‘सरकारी संयन्त्रको सोच राजस्वबाट माथि उठ्न सके नेपालमै गाडी उत्पादन हुनेछ’

शेखर गोल्छा
२०७४ पुष ४ गते १३:०९ | Dec 19, 2017
‘सरकारी संयन्त्रको सोच राजस्वबाट माथि उठ्न सके नेपालमै गाडी उत्पादन हुनेछ’

Tata
GBIME
Nepal Life

कुनैपनि वस्तु उत्पादनको अन्तिम प्रकृया नै एसेम्बली हो। एउटा ट्रयागंलको माथिल्लो भाग हो। एसेम्बली उद्योग स्थापना भएन भने अरु सहायक कम्पनीले कहिल्यै पनि आउन सक्दैन। त्यो सर्पोट उद्योग आएपछि रिसर्च एण्ड डेभलपमेन्ट(आरएन्डडी)आउन सक्छ। एसेम्बली उद्योगको सबैभन्दा राम्रो उदाहरण भारतमै छ।

भारतमा मारुती सुरुवातमा एसेम्बली उद्योगकै रुपमा आएको हो। मारुतीले एसेम्बली प्लान्ट लगाएपछि कम्पनीले अरु सहायक कम्पनीहरु स्थापना गरेको हो। मारुती बनाउनकालागि आवश्यक पर्ने सामान बनाउने उद्योग खोलेको हो। सहायक उद्योगहरु स्थापना भएपछि देशमा अटोमोबाइल उद्योग विकास भएको हो। सहायक उद्योग आएपछि डिजाइनिङको काम सुरु हुन्छ।

हामीले हुलासको गाडी बनाउन सुरु गर्दा डिजाइनिङको काम सुरु गर्यौ। डिजाइनिङको काम गरेपछि मात्रै हामीले भेन्डर्सहरु खोज्यौं। हामीले हुलासमा गरेको अभ्यास आउटडेटेट भइसक्यो। अटोमोबाइल उद्योगमा आफै ब्राण्ड बनाएर जान्छु भन्न सकिने अवस्था छैन। अटोमोबाइल उद्योग भनेको ठूलो भइसक्यो र हामीले सिक्न बाँकी धेरै छ। नेपालमै अनुसन्धान तथा विकास गरी गरेर आफ्नै ब्राण्डमा गाडी उत्पादन गर्ने कुरा कल्पना बाहिरको हो।

अहिले भारतबाट जुन गाडी आइरहेको छ त्योसँग प्रतिस्पर्धा गर्ने असम्भव नै छ। अहिलेका लागि हामीले गर्नसक्ने भनेको एसेम्बली मात्रै हो। एसेम्बल गरेर सहायक उद्योग स्थापना भएपछि मात्रै हामीले अनुसन्धान र विकासमा फड्को मार्न सक्छौ। गाडी उत्पादनमा विश्वव्यापी रुपमा गर्ने प्रकृया पनि यहि नै हो।

सरकारी दृष्टिकोण गलत
नेपालमा एसेम्बली उद्योगलार्इ हेर्ने दृष्टिकोणनै गलत छ। अधिकांश नीति निर्माताहरुले एसेम्बली उद्योगलार्इ राजस्व बचाउन स्थापना गर्न लागिएको मात्रै भनेर हेर्छन्। यहाँ एसेम्बली उद्योग राखेर लागत घटाउन खोजेको रुपमा मात्रै उनीहरुले हेर्ने गरेका छन्। हामीले जतिसुकै लजिक दिँदा पनि अन्तिममा सरकारी निकाय र नीति निर्माताले राजस्वमुखी दृष्ट्रिकोण राख्छन्। सरकारले दिने सुविधाका आधारमा लागत पक्कै घट्छ।

तर यसले देशमा गाडी बन्ने प्रकृया सुरु हुन्छ। एसेम्बली उद्योग स्थापनाका लागि जोखिम लिन सकिएन भने कहिल्यै पनि एनसिलरी(सहायक उद्योग)आउन सक्दैन। रोजगारी सिर्जना गर्ने उद्योग पनि स्थापना हुन सक्दैन। उदाहरणका लागि बजाजको उत्पादन सुरु भएपछि २ सयदेखि २ सय ५० जनाले रोजगारी पाएका छन्। यो उद्योगमा १ सय ५० भन्दा बढी इन्जिनियर सहभागी छन्। यसले रोजगारीमा ठूलो परिवर्तन ल्याउन सक्दैन भन्ने पनि लाग्छ।

तर योसँगै आउने अरु सहायक उद्योगले धेरै रोजगारी सिर्जना गर्न सक्छ। तर यसलार्इ हेर्ने दृष्टिकोण राजस्व वा लागत घटाउने मात्रै रहेमा मलार्इ लगानी गर्न अप्ठेरो हुन्छ। एसेम्बली उद्योगप्रति नीति निर्माता र सरकारी कर्मचारीमा स्पस्ट दृष्टिकोण नभएसम्म कसरी लगानी गर्ने? मैले गाडी निर्माता कम्पनीलार्इ विश्वास दिलाउन सकेको छैन।अहिले हामीले एसेम्बली उद्योग सुरु गरेका छौ।तर अटोमोबाइल उद्योगले सुनामी ल्याउनेमा म विश्वस्त छु।

उदाहरणका लागि बाइक ल्याउँदा हामीले ३० प्रतिशत भन्सार तिर्छौ र पार्टस ल्याउँदा पनि ३० प्रतिशतनै भन्सार छ। यसमा एसेम्बली उद्योगलार्इ कुनै सहुलियत छैन। पहिला एसेम्बली उद्योगलार्इ ५० प्रतिशत अन्तशुल्कमा छुट थियो तर यसलार्इ अहिले घटाएर २५ प्रतिशतमा झारिएको छ। विदेशबाट बाइक ल्याउँदा ४० प्रतिशत अन्तशुल्क लाग्छ तर यही बन्दा २५ प्रतिशत अन्तशुल्क तिर्नुपर्छ। यो आधारमा एसेम्बली उद्योगले १५ प्रतिशत अन्तशुल्कमा छुट पाएको छ।

तर १५ प्रतिशतमा उद्योग संचालन गर्नुपर्यो। विदेशबाट बाइक ल्याउँदा भन्सार विन्दुमा अन्तशुल्क तिर्थे। अब एसेम्बली उद्योगमा उत्पादित वस्तुमा अन्तशुल्क तिर्नुपर्छ। उत्पादन लागत, वितिय लागत, ह्रासकट्टी, तलब र विज्ञापन लागत जोडेर त्यसपछि अन्तशुल्क तिर्नुपर्छ। यो सहुलियत घटेर पाँच प्रतिशतमा मात्रै आउँछ। यो पाँच प्रतिशत भनेको हायर प्राइसमा भन्सार तिर्नुपर्यो।

यसले स्वदेशमै गाडी वा वाइक उत्पादन हुँदा मूल्य घटाउनसक्ने अवस्था छैन। त्यसैले सरकारले केही नीतिगत तहमा सुधार आवश्यक छ। सरकारले नेपालमै उत्पादन भएको बाइक २० प्रतिशत हिस्सा बनाउनुपर्छ भनेर शर्त राखेर सहुलियत दिएमा हामी तयार छौं। सरकारमा बस्नेले सकारात्मक सोच राखेमा एसेम्बली उद्योग स्थापना गर्न सम्भव छ।(गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष हुन्।)