
काठमाडौं । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएपछि नेपाल आयल निगमको मुनाफा घटेको छ । इण्डियन आयल कर्पोरेशनले जुलाई १ तारिखमा पठाएको मूल्यसूची अनुसार निगमको नाफा १३ करोड थियो, तर निगमका लागि दुखद खबर आज पठाएको अर्को मूल्यसूचीमा निगमको नाफा घटेर एक करोड ३२ लाख रुपैयाँमा सिमित भएको छ ।
इन्डियन आयल कर्पोरेसन(आइओसी)ले अघिल्लो पटक पठाएको मूल्य अनुसार निगमलाई पेट्रोलमा १५ रुपैयाँ नाफा थियो तर यसपटकको मूल्यसूची अनुसार निगमलाई पेट्रोलमा अब १३ रुपैयाँ मात्रै नाफा छ, मट्टितेको नाफा १२ रुपैयाँबाट बढेर १२ रुपैयाँ ८० पैसा पुगेको छ । जुलाई १ को मूल्यसूची अनुसार निगमलाई प्रतिलिटर डिजेलमा ३४ पैसा घाटा हुने गरेकोमा यसपटक बढेर प्रतिलिटरमा दुई रुपैयाँ पुगेको छ । ग्याँसको अघिल्लो पटक पनि ३५९ रुपैयाँ घाटा थियो यसपटक पनि उस्तै छ ।
जुलाई १६ मा भारतीय आयल कर्पोरेशनले पठाएको मूल्यसूची अनुसार निगमको नाफाघाटा विवरण यस्तो छ :
निगमलाई अन्तराष्ट्रिय उडानको हवाई इन्धनमा प्रतिलिटर १८ रुपैयाँ ६६ पैसा र आन्तरिक उडानमा ३० रुपैयाँ पाँच पैसा नाफा हुने गरेकोमा यसपटक न त नाफा घटेको छ न त नाफा बढेको छ । सोमवारको मूल्यसूची अनुसार निगमलाई पेट्रोलमा २२ करोड २५ लाख रुपैयाँ, मट्टितेलमा सात करोड ६८ लाख रुपैयाँ र हवाई इन्धनमा २६ करोड ६४ लाख रुपैयाँ नाफा हुनेछ । निगमलाई सबैभन्दा बढी खाना पकाउने ग्याँसमा ४३ करोड १६ लाख रुपैयाँ र डिजेलमा १२ करोड नौ लाख रुपैयाँ घाटा उठाउनुपर्नेछ ।
जुलाई १ मा आइओसीले मूल्यसूची पठाउँदा अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य प्रतिव्यारेल ९८ डलरको हाराहारीमा थियो, यसपटक मूल्यसूची पठाउँदा चार डलर बढेर १०२ डलर प्रतिव्यारेलको हाराहारीमा छ ।
निगमले विवरणबाट घाटा देखाए पनि यथार्थमा भने यसपटक निगमको मुनाफा देखाएभन्दा बढी नै हुनेछ । किनभने निगमले प्रशासनिक, ढुवानी, बीमा, जर्ती लगायतका खर्च यथार्थभन्दा केही बढी देखाएको छ । त्यसैगरी निगमले घाटा हुने पेट्रोलियम पदार्थको आपूर्ती विवरण बढी देखाएर कम नाफा देखिने गरी प्रक्षेपण गरेको छ ।