९ प्रतिशतले घटेर ४९ करोड १२ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष खुद ब्याज आम्दानी ६९ करोड १४ लाख थियो । महँगोमा लिएको निक्षेप ऋण लगानी नभएपछि खुद ब्याज आम्दानी घटेको हो । बैंकको निक्षेप ४७.२६ प्रतिशतले वढ्दा ऋण जम्मा ६.८९ प्रतिशतले मात्र वढेको छ ।
बैंकको निक्षेप १६ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । ऋण भने १० अर्ब ९४ करोड रुपैयाँमा छ । यसमध्ये रियलस्टेटमा ८० करोड ८० लाख रुपैयाँ छ । यो अघिल्लो वर्षको तुलनामा साढे चार प्रतिशतले घटेको हो ।

Tata
GBIME
Nepal Life