
काठमाडौं । सोल्टी होटलले चिनियाँ रेष्टुरेन्ट पाओ सुआन (नेपाली उच्चारण अनुसार बाओ सुआन) नयाँ स्वरुपमा ढालेको छ। रेष्टुरेन्ट स्वाददेखि सजावटसम्ममा नयाँपन ल्याइएको हो।
चिनियाँ खानाका अनुभवी सेफको नेतृत्वमा किचनको जिम्मेवारी नै फरक टोलीले पाएको छ। त्यस्तै ग्राहकलाई ‘चाइनिज’ खानाको वास्तविक स्वाद दिलाउन ताजा हरियो तरकारी बाहेक सबै 'इन्क्रिडियन्स' चीनबाटै मगाउने गरिएको छ।
चाइनिज खानाका माष्टर सेफ ड्यान
रेष्टुरेन्टको सजावटका लागि पनि अधिकांश आयातित सामान नै लगाइएको छ। रेष्टुरेन्टलाई नयाँ स्वरुपमा लैजान र नयाँ मेनु तयार गर्न दुई महिना बढी गृहकार्यनै भएको सोल्टीका एक्जुक्युटिभ सेफ युवराज पोख्रेलले बताए।
'चाइनिज अथेन्टिक खानाको स्वाद ग्राहकलाई दिन कुनै सम्झौता नगर्ने नीति अनुरुप काम गर्यौँ, उनले भने- व्यक्तिपिच्छेको स्वाद फरक हुन्छ। त्यसलाई सम्बोधन गर्न सुरुमा होटल भित्रकै स्टाफहरुलाई टेष्ट गराएर फिडब्याक लियौँ।' मेनुमा भेजिटेबल र ननभेज दुवै खाना छनौट सुविधा सहित उपलब्ध छन्।
पाओ सुआन सेष्टुरेन्टमा चीनको सिचुआन, क्यान्टोकी र हुनाना गरि तीन प्रदेशको खाना पाइन्छ। चाइनिज खाना भन्ने बित्तिकै एसिया देखि युरोप र अमेरिकासम्म नै यी तीनै प्रदेश चर्चित छन्। नेपालीमा पनि चिनियाँ खाना प्रतिको रुची बढ्न थालेपछि रेष्टुरेन्टको स्वादलाई थप वास्तविकता प्रदान गर्न खोजिएको होटलका फुड एन्ड बेभरेज एसिष्टेन्ट म्यानेजर केदार पाण्डेले बताए।
'अहिले नेपालीको पनि चीनसँगको सम्पर्क बढ्दो छ, उनले भने- व्यापार देखि अध्ययनसम्मका लागि चीन जाने एवं चिनियाँहरु आउने क्रमले तीब्रता पाएसँगै उता र यता पाइने स्वादमा फरक नपरोस् भनेर हामी पाओ सुआनलाई नयाँपनमा ढालेका हौँ।' त्यस बाहेक नेपालकै विभिन्न क्षेत्रका प्रोफेसनलहरु पनि चिनियाँ खाना टेष्ट गर्ने भन्दै आउने गरेको उनले सुनाए। 'चीनको खाना खान भनेर गेष्ट आउनु हुन्छ तर त्यस अनुरुपको अनुभव दिन सकिएन भने त कुनै अर्थ रहेन, उनले भने- सोही कारण चाइनिज रेष्टुरेन्टलाई पुरै नयाँ बनाइएको हो।'
पाओ सुआनको किचन कमान सेफ ड्यान (धनकुमार लिम्बु) ले सम्हालेका छन्। पाँचथरमा जन्मिएका उनले भारतमा १८ बर्ष बढी चाइनिज सेफको रुपमा काम गरेका थिए। उनले भारतमा हायात रिजेन्सी अहमदावाद, होटल लिला, ताज ग्रुप अफ होटेल्स लगायतमा काम गरे। त्यहाँ रहँदा चाइनिज 'मेनल्याण्ड' देखि हङकङ, थाइ एवं सिङ्गापुरे सेफहरुसँग समेत सहकार्य गरेको उनले बताए।
खानामा नयाँ पुस्ताको रुची फरक भइ सकेको हुँदा त्यस अनुरुपको स्वाद पस्किन आफुले काम गरि रहेको उनको भनाइ छ। 'चाइनिज खाना त धेरैतिर पाइन्छ, उनले सुनाए- तर, नाम मात्र दिएर भएन। इक्विपमेन्ट, प्रेजेन्टसेन देखि फ्लेभरसम्म त्यही हिसाबले चाहियो।'
सोल्टीका एक्जिक्युटिभ सेफ युवराज पोख्रेल
काठमाडौंका अरु रेष्टुरेन्टमा चाइनिज भनेर दिइने खानाको तुलनामा सोल्टीको स्वाद ७०/८० प्रतिशत फरक रहेको उनको भनाइ छ। 'फ्राइ राइस देखि चाउमिन, चिकेन सबै बाहिर पनि पाइन्छ, तर त्यति हुने वित्तिकै चाइनिज भन्न मिल्दैन- चीनको वास्तविक स्वाद दिन सक्नु पर्छ।'
पाओ सुआनमा प्रयोग हुने चामल पनि नेपालको वास्मती भन्दा फरक छ। वास्तविक चिनियाँ खानाको स्वाद दिलाउन ज्यास्मिन चामल आयात गर्ने गरेको एक्जुक्युटिभ सेफ पोख्रेलले बताए। बास्मती चामलको खाना फुरर हुने भएपनि ज्यास्मिन चिनियाँ शैलीकै 'मोइस्चर'युक्त हुने उनले बताए।
