गोरखकाली रबर उद्योग चलाउन तीन मोडालिटी, व्यवस्थापन निजी क्षेत्रलाई दिन सुझाव

मस्त केसी
२०८२ चैत्र २४ गते ०६:०४ | Apr 7, 2026
गोरखकाली रबर उद्योग चलाउन तीन मोडालिटी, व्यवस्थापन निजी क्षेत्रलाई दिन सुझाव

काठमाडौं। गोरखकाली रबर उद्योग लिमिटेडको मूल्यांकन गर्न बनेको समितिले तीन मोडालिटी सिफारिस गरेको छ।

GBIME
Tata

सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गर्ने समितिले गोरखकालीलाई अहिलेकै अवस्थामा चलाउन वित्तीय र प्राविधिक रूपमा सम्भाव्य नभएकाले पुनर्संरचना गरी सञ्चालन गर्न सुझाव दिएको छ। तर, पुनर्संरचना गर्दा व्यवस्थापकीय जिम्मेवारीबाट सरकार पूर्णत: अलग हुनुपर्ने भनिएको छ।

त्यस्तै लिजमा दिन सकिने र कम्पनी नै खारेज गर्नेसमेत गरेर तीन मोडालिटी सुझाव दिइएको छ।

समितिले उद्योग चलाउनको लागि ऋणलाई सेयरमा परिणत गरी निजी वा सार्वजनिक संस्था समेतको सहभागितामा थप लगानी गरी पूँजी वृद्धि गर्न सकिने सिफारिस गरेको छ।  

त्यसका लागि पुरानो प्लान्ट र मेसिनरीहरूलाई आधुनिक प्लान्टले विस्थापित गर्ने कार्ययोजना बनाउनुपर्ने र अहिलेकै प्लान्टबाट थोरै भए पनि तत्काल उत्पादन सुरु गर्न सकिने समितिले सुझाव दिएको छ।

अहिलेको प्लान्टको आयु अझै ७ वर्ष कायम रहेकाले महँगो मर्मतसम्भार खर्च लाग्ने भए पनि सञ्चालन गर्ने सुरुवाती खुड्किलाका लागि यो उपयुक्त विकल्प हुने भनिएको छ।

‘निजी क्षेत्र वा रणनैतिक वैदेशिक लगानीकर्तासँगको साझेदारीमा उद्योग सञ्चालन गर्नु उपयुक्त हुने देखिन्छ,’ समितिले अर्थमन्त्रीलाई बुझाएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा भनिएको छ, ‘उद्योग संचालन गर्न थप पुँजी, आधुनिक प्रविधि र व्यवस्थापकीय कौशल आवश्यक पर्छ। यसको लागि सरकारले उद्योगको व्यवस्थापनमा आफ्नो प्रत्यक्ष संलग्नता हटाई निजी क्षेत्रलाई प्रोत्साहन गर्नु उपयुक्त हुन्छ।’

गोरखकालीको ब्राण्ड भ्यालु ठूलो रहेकाले निजी क्षेत्रसँगको सहकार्यमा यही ब्राण्डबाट टायर उत्पादन गर्दा बजार फर्काउन सकिने समितिको बुझाइ छ। समितिले भनेको छ, ‘विगतमा देखाएको मजबुतीले गर्दा यसको ब्राण्ड मूल्य अझै जीवित छ। नयाँ प्रविधि अपनाएर सोही ब्राण्डमा उच्च गुणस्तरको उत्पादन बजारमा ल्याउन सके ठूलो लागत बचत गर्दै बलियो प्रतिस्पर्धात्मक लाभ राख्दछ।’  

समितिले उद्योगलाई पुनर्संरचना गरी सञ्चालन गर्न पहिलो कदमका रुपमा हर्जना तथा ब्याजको ब्याज रकमलाई मिनाहा गराउन सरकारले पहल लिनुपर्ने भनेको छ। त्यसका साथै साधारण ब्याजमा अधिकतम छुट लिई ऋण दायित्वलाई एकमुष्ट राफसाफ गर्न सिफारिस गरिएको छ।

प्रयोगमा नरहेको र उद्योगलाई आवश्यक नभएको जग्गा बिक्री गर्ने विकल्प पनि दिइएको छ। सरकारको ठूलो ऋण लगानी रहेकोले उद्योगलाई आवश्यक नभएको जग्गा सरकारले नै खरिद गरी ऋणको हिसाब मिलान गर्न सकिने विकल्प सुझाएको छ।

प्रयोगमा नरहेको जग्गा तथा भवनहरूलाई भाडा वा लिजमा दिएर उद्योगलाई लगानीसहितको सञ्चालन करार (अपरेशन लिज) मा दिने अर्को विकल्प पनि सुझाव दिइएको छ।

