राजस्व अनुसन्धानको काम ८ महिनादेखि ठप्प, रोकिए कर छलीका फाइल

मस्त केसी
२०८३ मंसिर ९ गते १६:३३ | Nov 25, 2026
राजस्व अनुसन्धानको काम ८ महिनादेखि ठप्प, रोकिए कर छलीका फाइल

काठमाडौं। राजस्व अनुसन्धान विभाग खारेजीको प्रक्रियामा गएपछि यसका काम ठप्पप्राय: भएका छन्। विभागले गर्दै आएको राजस्व छली अनुसन्धान, ढुवानी अनुगमन तथा अवैध कारोबार नियन्त्रणजस्ता काम ठप्प हुँदा ठूलो कर चुहावट भइरहेको राजस्वका अधिकारीहरूले बताएका छन्।

GBIME
Tata

पहिले नै अनुसन्धान सकिएर मुद्दाको प्रक्रियामा जान लागेका ठूला फाइलको काम पनि रोकिएको छ। अनुसन्धानका क्रममा रहेका करिब १०० साना ठूला फाइल र सरकारी वकिल कार्यालयमा मुद्दा दायरका लागि पठाउने तयारीमा रहेका केही ठूला फाइल अड्किएका हुन्।

विभाग खारेजीमा जाँदा तीन ठूला व्यावसायिक घरानाले कर छली गरेको अनुसन्धान अन्तिम चरणमा पुगेको थियो। त्यस्तै नक्कली बिलबिजक प्रकरणमा अनुसन्धान पूरा गरी १ अर्ब ६५ करोड रुपैयाँ बिगो कायम गरेर मुद्दा चलाउन रायसहितको अर्को फाइल सरकारी वकिल कार्यालयमा पठाइएको थियो। ८ महिनादेखि यी सबै काम प्रभावित भएका छन्।

राजस्व छलीजस्ता संवेदनशीन प्रकरणमा अनुसन्धान र अभियोजन प्रक्रिया लामो समय अवरुद्ध हुँदा प्रमाण संकलन, सरकारी दाबी र राजस्व असुलीमा समस्या आउने राजस्वका जानकारहरू बताउँछन्।

‘अनुसन्धान सकेर मुद्दाको तयारीमा रहेका फाइल रोकिंदा प्रमाण र दाबी नै कमजोर बन्न पुग्छ। अर्को पक्षले फाइल प्रभावित बनाउने जोखिम पनि रहन्छ,’ राजस्व अनुसन्धानका एक पूर्वमहानिर्देशकले भने।

सबै काम सकिएर मुद्दाको तयारीमा जाने क्रममा रहेका काममात्रै होइन, अहिले राजस्व अनुसन्धान तथा अनुगमनको कामसमेत कसैले गरेको छैन। ‘अन्य निकायलाई ठूलो कर छली तथा ढुवानी अनुसन्धानको अधिकार छैन। भएको निकाय खारेजीमा गइसक्यो। यसले गर्दा हामीले ठूलो राजस्व गुमाइरहेका छौंजस्तो लाग्छ,’ आन्तरिक राजस्व विभागका एक उच्च अधिकारीले भने।

त्यसो त चालु आर्थिक वर्षको कात्तिकसम्म राजस्व संकलन ४ प्रतिशतले वृद्धि देखिएको छ। विगत १० वर्षको औसत राजस्व वृद्धिदर १२ प्रतिशत छ। ‘करदाता प्रोत्साहन (चिठ्ठा) कार्यक्रमले साथ दिएर २/३ प्रतिशत बढेको देखिन्छ। राजस्व अनुसन्धान रहेको वा जिम्मेवारी अन्य निकायमा सरेको भए थप २/३ प्रतिशतमाथि पुग्न सक्थ्यो। विभाग नहुँदा हामीले ठूलो क्षति बेहोरेका छौं,’ आन्तरिक राजस्वका ती उच्च अधिकारीले भने।     