चिनियाँहरु खानालाई स्वादिष्ट बनाउन धेरै अजिना मोटो प्रयोग गर्छन्। तर, स्वास्थ्यका लागि हानिकारक रहेकोले सोल्टीमा अजिनामोटो प्रयोग नगरिएको सेफ ड्यानको भनाइ छ। त्यति मात्र होइन, स्वादसँगै शुद्धता र गुणस्तरको लागि लसुन, प्याज, सिसिमीको तेल समेत सेफ ड्यान आफैंले बनाउने गरेका छन्।
'हामीले प्राकृतिक र वास्तविक स्वादमा जोड दिएका छौँ, उनले भने- कुनै अतिरिक्त मिसावट छैन।' वास्तविक चाइनिज खाना खान आउने ग्राहकका लागि सोल्टीको पाओ सुआन सबैभन्दा सबैभन्दा भरपर्दो छनौट हुने उनको दावी छ।
सोल्टीका एसिष्टेन्ट फुड एन्ड बेभरेज म्यानेजर केदार पाण्डे
पाओ सुआनमा वास्तविक चाइनिज स्वाद दिलाउन किचन एवं ग्राहकलाई खाना पस्किने सबै भाँडा बिदेशबाटै मगाइएको छ। मूल्यका दृष्टिले पनि यी भाँडा धेरै महँगा छन्। नेपाली शैलीमा प्लेटमा नपस्किइ चाइनामा जस्तै बउलमा नै खाना दिइन्छ।
ग्राहकको रुची र चासो प्रति होटलले बिशेष ध्यान दिएको सोल्टिकी मार्केटिङ एण्ड पब्लिक रिलेसन एसिस्टेन्ट म्यानेजर अनुपमा आचार्य महर्जनले बताइन्। 'अन्यत्र सेफ को छन् र कस्ता छन् भनेर पनि हत्तपत्त देख्न पाइँदैन, उनले भनिन्- हामीकहाँ सेफ आफैँ आएर पाहुनाको फिडब्याक लिनु हुन्छ।' ग्राहकले दिएको प्रतिकृयालाई तुरुन्त सम्बोधन गर्न सेफ तयार हुने उनले बताइन्।
सोल्टीकी एसिस्टेन्ट मार्केटिङ एन्ड पब्लिक रिलेसन म्यानेजर अनुपमा आचार्य महर्जन
पाओ सुआनको मेुनमा सिचुवान खानामा ५० प्रतिशत फोकस दिइएको छ। अहिले सिङ्गो एसियाभर नै चीनको सिचुआन प्रदेशको खाना सर्वाधिक लोकप्रिय रहेको सेफ ड्यानको भनाइ छ। चीनको दक्षिण पश्चिमी प्रदेश सिचुआनका धेरैजसो खाना अहिले विश्वभरनै विस्तार भएका छन्। तातो एवं स्पाइसीयुक्त हुने सिचुआन खानामा टिम्बुरको मात्रा केही बढी हुन्छ। सोही कारण यो खाना जिब्रोमा तुरुन्त झुन्डिने उनले बताए।
त्यसपछि धेरै रुचाइनेमा क्यान्टोनिज स्वाद रहेको छ। ग्वाङदोङ प्रदेशको राजधानी ग्वाङचाउको अर्को नाम क्यान्टोन हो। त्यसैले ग्वाङदोङ भर पाइने सबै खानालाई क्यान्टोनिजकै नामबाट चिनिन्छ। चीनसँगको ब्यापारका लागि प्रमुख केन्द्रको रुपमा ग्वाङचाउ स्थापित भइसकेको हुँदा धेरै नेपालीलाई त्यहाँको खानाको स्वाद राम्रो थाहा छ। क्यान्टोनिज खाना धेरै जसो 'स्टिम' प्रणालीमा आधारित हुन्छन्।
धेरै कृषि उत्पादन हुने गरेकाले हुनानको खाना विविधतायुक्त छ। त्यहाँका कतिपय खानामा खुर्सानीलाई प्रेजेन्टेसनमै देखिने गरि पनि हालिन्छ तर त्यो त्यस्तो पिरो चाहिँ हुँदैन। त्यहाँको खानामा शीङ नदी, दोङतिङ ताल र पश्चिमी हुनान स्टायल गरि तीन स्वाद छन्।

भित्र छिर्ने वित्तिकै चिनियाँ संचरनामै प्रवेश गरेको झल्को आउने पाओ सुआनमा एकै पटक ९० जनाले बसेर खाना खान सक्छन्। नयाँ मेनु सहित चाइनिज रेष्टुरेन्टलाई नयाँ स्वरुपमा परिवर्तन गरेपनि मूल्यमा खासै फेरबदल नगरिएको होटलकी मार्केटिङ एण्ड पब्लिक रिलेसन एसिस्टेन्ट म्यानेजर महर्जन बताउँछिन्। होटलले 'रिजनेवल' मूल्यमा वास्तविक चिनियाँ स्वाद उपलब्ध गराएको उनको भनाइ छ।
रेष्टुरेन्टले नयाँ स्वरुप पाएको महिना दिनमा ग्राहकले दिएको प्रतिकृयाबाट सेफ एवं व्यवस्थापन स्टाफलाई उत्साहित बनाएको छ। 'दोहोर्याएर रेष्टुरेन्ट आउने ग्राहकको संख्या बढेको देख्दा साँच्चिकै खुसी लागेको छ' सेफ ड्यानले सुनाए। चाइनिजहरुले त झन् आफ्नै घरको जस्तै स्वाद भनेर प्रतिकृया दिएको उनले बताए।