विराटनगर। भारतले नेपाललाई प्रयोग गर्न दिने घोषणा गरेका कान्डला र पारादीप बन्दरगाहबाट सबै प्रकारका कार्गो सडक र रेल दुवै मार्ग हुँदै नेपालका मुख्य नाकासम्म ल्याउन पाउनुपर्ने व्यवसायीले माग गरेका छन्।
निश्चित प्रकारका वस्तु वा सीमित ढुवानी मार्गमा मात्र सुविधा उपलब्ध गराए नयाँ बन्दरगाहको उपयोगिता नहुने उनीहरूको भनाइ छ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका अवसरमा भारतले दीनदयाल (कान्डला) र पारादीप बन्दरगाह नेपाललाई प्रयोग गर्न दिने भएको हो। व्यवसायीले यी बन्दरगाह संचालनसम्बन्धी लेटर अफ एक्सचेन्ज (एलओई) गर्दा कार्गोको प्रकार र ढुवानीका मार्ग स्पष्ट रूपमा उल्लेख गर्न सरकारलाई सुझाव दिएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले विशाखापटनम बन्दरगाहबाट सीमित प्रकारका कार्गो ल्याउन पाउने व्यवस्थाले पर्याप्त व्यापार सहजीकरण हुन नसकेको बताए। उनका अनुसार विशाखापटनमबाट कन्टेनराइज्ड कार्गो मात्र ल्याउन पाइन्छ भने कोइला लगायतका लुज कार्गो ल्याउन पाइँदैन।
यस्ता कार्गो अहिले कोलकाता वा हल्दिया हुँदै सुक्खा बन्दरगाह र रक्सौलसम्म आइरहेका छन्। कान्डला र पारादीपबाट लुज, बल्क, ब्रेक बल्क र ब्यागेज लगायत सबै प्रकारका कार्गो ढुवानी गर्न पाउने व्यवस्था गर्नुपर्ने मुरारकाको भनाइ छ।
उनले नेपाल सरकारले ढुवानी सुरु गर्नुअघि पर्याप्त अध्ययन गरेर अधिकतम लाभ पुग्ने गरी एलओई गर्नुपर्ने बताए। पारवहन सन्धिको प्रोटोकल र रेलमार्गसम्बन्धी सहमतिमा कान्डला र पारादीपबाट विराटनगर, वीरगंज, भैरहवा र वनवासा-दोधारा नाकासम्म सडक तथा रेल दुवै मार्गबाट ढुवानी गर्न सकिने व्यवस्था गर्नुपर्ने उनको सुझाव छ।
मुरारकाले द्विपक्षीय सन्धि र सहमतिमा बन्दरगाहबाट ल्याउन पाइने कार्गोका प्रकारसमेत स्पष्ट रूपमा सूचीकृत गर्नुपर्ने बताए। उनका अनुसार वस्तु र ढुवानी मार्गको नाम नै तोकेर व्यवस्था गरे भविष्यमा व्याख्या र कार्यान्वयनसम्बन्धी अन्योल कम हुनेछ।
‘यसरी नामै तोकेर सूचीकृत गरे मात्र भविष्यको अन्योलबाट बच्न सकिन्छ। अन्यथा स-साना लुप होल्सबाट दुःख पाइने समस्या हुन्छ,’ उनले भने।
कान्डला बन्दरगाह प्रयोग गर्न पाए नेपालका व्यवसायीलाई युरोप र अफ्रिकी मुलुकसँगको आयात-निर्यात सहज हुने उनको भनाइ छ।
उनका अनुसार यसबाट नेपाली गार्मेन्ट, गलैँचा, पस्मिना, जडीबुटी, एफएमसीजी र अन्य वस्तुको निर्यातमा लाग्ने लजिस्टिक खर्च घट्न सक्छ। बन्दरगाहको उपयुक्त प्रयोगले नेपाली वस्तुलाई ती बजारसम्म पुर्याउने ढुवानी व्यवस्थामा सहजता आउने उनले बताए।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले नयाँ बन्दरगाह संचालन सहमति गर्दा सरकारले २०२३ को पारवहन सन्धिमा भएका कमजोरीबाट पाठ सिक्नुपर्ने बताए। त्यसबेला नेपालका तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र भारतका समकक्षी पीयूष गोयलले नयाँ दिल्लीमा पारवहन सन्धिमा हस्ताक्षर गरेका थिए।
उक्त सन्धिले कोलकाता बन्दरगाहबाट विराटनगरको नेपाल कस्टम यार्ड (एनसीवाई) सम्म तेस्रो मुलुकबाट आएका सिमेन्ट, क्लिंकर, मल र कोइलासहित चार प्रकारका बल्क कार्गो मात्र रेलमार्गबाट ल्याउन दिने व्यवस्था गरेको थियो। यसका कारण पूर्वका व्यवसायीले लामो समयसम्म तेस्रो मुलुकबाट आयातित अन्य वस्तु कार्गो रेलमार्फत एनसीवाईसम्म ल्याउन पाएनन्।
