विराटनगर। लामो समयदेखि बन्द रहेको विराटनगर जुट मिल्स पुनः संचालन गर्ने तयारी अघि बढेको छ। भारतीय बिड्ला समूहसहित कोलकाताका केही जुट उद्योगीले चासो देखाएपछि मिल्सले ३५ वर्षका लागि रणनीतिक साझेदार खोज्न आशयपत्र आह्वान गरेको छ।
मिल्सले नयाँ लगानीकर्ताले उद्योगलाई विस्तार गर्दै दैनिक १२५ टन जुटजन्य सामग्री उत्पादन गर्ने क्षमता पुर्याउनुपर्ने सर्त राखेको छ। यसका लागि कम्तीमा दैनिक १०० टन उत्पादन क्षमता भएको जुट उद्योग संचालन गरिरहेको लगानीकर्ताले मात्र आशयपत्र पेस गर्न सक्ने व्यवस्था गरिएको छ।
मिल्सका अध्यक्ष नन्दलाल देवकोटाका अनुसार नयाँ लगानीकर्ताले मिल्सका विगतका ऐतिहासिक, वित्तीय तथा श्रमसम्बन्धी दायित्व वहन गर्नुपर्ने छैन। यसले लगानीकर्तालाई सुरक्षित व्यवस्थापन र संचालनको वातावरण उपलब्ध गराउने उनको भनाइ छ।
देवकोटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गठन गरेको कार्यदलको सिफारिसका आधारमा नयाँ रणनीतिक साझेदार खोजिएको बताए। गत साउनमा प्रधानमन्त्री कार्यालयले उद्योग मन्त्रालयअन्तर्गत संस्थान महाशाखाका प्रमुख नमराज घिमिरेको संयोजकत्वमा कानुन र अर्थ मन्त्रालयका सहसचिव तथा दुई विषयविज्ञ सम्मिलित कार्यदल गठन गरेको थियो।
मिल्सले सार्वजनिक गरेको सूचनाअनुसार लगानीकर्ताले कम्तीमा २० वर्षदेखि जुट वा जुटजन्य उत्पादन तथा प्रशोधन उद्योग संचालन गरेको अनुभव हुनुपर्नेछ। दैनिक कम्तीमा १०० टन उत्पादन क्षमता भएको उद्योग संचालन गरेको प्रमाणित अनुभव पनि अनिवार्य गरिएको छ।
नेपालमा अहिले यस्तो क्षमता भएको कुनै पनि जुट उद्योग छैन। आरके गोल्छा ग्रुपअन्तर्गत संचालित अरिहन्त मल्टिफाइबर्सले दैनिक करिब ६५ टन जुटजन्य सामग्री उत्पादन गर्दै आएको छ।

दैनिक १०० टन वा सोभन्दा बढी उत्पादन क्षमता भएका जुट उद्योग भारत र बंगलादेशमा संचालनमा छन्। त्यसैले मिल्सले विदेशी लगानीकर्तालाई लक्षित गरेर आशयपत्र आह्वान गरेको देखिन्छ।
अध्यक्ष देवकोटाका अनुसार विगतमा विराटनगर जुट मिल्सबाट दैनिक अधिकतम ४७ टनसम्म उत्पादन भएको अभिलेख छ। अब भने उद्योगलाई विस्तार गरेर दैनिक १२५ टन उत्पादन क्षमतामा पुर्याउने लक्ष्य राखिएको छ।
उनले नेपालको कुनै एक उद्योगले मात्रै आवश्यक उत्पादन क्षमता पूरा गर्न नसके संयुक्त लगानीमा पनि आशयपत्र पेस गर्न सक्ने बताए। उनका अनुसार लगानीकर्ताले उद्योगलाई अहिलेको अवस्थाबाट क्रमशः विस्तार गर्दै पूर्ण क्षमतामा संचालन गर्नुपर्नेछ।
मिल्सका पूर्वअध्यक्ष तथा संचालनका लागि पहल गरिरहेका कांग्रेस नेता फूलकुमार लालबानीले भारतीय लगानीकर्ताले चासो देखाइरहेको बताए। उनका अनुसार आवश्यक सरकारी सहजीकरण सुनिश्चित भए विदेशी लगानीकर्ता आकर्षित गर्न समस्या हुनेछैन।
लालबानीकै पहलमा यसअघि कोलकाताको विनसम इन्टरनेसनलले २५ वर्षका लागि संचालन सम्झौता गरेर मिल्स चलाउन आएको थियो। तर, सरकारले सम्झौताअनुसार ३३ केभीए विद्युत् प्रसारण लाइन उपलब्ध गराउन नसकेपछि उक्त कम्पनी १८ महिना उद्योग संचालन गरेर भारत फर्किएको थियो।

