गोरखकाली रबर उद्योग संचालनका लागि ‘अपरेसन लिज मोडल’ सिफारिस

बिजमाण्डू
२०८३ मंसिर ११ गते १०:४६ | Nov 27, 2026
गोरखकाली रबर उद्योग संचालनका लागि ‘अपरेसन लिज मोडल’ सिफारिस

काठमाडौं। गोरखकाली रबर उद्योग पुनः संचालनमा ल्याउन ‘अपरेसन लिज मोडल’ सिफारिस गरिएको छ।

GBIME
Tata

सरकारले थप लगानी नगरी निजी क्षेत्रलाई लिज मोडलमा उद्योग संचालनको जिम्मेवारी दिनेसहितको प्रतिवेदन शुक्रबार सरकारी लगानी व्यवस्थापन समितिमा पेस गरिएको हो।

यसअघि अर्थ मन्त्रालयले विज्ञसहितको टिमलाई गोरखकाली रबर उद्योगको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गर्न समिति गठन गरेको थियो। उक्त समितिले लिजमा दिन सकिने, कम्पनी खारेज गर्ने वा निजी वा सार्वजनिक संस्था समेतको सहभागितामा संचालन गर्नेसहित तीन मोडालिटी सिफारिस गरेको थियो। 

त्यही समितिको प्रतिवेदन अध्ययन गरेर मोडालिटी टुंगो लगाउन गठित उपसमितिले गोरखकाली रबर उद्योगसहित हेटौंडा सिमेन्ट र उदयपुर सिमेन्ट उद्योगको संचालन मोडालिटीबारे अध्ययन अघि बढाएको थियो। उक्त उपसमितिले लिजमा दिने मोडल सिफारिस गरेको हो।

यो मोडलमा निजी क्षेत्रको पुँजी, प्रविधि र व्यवस्थापकीय दक्षता उपयोग हुने अर्थ मन्त्रालयले जनाएको छ। यसमा उद्योगको स्वामित्व सरकारमै राखेर निश्चित सर्त, अवधि र जिम्मेवारी तोकी निजी क्षेत्रलाई संचालनको जिम्मा दिने सिफारिस प्राप्त भएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ।

अर्थमन्त्रीको अध्यक्षतामा हुने सरकारी लगानी व्यवस्थापन समितिमा प्रतिनिधि सभाको अर्थ समितिका सभापति, अर्थ, कानुन र श्रम सचिव, योजना आयोगका एक सदस्य, निजी क्षेत्रका साथै सरकारले मनोनीत गरेका दुई सांसद सदस्य रहने व्यवस्था छ। अब प्राप्त प्रतिवेदन अध्ययन गरेर समितिले उद्योगलाई अगाडि बढाउने वा नबढाउने निर्णय लिनेछ।