काठमाडौं । वैद्य माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले धरानस्थित दिल्ली पब्लिक स्कुलको एउटा बसमा आगजनी गरेका छन् भने अर्को बसमा तोडफोड गरेका छन् । आगजनी र तोडफोडले दुवै बस ध्वस्त भएका छन् । इटहरीबाट विद्यार्थी बोकेर आएको बसलाई हासपोसाको सेउती पुलमा रोकेर तोडफोड गरिएको हो । तीनवटा बसमा विद्यार्थी आइरहेका थिए, त्यसमध्ये एउटा बसलाई विद्यार्थीले केही पनि नगरी छाडिदिएका थिए । बसबाट विद्यार्थीलाई ओरालेर तोडफोड र आगजनी गरिएको हो । विद्यार्थीहरुले ना १ ख ३२०४ नम्वरको बसलाई सेउती खोलामा जलाएका हुन भने को १ ख ४५० नम्वरको बसलाई तरहरामा तोडफोड गरेका हुन् ।
दिल्ली पब्लिक स्कुल भारतीय लगानीमा स्थापित विद्यालय हो । उता वैद्य पक्षले देशभरका उच्च माविलाई आइतवार बन्द गरेको छ भने बन्द आज पनि जारी छ । वैद्य पक्षले विदेशी नाम खारेज गरेर नेपाली नाम राख्न माग गर्दै दशेभरीका उच्च माविलाई बन्द गराएको हो । देशभर ६३१ वटा निजी उच्च मावि छन् । यी विद्यालयमा तीन लाख विद्यार्थी अध्ययनरत छन् । उता आइतवारबाट सुरु भएको तीन दिने ललितपुर बन्द मंगलवारका लागि फिर्ता लिइएकाे छ । बागमती नदी किनाराका सुकुम्वासीलाई सुन्दरीघाट सार्ने निर्णय विरुद्ध हिजो पहिलो दिन स्थानीयवासिन्दाले आयोजना गरेको ललितपुर बन्दमा सातवटा यातायातका साधन जलाएका थिए ।
