नबिल बैंकको नाफा एक अर्ब ५३ करोड नाघ्यो, इपिएस पनि वढ्यो, राइट व्याकबाट ३० करोड आयो

बिजमाण्डू
२०७० बैशाख २३ गते ००:०० | May 6, 2013
नबिल बैंकको नाफा एक अर्ब ५३ करोड नाघ्यो, इपिएस पनि वढ्यो, राइट व्याकबाट ३० करोड आयो


काठमाडौं । नबिल बैंकको नाफा डेढ अर्ब रुपैयाँ नाघेको छ । बैंकले चालु आर्थिक वर्षको चैत मसान्तमा नाफा १ अर्ब ५३ करोड ३६ लाख रुपैयाँ गरेको छ । अघिल्लो चैतमा बैंकको नाफा १ अर्ब १२ करोड ९७ लाख रुपैयाँ गरेको थियो । गत पुसमा बैंकको नाफा १ अर्ब ११ करोड २३ लाख रुपैयाँ थियो । नाफाको वृद्धिसँगै बैंकको प्रति सेयर आम्दानी ८३.९१ रुपैयाँ पुगेको छ । अघिल्लो चैतमा प्रति सेयर आम्दानी ७४.२१ रुपैयाँ थियो । गन वर्ष बैंकले १ अर्ब ६९ करोड नाफा गरेको थियो । नाफाबाट बैंकले लगानीकर्तालाई २० प्रतिशत वोनस सेयर र ४० प्रतिशत नगद लाभांस दिएको थियो ।
बैंकको नाफासँगै प्रति सेयर आम्दानी वढेका कारण यसपाली लाभांस पोहोरको ६० प्रतिशतभन्दा वढी हुने अनुमान गरिएको छ । बैंकको मूल्य आम्दानी अनुपात २१.९९ गुणा छ । प्रति सेयर नेटवर्थको मूल्य २ सय ८६ रुपैयाँ छ भने प्रति सेयर कुल सम्पतिको मूल्य २ हजार ८ सय ६७ रुपैयाँ छ ।
बैंकले चैतसम्म ३० करोड ५३ लाख रुपैयाँ डुवेको ऋण (राइट व्याक) उठाएको छ । नोक्सानी व्यवस्थाको रकम भने घटाएको छ । यसको रकम अघिल्लो चैतमा ५१ करोड ६५ लाख रुपैयाँ रहेकोमा यसपाली घटेर ४८ करोडमा आएको छ ।
बैंकले खुद व्याज आम्दानी वढाएर २ अर्ब ५२ करोड ५१ लाख पुर्याएको छ । अघिल्लो चैतमा यो २ अर्ब ९ करोड रुपैयाँ थियो । विदेशी विनिमयको कारोबार, शुल्क, कमिसनलगायतको आम्दानी पनि वृद्धि भएको छ । यसले पनि बैंकको नाफा वढेको हो । २ अर्ब ४३ करोड चुक्ता पुँजी रहेको बैंकले ५७ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले अघिल्लो चैतमा निक्षेप ५४ अर्ब ६३ करोड संकलन गरेको थियो । कर्जा लगानी ४५ अर्ब १० करोड पुगेको छ । अघिल्लो चैतमा यो ४१ अर्ब ५८ करोड रुपैयाँ थियो ।
 

Tata
GBIME