गत वर्ष तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा भारत भ्रमणमा जाँदा भारतीय समकक्षी गोयलसँग एलओई गरेपछि मात्र तेस्रो मुलुकका वस्तु कार्गो रेलमार्फत एनसीवाई आउन थालेका हुन्। तर, पछिल्लो एलओईले पनि कोलकाताबाट सबै प्रकारका कार्गो रेलमार्ग हुँदै ल्याउने सुविधा नदिएको राठीले बताए।
‘ब्रेक बल्क कार्गोअन्तर्गत आउने मिलमेसिनरी, गोलिया काठ, एचआर सिट लगायतका वस्तु अझै ल्याउन सकिएको छैन,’ उनले भने।
उनका अनुसार एनसीवाईका हकमा पारवहन सन्धि र एलओई दुवैका सुविधा अझै अपूर्ण छन्। राठीले आयात-निर्यातकर्तासँग पर्याप्त छलफल र गृहकार्य नगरी सरकारले कार्गोको प्रकार तथा ढुवानी मोडेलबारे सहमति गर्न नहुने बताए।
‘अन्यथा भविष्यमा धोका हुनेछ,’ उनले भने।
सीएनआई कोशीका अध्यक्ष पवनकुमार शारडाले बन्दरगाह संचालनका लागि एलओई गर्नुअघि सरकारले व्यवसायीसँग सघन छलफल गर्नुपर्ने बताए। आयात-निर्यात र लजिस्टिकमा व्यवसायीले भोगिरहेका समस्या सरकारी अधिकारीलाई पूर्ण रूपमा थाहा नहुने भएकाले उनीहरूसँग प्रत्यक्ष परामर्श आवश्यक रहेको उनको भनाइ छ।
‘सरकारी अधिकारीले आफ्नै हिसाबले सहमति गरिदिनुहुन्छ। अनि त्यसको मार व्यवसायी र व्यवसायले भोग्नुपर्छ,’ शारडाले भने।
विराटनगरको एनसीवाई यसको उदाहरण भएको उल्लेख गर्दै उनले त्यहाँका व्यवसायीले तीन वर्षसम्म केही वस्तु ल्याउन नपाएको र अहिले पनि ब्रेक बल्क कार्गो ल्याउन नसकेको बताए।
शारडाले दुवै बन्दरगाहबाट कुन-कुन वस्तु कुन मोडेलमा आयात-निर्यात गर्न दिने भन्ने विषयमा सरकार स्पष्ट हुनुपर्ने बताए। उनले नेपाली सामानका लागि दुवै बन्दरगाहमा छुट्टै डेडिकेटेड स्थान र केही समयका लागि नेपाली व्यवसायीलाई सहयोग गर्ने छुट्टै डेस्क स्थापना गर्नुपर्ने सुझाव दिए।
उनका अनुसार अनलाइन ट्रान्ससिपमेन्ट मोडेलबाट आउने कार्गोमा भौतिक कागजात जाँचपास आवश्यक नपर्ने व्यवस्था गर्न सकिन्छ। सिस्टममा कागजात अपलोड गरे पुग्ने भए पनि सुरुका केही समय नेपाली व्यवसायीलाई सहजीकरण गर्न बन्दरगाहमा नेपाली डेस्क राख्नुपर्ने उनको भनाइ छ।
ढुवानी तथा लजिस्टिक विशेषज्ञ राजन शर्माले लामो दूरीको ढुवानीका लागि रेल उपयुक्त माध्यम हुने बताए। उनका अनुसार कान्डला र पारादीप दुवै बन्दरगाहबाट भैरहवा र वनवासासम्म कार्गो रेल ल्याउन सकिने अवस्था छ।
भैरहवा नजिकको भारतीय रेल स्टेसन नौतनवा र वनवासा नजिकको टनकपुरमा ब्रोडगेज रेलमार्ग संचालनमा छन्। यी दुवै स्टेसनको पर्याप्त उपयोग गर्न सके नेपालका लागि लजिस्टिक खर्च कम हुने शर्माको भनाइ छ।
उनले युरोप, मध्यपूर्व, अफ्रिका र अमेरिकाबाट आउने सामान कोलकाताभन्दा केही दिनअघि नै कान्डला पुग्ने बताए। त्यस्तै, चीन, दक्षिणपूर्वी एसिया र पूर्वी एसियाबाट आउने सामानका लागि कोलकाता र विशाखापटनमभन्दा पारादीप उपयुक्त हुने उनको विश्लेषण छ।
शर्माले नयाँ बन्दरगाहले भैरहवा र दोधारा-चाँदनीजस्ता पश्चिमी नाकासम्म मल र नुनजस्ता अत्यावश्यक बल्क कार्गो पुर्याउन पनि सहज बनाउने विश्वास व्यक्त गरे। सडक र रेल दुवै मार्गबाट कार्गो ढुवानीको सुविधा सुनिश्चित भए नेपालले नयाँ बन्दरगाहबाट व्यापार तथा लजिस्टिक क्षेत्रमा लाभ लिन सक्ने व्यवसायीहरूको अपेक्षा छ।