अहिले राजस्व अनुसन्धान विभागमा कर्मचारी छैनन्। यसअघि विभागअन्तर्गत करिब १५० कर्मचारी कार्यरत थिए। विभाग मातहत इटहरी, पथलैया, बुटवल र कोहलपुरमा चारवटा कार्यालय थिए। ती कार्यालय र विभागमा सशस्त्र प्रहरीका समेत ११० जनशक्ति खटिएका थिए।

यति ठूलो संरचनाको जिम्मेवारी हस्तान्तरण र कामको निरन्तरताबारे सरकारले हेलच्क्रयाइँ गर्दा राजस्व प्रणालीमै असर परेको सरकारी अधिकारीहरूको भनाइ छ। ‘पहिले कानुन बनाएर खारेज गरेको भए हुने थियो। तर सुरुवातमै खारेज र त्यसपछि अन्य तयारी गर्दा मुलुकले ठूलो राजस्व गुमाइरहेको छ,’ राजस्वका अर्का कर्मचारीले भने।  

विभागमा अहिले प्रशासनतर्फ ३ जना कर्मचारी छन्। उनीहरूको काम हाजिर गर्नेमा सीमित छ। ‘कानुनी व्यवस्था भयो भने फाइल हस्तान्तरण गर्नका लागि कुरेर बसेका छौं,’ एक कर्मचारीले भने।

छलफलमै कानुनी व्यवस्था

विभाग खारेज गर्ने निर्णय भए पनि विकल्पमा जिम्मेवारी पाउने निकायलाई पूर्ण सक्रिय बनाउने कानुनी व्यवस्था भएको छैन। विभाग खारेजीको निर्णयसँगै राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ र त्यससम्बन्धी नियमावली खारेज गर्ने प्रक्रिया सुस्त गतिमा अघि बढेको छ।

अर्थ मन्त्रालयले गएको असारमा अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक संसद्‍मा दर्ता गरेको थियो। विधेयकमा राजस्व अनुसन्धान विभागमा दर्ता भएका तथा अनुसन्धान भइरहेका मुद्दा सम्बन्धित निकायमा हस्तान्तरण गर्ने व्यवस्था छ।

त्यसअघि सरकारले विभाग खारेज गर्ने निर्णय गरेपछि यसको काम कुन निकायले गर्ने भन्ने विषयमा अर्थ मन्त्रालयले कार्यदल गठन गरेको थियो। जसले राजस्व अनुसन्धान विभागको काम आन्तरिक राजस्व विभाग, भन्सार विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा हस्तान्तरण गर्न सिफारिस गरेको थियो ।

विधेयकमा आयकर, भ्याट, अन्तःशुल्क, आन्तरिक कर छली तथा गैरकरसम्बन्धी अनुसन्धानको जिम्मेवारी आन्तरिक राजस्व विभागलाई दिने उल्लेख छ।  

भन्सार विभागले चोरी निकासी, पैठारी तथा भन्सारसम्बन्धी राजस्व चुहावट नियन्त्रणको जिम्मेवारी पाउने छ। त्यसैगरी विदेशी विनिमयसम्बन्धी कसुरको जिम्मेवारी सम्पत्ति शुद्धीकरण तथा  अनुसन्धान विभागलाई दिने अर्थ मन्त्रालयले जनाएको छ। संक्रमणकालीन व्यवस्थापनमा केही समस्या देखिए पनि दीर्घकालसम्म समस्या नहुने मन्त्रालयको भनाइ छ।

सरकारले प्रशासनिक संरचना चुस्त बनाउने र निजी क्षेत्रलाई अनावश्यक झन्झटबाट मुक्त गर्ने उद्देश्यले राजस्व अनुसन्धान विभाग खारेजीको प्रक्रिया अघि बढाएको हो। उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले २०८१ चैतमा विभाग खारेज गर्न सुझाव दिएको थियो। विभागको सुझावमा टेकेर अर्थमन्त्री डा. स्वर्णि वाग्लेले गत चैत १३ गते पदबहालीका क्रममा विभाग खारेर्ज गर्ने पहिलो निर्णय गरेका थिए।