नेप्सेको वृद्धिले विहिवार निरन्तरता पाउन सकेन, आईसिएफसीको साढे लाख कित्ता सेयर कारोवार

बिजमाण्डू
२०७० असार १३ गते ००:०० | Jun 27, 2013
नेप्सेको वृद्धिले विहिवार निरन्तरता पाउन सकेन, आईसिएफसीको साढे लाख कित्ता सेयर कारोवार


काठमाडौं । नेप्सेमा दुई दिनेदेखिको वृद्धिले बिहिवार निरन्तरता पाउन सकेन । सूचक २.५४ अंकले तल झरेपछि बजार बन्द हुँदा नेप्से ४९५.५ अंकमा रह्यो । बिहिवार बैकिङ्ग समूह ४.६६ अंक र इन्सुरेन्स समूह ७.६३ अंकले तल झरे । बुधवार तल झरेको जलविद्युत समूहले बिहिवार भने त्रास पायो, जलविद्युतको सूचक ८.८ अंकले माथि चढेर कारोवार भयो भने फाइनान्स समूहको सूचक पनि २.०९ अंक चढ्यो ।
बिहिवार बैंक अफ काठमाण्डूको सेयरमा ठूलो प्रभाव पर्यो, बैंकको प्रतिकित्ता ३५ रुपैयाँ घटेर कारोवार भयो । बीओके र आईएलएफसीवीच मर्जका लागि प्रक्रिया अघि बढेको खबरले बिओकेका लगानीकर्ता निरास भए । त्यही आइएलएफसीको सेयर भने १३ रुपैयाँ चढेर १५० मा कारोवार भयो । कम्पनीको बिहिवार मात्रै साढे ५६ हजार कित्ता सेयर कारोवार भयो । कम्पनीको ८४ लाख ५१ हजार रुपैयाँको कारोवार भयो ।
बुटवल पावरको सेयर ३० रुपैयाँ बढेर ७९० मा कारोवार भयो । बुधवार मात्रै कम्पनीको सेयरमा ठूलो गिरावट आएको थियो । नागरिक लगानी कोषको २६ रुपैयाँ बढेर १५८१ मा, एभरेष्ट बैंकको सेयर २० रुपैयाँ घटेर १५३० मा र गुडवील फाइनान्सको प्रवद्र्धक सेयर ७७ रुपैयाँ घटेर १०८ मा कारोवार भयो । गुडविलको बिहिवार साढे २४ हजार कित्ता सेयर कारोवार भयो । आईसिएफसी फाइनान्सको प्रवद्र्धक सेयर पनि ११ रुपैयाँ घटेर १०५ मा कारोवार भयो कम्पनीको एक लाख ५९ हजार कित्ता सेयर एक करोड ६७ लाख ७४ हजारमा कारोवार भयो ।
नेरुडे लघुवित्त विकास बैंकको सेयर १० रुपैयाँ घटेर ३३५ मा, नेशनल लाइफ इन्सुरेन्सको २५ रुपैयाँ घटेर ५५० मा, सिद्धार्थ बैंकको १० रुपैयाँ घटेर २८९ मा कारोवार भयो । स्ट्याण्डर्ड चार्टड बैंकको १० रुपैयाँ घटेर १८१० मा, सगरमाथा इन्सुरेन्सको पनि १० रुपैयाँ घटेर ६१० मा कारोवार भयो । स्वरोजगार लघुवित्त विकास बैंकको २२ रुपैयाँ घटेर २०० मा कारोवार भयो । बिहिवार पनि स्टकमा नौ करोड ३९ लाख रुपैयाँको सेयर कारोवार भयो ।

Tata
GBIME