
काठमाडौं । हिमालयन बैंकले ७५ करोड रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । कम्पनीले ऋणपत्र जारी गर्नका लागि एस क्यापिटललाई विक्री प्रवन्धक नियुक्त गरेको छ । सात वर्ष अवधि रहेको र वार्षिक आठ प्रतिशत व्याजसहितको यो ऋणपत्रमध्ये १५ करोड रुपैयाँको ऋणपत्र सर्वसाधरणलाई विक्री गरिनेछ भने बाँकी ६० करोड रुपैयाँ परिपत्र विधिबाट विभिन्न संघसंस्थाबाट जुटाइने भएको छ ।
ऋणपत्र जारी गर्नका लागि एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट, सिद्धार्थ, किष्ट लक्ष्मी बैंकले धितोपत्र बोर्डमा आवेदन दिएका छन् । एभरेष्ट बैंकले १० वर्षे अवघिको ७० करोड रुपैयाँको ऋणपत्र जारी गर्न लागेको हो । बैंकले यो ऋणपत्रका लागि ९.७५ प्रतिशत व्याज दिनेछ । बैंकले १४ करोड रुपैयाँको ऋणपत्र सर्वसाधरण र बाँकी ५६ करोड रुपैयाँ परिपत्र विधिबाट विभिन्न संघसंस्थाबाट जुटाउनेछ ।
नेपाल इन्भेष्टमेन्ट, किष्ट, लक्ष्मी र सिद्धार्थ बैंकले ५०/५० करोड रुपैयाँका ऋण पत्र जारी गर्न लागेका हुन् । ऋणपत्र जारी गरेपछि बैंकलाई थप लगानीका लागि बाटो खुल्छ । निक्षेप र लगानी अनुपात ८० प्रतिशत कायम गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । यस्तोमा ऋणपत्र जारी गरेर बैंकले तरलतायोग्य पुँजी जुटाइरहेका छन् । गतवर्ष ग्लोबल आइएमई, नेपाल एसबीआई र सिद्धार्थ बैंकले ४० करोड रुपैयाँका दरले ऋणपत्र जारी गरेका थिए ।