त्यतिबेला नेपालमा लोडसेडिङको समस्या पनि उच्च थियो। लालबानीका अनुसार जेनजी आन्दोलनअघिको सरकारसँग समेत भारतको बिड्ला समूहले मिल्स संचालन गर्ने इच्छा व्यक्त गरेको थियो।
देवकोटाले नयाँ लगानीकर्ताले ३५ वर्ष सफलतापूर्वक उद्योग संचालन गरेपछि थप अवधि संचालन गर्न चाहेमा सम्झौता नवीकरण गर्न सकिने बताए। यसले दीर्घकालीन लगानीका लागि अवसर उपलब्ध गराउने उनको भनाइ छ।
मिल्सको वर्तमान क्षमता ३० टन पनि छैन
मिल्सका एक पूर्वकर्मचारीका अनुसार अहिलेको अवस्थामा उद्योगबाट दैनिक ३० टन सामग्री पनि उत्पादन गर्न सकिने अवस्था छैन। तर, मिल्सले दैनिक १२५ टन उत्पादन क्षमताको लक्ष्य राखेर लगानीकर्ता खोजिरहेको छ।
यस विषयमा अध्यक्ष देवकोटाले अहिलेको अवस्थामा नै उद्योग जिम्मा लिएर क्रमशः क्षमता विस्तार गर्नुपर्ने स्पष्ट पारे। उनका अनुसार दैनिक १२५ टन उत्पादनको लक्ष्य एकैपटक पूरा गर्नुपर्ने नभई चरणबद्ध रूपमा हासिल गर्नुपर्ने हो।
उनले नेपाली लगानीकर्ता वा कुनै एक उद्योगले मात्रै उक्त क्षमता पुर्याउन नसके संयुक्त लगानीमा आउन सक्ने व्यवस्था पनि रहेको दोहोर्याए। मिल्सले लगानीकर्तालाई रोयल्टी भुक्तानी, संयुक्त लगानीमा इक्विटी सहभागिता वा निर्माण, संचालन तथा हस्तान्तरण (बीओटी) मोडेलमध्ये कुनै एक विकल्पमा उद्योग संचालन गर्न सक्ने व्यवस्था गरेको छ।
लगानीकर्ताका लागि २० वर्षको अनुभव अनिवार्य
मिल्सले नयाँ लगानीकर्ताका लागि विभिन्न व्यावसायिक तथा प्राविधिक सर्त राखेको छ। लगानीकर्ता जुट वा जुटजन्य उत्पादन तथा प्रशोधन उद्योगमा कम्तीमा २० वर्षदेखि निरन्तर स्थापित र सफलतापूर्वक उद्योग संचालन गरेको हुनुपर्नेछ।

त्यस्तै, जुटजन्य वस्तु उत्पादन गर्ने उद्योग स्थापना, व्यवस्थापन र संचालन गर्न प्रमाणित क्षमता भएको हुनुपर्नेछ। दैनिक १०० टन उत्पादन क्षमता भएको उद्योग सञ्चालन गरेको अनुभवसमेत अनिवार्य गरिएको छ।
लगानीकर्तासँग आफ्ना उत्पादनको बिक्री वितरणका लागि बलियो घरेलु तथा अन्तर्राष्ट्रिय बजार स्थापित भएको हुनुपर्नेछ। उद्योगको आधुनिकीकरण, प्रविधि स्तरोन्नति र दीर्घकालीन व्यावसायिक संचालनका लागि पर्याप्त वित्तीय स्रोत तथा प्राविधिक दक्षता पनि आवश्यक पर्नेछ।
लगानीकर्तालाई यस्ता सुविधा
मिल्सले नयाँ लगानीकर्तालाई औद्योगिक व्यवसाय ऐन तथा विदेशी लगानी र प्रविधि हस्तान्तरण ऐनअन्तर्गत उपलब्ध वैधानिक सुविधा प्रदान गर्ने जनाएको छ। विदेशी लगानीकर्ताले नाफा तथा लाभांश विदेश लैजान पाउने व्यवस्था पनि गरिनेछ।
त्यस्तै, पुँजीगत मेसिनरी तथा स्पेयर पार्ट्स आयात गर्दा भन्सार र शुल्कसम्बन्धी सहुलियत उपलब्ध गराउन सहजीकरण गरिनेछ। अध्यक्ष देवकोटाका अनुसार लगानीकर्तालाई प्रोत्साहन गर्न प्रारम्भिक अवधिमा न्यूनतम भाडा र रोयल्टी दर निर्धारण गरी सहुलियत अवधि उपलब्ध गराउने तयारी छ।