उद्योग पुनर्संरचना गरि पुन:सञ्चालन गर्ने वा लगानी सहितको सञ्चालन करारमा दिने विकल्प लागू गर्न नसके उद्योगको सम्पत्ति बेचबिखन गरी कम्पनी खारेज गर्ने अन्तिम विकल्प सुझाव दिइएको छ।

अर्थ मन्त्रालयले गत वैशाखमा सात रुग्ण तथा बन्द अवस्थामा रहेका सार्वजनिक संस्थानको डीडीए प्रक्रिया सुरु गरेको थियो।

एसियाली विकास बैंक (एडीबी)को सहयोगमा डीडीए गर्न एनकेटी एसोसिएट्सका एक्जुकेटिभ पार्टनर सीए कृष्ण भट्टराईको नेतृत्वमा ५ सदस्यीय समिति बनेको थियो। एडिबीको सहयोगमा उदयपुर र हिमाल सिमेन्ट उद्योगको पनि डीडीए भइरहेको छ।

स्थापनादेखि सञ्चालन घाटामा गएकाले उत्पादन सुरु गरेको २३ वर्षपछि २०७२ असारदेखि गोरखकाली पूर्णरुपमा बन्द भएको थियो। उद्योगको सञ्चित नोक्सानी करिब ४ अर्ब ५० करोड पुगेको छ।

टायर उद्योगको सम्भावना

नेपालमा करिब ६० लाख सवारीसाधन दर्ता छन्। जसमध्ये चारपांग्रे सवारीसाधनको संख्या करिब १२ लाख रहेको छ। समग्र सवारीसाधनको वार्षिक औसत वृद्धि करिब १५ प्रतिशत रहेको छ।

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा बस, ट्रक र अन्य चारपांग्रे सवारीसाधनका मात्रै करिब ९ लाख टायर आयात भएको देखिन्छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ८ प्रतिशतको वृद्धि हो। मूल्यका हिसाबले वार्षिक करिब १० प्रतिशतको वृद्धि छ।

दश वर्षको औसत् बजारअनुसार बस र ट्रक टायरको हिस्सा करिब ४८ प्रतिशत, कार टायरको करिब १९ प्रतिशत र मोटरसाइकल टायरको ११ प्रतिशत रहेको छ।

भन्सारको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ मा करिब १२ अर्बको टायर र ट्युब आयात भएको छ भने काँचो रबर १ अर्ब ५० करोडभन्दा बढीको आयात भएको छ।

‘सवारीसाधनमा भइरहेको उच्च वृद्धि, निर्माण कार्यको विस्तार र कृषि आधुनिकीकरण र यान्त्रीकरणका कारण स्वदेशमा टायरको ठूलो बजार सम्भावना रहेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ।

अहिलेकै प्रविधिमा गोरखकाली उद्योगले वार्षिक ८० हजार ट्रक टायर र ४० हजार अन्य टायर उत्पादन क्षमता रहेको छ। अहिले विराटनगरमा रहेको ग्रिन टायरले डेल्टा र शेर्पा ब्राण्डमा मोटरसाइकल, स्कुटर, ट्याकटर तथा तीन पाङ्ग्रे अटोको टायर उत्पादन गरिरहेको छ।

यसको वार्षिक क्षमता ६ लाख टायर उत्पादन भए पनि करिब २ लाख ५० हजार उत्पादन गरिरहेको छ। त्यस्तै चितवनमा रहेको वाइ आर उद्योगले पनि यस्तै प्रकृतिका टायर उत्पादन गरिरहेको छ। जसले कुल नेपाली बजारको करिब ११ प्रतिशत हिस्सामात्रै ओगटेका छन्।

प्रतिवेदनमा नेपालले टायर उत्पादन गर्न सके भारत, चीन, पाकिस्तान, बंगलादेश, श्रीलंकालगायत देशमासमेत निर्यातको सम्भावना रहेको बताएको छ। तर टायर उत्पादनका लागि चाहिने मुख्य कच्चा पदार्थ प्राकृतिक रबर भने नेपालमा न्यून उत्पादन हुन्छ।

नेपालमा कच्चा रबरको वार्षिक उत्पादन करिब १२ सय मेट्रिक टन छ। जसले बजारको करिब १० प्रतिशत माग मात्र पूरा गरेको छ। समितिले पूर्वी तराईका जिल्लामा ५ वर्षभित्रै १५ हजार बिघाभन्दा बढी जग्गामा रबर खेती सम्भव रहेको पनि उल्लेख गरेको छ।