काठमाडौं। चालु आवको ४ महिनामा २० अर्ब ३१ करोड रुपैयाँ बराबरका प्यासेन्जर इभी आयात भएका छन्।
भन्सार विभागले प्रकाशित गरेको तथ्यांक अनुसार चालु आवको साउनदेखि कात्तिकसम्म ९ हजार ४८ वटा विद्युतीय प्यासेन्जर गाडी आयात भएका हुन्। यसबाट सरकारले १२ अर्ब ९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।
गत वर्ष सोही अवधिमा ७ अर्ब ५४ करोड रुपैयाँ बराबरका ३ हजार २०३ युनिट मात्रै इभी आयात गरिएका थिए।
यसैगरी, इन्धन प्यासेन्जर सवारीसाधन ३ अर्ब १९ करोड रुपैयाँ बराबरका २ हजार ६४२ युनिट आयात गरिएको छ। यसमध्ये ११ सय युनिट अन-एसेम्बल गरिएका किट हुन्। यसबाट सरकारले ८ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ।
इन्धन दुई पाङ्ग्रे सवारीसाधन १६ अर्ब ३१ लाख रुपैयाँ बराबरको १ लाख १२ हजार ९८९ युनिट आयात भएका छन्। सरकारले यसबाट १५ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।
गत वर्ष सोही अवधिमा १२ अर्ब ६४ करोड रुपैयाँ बराबरका १ लाख ६१७ युनिट दुई पाङ्ग्रे आयात गरेको तथ्यांक छ।










