सम्पत्ति व्यवस्थापन कम्पनीसम्बन्धी कानुनको मस्यौदा अड्कियो अर्थमा, स्वर्णिमको घोषणा अलपत्र!

आकाश बोगटी
२०८३ मंसिर १२ गते १९:०० | Nov 28, 2026
सम्पत्ति व्यवस्थापन कम्पनीसम्बन्धी कानुनको मस्यौदा अड्कियो अर्थमा, स्वर्णिमको घोषणा अलपत्र!

काठमाडौं। बैंक तथा वित्तीय संस्थामा थुप्रिएको गैरबैंकिङ सम्पत्ति व्यवस्थापनका लागि पुसभित्र कम्पनी सञ्चालनमा ल्याउने घोषणा गरेको सरकारले कानुनको मस्यौदा भने अड्काएर राखेको छ।

GBIME
Tata

सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना सम्बन्धी कानुनको मस्यौदा तयार पारेर नेपाल राष्ट्र बैंकले डेढ महिनाअघि नै अर्थ मन्त्रालयमा बुझाएकामा अहिलेसम्म कुनै प्रगति नभएका कारण अर्थमन्त्री स्वर्णिम वाग्लेको घोषणा अलपत्र पर्ने देखिएको छ।

सरकारले पुसभित्र कम्पनी सञ्चालन गर्ने घोषणा गरेका कारण आफूहरुले हतार हतार मस्यौदा तयार गरे पनि थप ‍‍काम अगाडि नबढेकामा राष्ट्र बैंकका अधिकारी खिन्न छन्।

‘सम्पत्ति व्यवस्थापन कम्पनी सञ्चालन गर्ने कुरा हाम्रा लागि नयाँ हो। नयाँ कुरा सुरु गर्दा सबै पक्ष हेर्नुपर्ने हुन्छ। सरकारले पुसभित्र कम्पनी सञ्चालन गर्ने घोषणा गरेकाले हामीले हतार हतार मस्यौदा तयार पारेर दसैंअघि नै अर्थ मन्त्रालयमा बुझाएका थियौं,’ राष्ट्र बैंकका एक कर्मचारीले भने, ‘तर अहिलेसम्म अगाडि बढेको देखिएन। कम्पनी स्थापनाभन्दा पनि सञ्चालनमा चुनौती देखेर अगाडि नबढेको हुनसक्छ।’

वाग्लेले कम्पनी सञ्चालनमा ल्याउने भनेको समय घर्किन अब दुई महिना पनि बाँकी छैन। तर, मस्यौदा मन्त्रालयले नै अड्काएर राखेका कारण पुसभित्र कानुन बन्ने सम्भावना क्षीण भएको छ।

मस्यौदा कानुन मन्त्रालयको राय लिएर मन्त्रिपरिषद्‍ हुँदै विधेयकका रुपमा संसद्‍मा पेस गरेपछि दुवै सदनले पारित गर्नुपर्छ। विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्रै कम्पनी स्थापना गर्ने कानुनी बाटो खुल्छ।

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले सम्पत्ति व्यवस्थापन कम्पनी पुसभित्र सञ्चालनमा ल्याउने भनिए पनि त्यसका लागि पूर्वाधार बनाउने काम सुस्त देखिएको बताए।

‘कम्पनी सञ्चालनमा ल्याए त्यसले बैंकिङ क्षेत्रलाई ठूलो राहत हुन्छ। तर, कम्पनी पुसभित्र सञ्चालनमा ल्याउनका लागि कानुनी आधार तयार भएको छैन। घोषणा गर्ने तर काम नगर्ने पुरानै प्रवृत्ति दोहोर्‍याउँदा सरकारप्रति निजी क्षेत्रको विश्वास कमजोर हुन्छ,’ उनले भने, ‘त्यसैले सरकारले अब पूर्वाधार तयार पार्न ढिलाइ गर्नु हुँदैन।’

सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने विषय पहिलोपटक आर्थिक वर्ष २०५८/५९ को बजेटमै समेटिएको थियो। तर अहिलेसम्म त्यो काजजमै सीमित भएको छ।

त्यतिबेला गैरबैंकिङ सम्पत्ति व्यवस्थापन गर्ने कम्पनी सरकारी लगानीमा स्थापना गर्नुपर्ने निष्कर्ष थियो। तर, अहिले राष्ट्र बैंकले तयार पारेको मस्यौदामा कम्पनी निजी क्षेत्रको लगानीमा स्थापना गर्न प्रस्ताव गरिएको छ।

बैंक तथा वित्तीय संस्थामा हाल करिब ५७ अर्ब रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ। त्यो सम्पत्ति व्यवस्थापन गर्न २५ अर्ब रुपैयाँ पुँजी भएको कम्पनी स्थापना गर्न प्रस्ताव गरिएको छ।

छिमेकी मुलुक भारतमा सरकारी तथा निजी लगानीमा सम्पत्ति व्यवस्थापन गर्ने विभिन्न कम्पनी सञ्चालनमा छन्। त्यहाँ यस्ता कम्पनीको नियमन तथा सुपरिवेक्षण केन्द्रीय बैंकले गर्दै आएको छ।

नेपालमा पनि सम्पत्ति व्यवस्थापन कम्पनीको नियमन तथा सुपरिवेक्षणको जिम्मेवारी राष्ट्र बैंकलाई दिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

कम्पनी सञ्चालनमा आएपछि गैरबैंकिङ सम्पत्ति व्यवस्थापनमा सहयोग पुग्नेमा बैंकरहरु आशावादी छन्।

नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले सम्पत्ति व्यवस्थापन कम्पनी सञ्चालनमा आएको अवस्थामा बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा (एनपीएल) व्यवस्थापनमा सहयोग पुग्ने आशा रहेको बताए। ‘कम्पनी सञ्चालनमा ल्याउँदैमा त्यसले सबै कुरा समाधान नहोलान्,’ उनले भने, ‘एनपीएल व्यवस्थापनमा केही हदसम्म सहयोग पुग्छ।’