सुदूरपश्चिममा बझाङ बन्दैछ जलविद्युतको हब, १३ सय मेगावाटका आयोजना अघि बढ्दै

बिजमाण्डू
२०७५ जेठ १ गते १४:५१ | May 15, 2018

काठमाडौं। प्रदेश नम्बर ७ अन्तर्गत बझाङ जिल्ला सुदूरपश्चिमको जलविद्युत हब बन्ने भएको छ। बझाङमा विभिन्न स्थानमा रहेका १२ सय ९० मेगावाट क्षमताका ठूला जलविद्युत आयोजना निर्माण हुँदैछन्।

Tata
GBIME

२० वर्षदेखि चर्चामा रहेको ७५० मेगावाट क्षमताको पश्चिम सेती जलाशययुक्त जलविद्युत आयोजना सहित, निर्माण भैरहेका कलंगा गाड १५ मेगावाट, अपर कलंगा गाड ३८. ४ मेगावाट र सानीगाड १०.७ मेगावाट लगायतका स-साना आयोजनाबाट ७० मेगावाट भन्दा बढी जलविद्युत निकट भविष्यमानै उत्पादन हुँदैछ।

त्यसैगरी १६५ मेगावाट क्षमताको सेतीनदी-३ जलविद्युत आयोजनाको चिलिमे जलविद्युत कम्पनीले सर्भे गरिरहेको छ। २१० मेगावाट क्षमताको चैनपुर सेती जलविद्युत आयोजनाको लुक्ला सुर्के जलविद्युत उपभोक्ता समुहले अध्ययन गरिरहेको छ। ८० मेगावाटको अपर सेती जलविद्युत आयोजनाको सरकारले नै सर्भे गरिरहेको छ। २० मेगावाटका सुनीगाड र अपरसुनीगाड गरी बझाङमा अहिले ४७५ मेगावाट बराबरका जलविद्युत आयोजनाको सर्भे भैरहेको छ।

पछिल्लो समय समृद्धि इनर्जी प्रालीले बझाङको काँडा क्षेत्रमा, १४० मेगावाटको 'बझाङ अपर सेती जलविद्युत आयोजना'को सर्वेक्षणका लागि अनुमति माग गरेसँगै बझाङमा विभ्न्न चरणमा रहेका ठूला जलविद्युत आयोजनाको क्षमता १२ सय ९० मेगावाट भन्दा बढी पुगेको छ छ।

सुदुरपश्चिममा अहिले सम्म ठूला ३० मेगावाटको चमेलिया जलविद्युत आयोजना र निजी क्षेत्रले बनाएको ८.५ मेगावाटको नौगाड जलविद्युत आयोजनाबाट मात्रै विद्युत उत्पादन सुरु भएको छ।

चमेलिया आयोजना बनेपछि उक्त करिडोरमा थप २५० मेगावाट बराबरका जलविद्युत आयोजना निर्माण भैरहेका छन्।सुदूरपश्चिममा ७५० मेगावाटको पश्चिम सेती सहित १८ सय मेगावाट बराबरका आयोजना विभिन्न चरणमा अघि बढेका छन्। त्योमध्ये बझाङमा मात्रै १३ सय मेगावाट बराबरका आयोजना निर्माण हुन लागेका हुन्।