काठमाडौं। भारतका प्रमुख अटोमोबाइल कम्पनीहरुले कारको मूल्य बढाउने घोषणा गरेका छन्। बढ्दो कच्चा पदार्थ तथा उत्पादन लागत देखाउँदै टाटा मोटर्स, हुन्डाई, मारुती सुजुकी र जर्मन लक्जरी कार निर्माता अउडीले मूल्यवृद्धिको निर्णय गरेका हुन्।
टाटा मोटर्स र हुन्डाईले आगामी डिसेम्बर १ देखि लागु हुने गरी कारको मूल्य बढाउँदैछन्। मारुती सुजुकीले भने नोभेम्बर २२ देखिनै आफ्ना केही मोडलको मूल्य बढाइसकेको छ। त्यस्तै, अउडी इन्डियाले सन् २०२७ जनवरी १ देखि नयाँ मूल्य लागु गर्ने घोषणा गरेको छ।
टाटा मोटर्स प्यासेन्जर भेहिकल्सले आफ्नो सम्पूर्ण कार तथा एसयूभी रेन्जको मूल्य औसतमा ०.५ प्रतिशतसम्म बढाउने भएको छ। डिसेम्बरदेखि लागु हुने नयाँ मूल्यवृद्धि पेट्रोल, डिजेल तथा विद्युतीय गाडी सबैमा लागु हुनेछ।
कम्पनीले मोडल र भेरियन्टअनुसार मूल्य समायोजन फरक हुने जनाएको छ। अटोकार इन्डियाका अनुसार यसबाट ग्राहकले गाडीअनुसार २ हजार ३८४ देखि १४ हजार ६४५ रुपैयाँ भारुसम्म बढी तिर्नुपर्ने हुन सक्छ। टाटाले सन् २०२६ मा यसअघि जुलाई र सेप्टेम्बरमा पनि मूल्य बढाएको थियो। डिसेम्बरको मूल्यवृद्धि यो वर्षको तेस्रो पटकको हुनेछ।
हुन्डाई मोटर इन्डियाले पनि डिसेम्बर १ देखि आफ्ना केही कार तथा भेरियन्टको मूल्य बढाउने भएको छ। कम्पनीले अधिकतम ८ हजार रुपैयाँ भारुसम्म मूल्य बढाउने घोषणा गरेको हो। कुन मोडल र भेरियन्टको मूल्य कति बढ्ने भन्ने कम्पनीले खुलाएको छैन। बढ्दो उत्पादन लागतलाई मूल्यवृद्धिको मुख्य कारण बताइएको छ।
हुन्डाईले यसअघि सन् २०२६ को जनवरी, जुन र सेप्टेम्बरमा पनि मूल्य बढाएको थियो। डिसेम्बरको मूल्यवृद्धिसँगै यो वर्ष कम्पनीले चौथो पटक मूल्य समायोजन गर्न लागेको हो। भारतको सबैभन्दा ठूलो कार निर्माता मारुती सुजुकीले पनि सन् २०२६ मा चौथो पटक कारको मूल्य बढाएको छ।
कम्पनीले नोभेम्बर २२ देखि लागु हुने गरी केही मोडलको मूल्य औसतमा ०.३१ प्रतिशतले बढाएको हो। यद्यपि कुन मोडल र भेरियन्टको मूल्य कति बढेको हो भन्ने विस्तृत विवरण सार्वजनिक गरिएको छैन। मारुतीले यसअघि जुन, अगस्ट र सेप्टेम्बरमा पनि मूल्य बढाएको थियो। कम्पनीका अनुसार स्टिल, तामालगायत कच्चा पदार्थको मूल्य तथा अन्य उत्पादन लागत बढेकाले मूल्य समायोजन गर्नुपरेको हो।
अटोकार इन्डियाका अनुसार लागत बढ्दै जाँदा मारुतीको नाफामा समेत दबाब देखिएको छ। सन् २०२६ को दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २६.३६ प्रतिशत घटेर २ हजार ४६६.१ करोड भारतीय रुपैयाँमा सीमित भएको थियो।
जर्मन लक्जरी कार निर्माता अउडीले पनि सन् २०२७ जनवरी १ देखि भारतमा बिक्री हुने आफ्ना गाडीको मूल्य २ प्रतिशतसम्म बढाउने भएको छ। कम्पनीले मोडलअनुसार १ लाख ४ हजारदेखि ४ लाख ६८ हजार रुपैयाँ भारुसम्म मूल्य बढ्न सक्ने जनाएको छ। नयाँ मूल्यसूची भने जनवरीमा सार्वजनिक गरिनेछ।
अउडी इन्डियाका ब्रान्ड डाइरेक्टर बलवीर सिंह ढिल्लोले बढ्दो लागतका कारण मूल्य समायोजन गर्नुपरेको बताए। विशेषगरी स्टील, तामा, रबरलगायत कच्चा पदार्थको मूल्य बढ्दा सवारी उत्पादन लागतमा दबाब परेको कम्पनीहरुको भनाइ छ।










