अर्थतन्त्र सुस्त हुने सरकारको प्रक्षेपण, वृद्धि चार प्रतिशतमा सिमित, मूल्यवृद्धि दुइ अंकमा

बिजमाण्डू
२०६९ फागुन ६ गते ००:०० | Feb 17, 2013
अर्थतन्त्र सुस्त हुने सरकारको प्रक्षेपण, वृद्धि चार प्रतिशतमा सिमित, मूल्यवृद्धि दुइ अंकमा

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर गतवर्षभन्दा सुस्त हुने भएको छ, सरकारले यो वर्ष आधारभूत मूल्यमा ५.१ प्रतिशत र उत्पादकको मूल्यमा ५.३ प्रतिशत आर्थिक वृद्धिदर रहने अनुमान गरेको थियो । आइतवार नेपालको अर्थतन्त्रको मध्यावधी समिक्षा सार्वजनिक गर्दै सरकारले आफ्नो लक्ष्य १ दशमलव २ विन्दुले घटाएको हो । सरकारले अब यो आर्थिक वर्षमा उत्पादकको मूल्यमा ४.१ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान सार्वजनिक गरेको छ ।
कृषि क्षेत्रको वृद्धिदर ०.७ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ५.५ प्रतिशत हुने आइतवार सार्वजनिक प्रक्षेपणमा छ । मौसम अनुकुल हुँदा कृषिमा भएको सुधारले अघिल्लो आर्थिक वर्षमा वृद्धिदर ४.६ प्रतिशतसम्म पुगेको थियो । यो पछिल्लो तीन वर्षकै सबैभन्दा उच्च आर्थिक वृद्धि थियो । सार्वजनिक खर्च न्युन हुनु र निजी क्षेत्रबाट अपेक्षित लगानी बढ्न नसक्नुको कारण वृद्धिदर घट्न लागेको अर्थमन्त्रालयले टिप्पणी गरेको छ । आर्थिक वृद्धि समित भएकै बेला मूल्यवृद्धि भने यो वर्ष पनि दोहोरो अंकमा पुगेको छ । सरकारले मूल्यवृद्धिलाई एक अंकमा सिमित गर्न प्रयास गरे पनि त्यो सफल भएन । छ महिनामा औषत मुद्रास्फिति १०.७ प्रतिशत रहेको आइतवार सर्वाजनिक मध्यावधी समिक्षामा छ ।
सरकारले पुस मसान्तसम्म लक्ष्यभन्दा बढी राजस्व असुल गरेको छ । सरकारले छ महिनामा एक खर्ब ३१ अर्ब राजस्व उठाउने लक्ष्य राखे पनि पुससम्म एक खर्ब ३४ अर्ब राजस्व उठेको छ । सरकारले पछिल्लो छ महिनामा दातृनिकायबाट १५ अर्ब ७६ करोड सहायताको प्रतिवद्धता प्राप्त गरेको छ । यसमध्ये १४ अर्ब पाँच करोड अनुदान र एक अर्ब ७१ करोड रुपैयाँ ऋण सहायता हो ।

Tata
GBIME
NLIC