१५ हजार २३६ मेगावाटका ३९३ आयोजना लाइसेन्सको पर्खाइमा, विराजको टेबलमा थन्कियो प्रतिवेदन

जनक वली
२०८३ मंसिर १३ गते ०६:३६ | Nov 29, 2026
१५ हजार २३६ मेगावाटका ३९३ आयोजना लाइसेन्सको पर्खाइमा, विराजको टेबलमा थन्कियो प्रतिवेदन

काठमाडौं। सर्वेक्षण अनुमतिपत्र (लाइसेन्स) माग गर्दै विद्युत् विकास विभागमा परेका निवेदन होल्ड भएका छन्। विभागमा १५ हजार २३६ मेगावाट क्षमता बराबरका ३९३ वटा आयोजनाको लाइसेन्स प्रक्रिया होल्ड भएको हो।

GBIME
Tata

विभागका अनुसार १४ हजार ९९३ मेगावाट क्षमता बराबरका ३७८ वटा जलविद्युत आयोजनाले लाइसेन्स माग गर्दै आवेदन दिएका छन्। २४३ मेगावाट क्षमता बराबरका १५ वटा सोलार आयोजनाले समेत सर्वेक्षण लाइसेन्सका लागि आवेदन दिएका छन्।

तर, लाइसेन्स खुलाउने विषयमा गठित अध्ययन समितिले बुझाएको प्रतिवेदन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको कार्यकक्षमा थन्किएको छ।

सरकारको १०० बुँदे शासकीय सुधार कार्ययोजनाअन्तर्गत पीपीए र लाइसेन्स सम्बन्धमा सुझाव दिन सहसचिव मोहन शाक्यको नेतृत्वमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिले गत असारमै प्रतिवेदन बुझाएकामा मन्त्री विराज अहिलेसम्म अनिर्णित छन्। जसले निजी उत्पादकहरु विराजसँग ‘फायर’ भएका छन्।

किन रोकियो लाइसेन्स वितरण?

ऊर्जाले गत वैशाख ३ गते ३२ बुँदे निर्देशन जारी गर्‍यो। त्यो निर्देशनमा लाइसेन्सको विषयमा समीक्षा भएपछि मात्र नयाँ सर्वेक्षण अनुमतिपत्र जारी गर्ने उल्लेख थियो। साथै, सरकारले १०० बुँदे शासकीय सुधार कार्यक्रम ल्याएपछि विगतका अवस्था र समस्याबारे अध्ययन गर्नुपर्ने भन्दै लाइसेन्स जारी गर्ने प्रक्रिया रोकिएको थियो।

मन्त्रालयका सहप्रवक्ता शालिग्राम भण्डारीका अनुसार लाइसेन्स कानुनी रूपमा पूर्णरूपमा रोकिएको नभई अध्ययनकै क्रममा होल्ड भएको हुन सक्ने बताए।

‘हामीले लाइसेन्स रोक्न भनेका छैनौं। सरकारले १०० बुँदे शासकीय सुधार कार्यक्रम ल्याएपछि हामीले अध्ययन गर्नुपर्ने भयो। अध्ययन नहुँदासम्म लाइसेन्स जारी प्रक्रिया होल्ड भएको होला,’ भण्डारीले भने, ‘समितिले अध्ययन प्रतिवेदन पनि बुझाइसकेको छ। अब विभागले सोहीअनुसार जारी प्रक्रिया अगाडि बढाउँछ होला।’

अब लाइसेन्सका लागि पुरानो निर्देशन मान्य नहुने भएकाले नयाँ आवश्यक पर्ने ऊर्जाका एक कर्मचारी बताउँछन्। ‘मन्त्रालयको निर्देशनपछि हामीले सर्वेक्षण लाइसेन्स जारी गरेका छैनौं। अहिलेसम्म थप कुनै पनि निर्देशन प्राप्त भएको छैन,’ ती कर्मचारीले भने, ‘अब निर्देशन जे आउँछ, सोहीअनुसार अगाडि बढ्छौं।’

यद्यपि, समितिले प्रतिवेदन बुझाइसके पनि कुनै निर्णय नभएकाले फाइल कार्यकक्षमै अड्किएको मन्त्रालय स्रोतले जनाएको छ। विगतमा प्रसारण लाइनको अभाव, विद्युत् खरिद सम्झौतामा देखिएको अन्योल, नदी बेसिन अध्ययन तथा लाइसेन्स ओगटेर काम नगर्ने अर्थात ‘झोलामा खोला’ राख्ने प्रवृत्ति बढेपछि मन्त्रालयले वितरण र अनुगमनमा कडाइ गर्दै आएको थियो।

मन्त्रालयका एक अधिकारीका अनुसार पीपीए र वित्तीय व्यवस्थापन गरिसकेका कतिपय आयोजनासमेत राष्ट्रिय प्रसारण लाइनमा जोडिने ‘ग्रिड कनेक्सन एग्रिमेन्ट’ को अभावमा अलपत्र परेका छन्।

‘हामीले यसअघि लाइसेन्स लिएका आयोजना किन अगाडि बढ्न सकेनन् भन्नेबारे अध्ययन गरेका छौं। कतिपय आयोजना ग्रिड कनेक्सनको सुनिश्चितता नहुँदा रोकिएका छन्। ग्रिड कनेक्सनको उपलब्धताको अध्ययनपछि लाइसेन्ससम्बन्धी निर्णय हुन्छ,’ ती अधिकारीले बताए।

यता, ऊर्जा प्रवर्द्धकहरूले भने पीपीए र प्रसारण लाइनको सुनिश्चितता नहुने हो भने लाइसेन्स वितरणको मात्र अर्थ नहुने बताएका छन्। एक प्रवर्धकले भने, ‘पीपीए नगर्ने भए लाइसेन्स पनि नदिनु भनेका थियौं। तर, विद्यमान विद्युत ऐनअनुसार रोक्न मिल्दैन।’

मन्त्रालयका एक कर्मचारीका अनुसार हाल विद्युतको राष्ट्रिय माग २ हजार मेगावाटको हाराहारीमा मात्र छ, जबकी जडित क्षमता ४ हजार २ सय मेगावाट नाघिसकेको छ।

‘अहिले करिब १२ हजार मेगावाट हाराहारीका आयोजना पीपीए भएर निर्माणको चरणमा छन् भने करिब ४३ हजार मेगावाट क्षमताका आयोजनाको सर्वेक्षण लाइसेन्स यसअघि नै जारी भइसकेको छ,’ ती कर्मचारीले भने, ‘यी सबै पक्ष र बजारको अवस्थालाई गम्भीर अध्ययन गरेर मात्र नयाँ लाइसेन्स जारी गर्नुपर्ने देखिन्छ।’