
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा भएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको आज अन्तिम दिन हो । मंगलवारसम्म मेलाको डेढ लाख दर्शकले अवलोकन गरेका छन् । मंगलवार सार्वजनिक विदा परेपछि सबैभन्दा बढी दर्शक पुगेका थिए । आयोजकले बुधवार पनि दर्शकको चाप रहने अनुमान गरेको छ । दर्शकको चाप र प्रदर्शकको मागलाई ध्यानमा राखेर आयोजकले मेला बुधवारसम्मलाई लम्बाएका हुन् । यस अघि मेला मंगलवार समापन हुने कार्यक्रम थियो ।
मेलामा भाग लिन मंगलवार चीनको सिचुवान एश्जिविसन व्यूरोका उपनिर्देशकको नेतृत्वमा पांच सदस्यीय चिनिया व्यवसायिक प्रतिनिधिमण्डलको टोली आएको थियो । चिनियाँ टोलीले नेपाललाई छिङ्गदु सिचुवानमा हुने पश्चिम चाइना अन्तर्राष्ट्रिय मेलामा सहभागी हुन नेपाललाई निम्ता दिएको छ । मेलामा नेपाली हस्तकलाका सामग्री, यसवर्ष नयां ल्याइएको एक्जीवीशन टेन्ट, भारत तथा वंगलादेशको स्टल विशेष आकर्षणको रुपमा रहेका छन् । दुई लाख दर्शकले अवलोकन गर्ने १५ करोड रुपैयाँको कारोवार हुने अनुमान आयोजक नेपाल उद्योग वाणिज्य महासंघले गरेको छ ।