विमानस्थलबाट दुई चिनियाँ महिला पक्राउ, सुनजस्तो देखिने पदार्थ बरामद

बिजमाण्डू
२०८३ मंसिर ९ गते ०९:५६ | Nov 25, 2026
विमानस्थलबाट दुई चिनियाँ महिला पक्राउ, सुनजस्तो देखिने पदार्थ बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित दुई जना चिनियाँ महिला पक्राउ परेका छन्। 

GBIME
Tata

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार मंसिर ८ गते राति क्याथे प्यासिफिक एयरलाइन्सको उडानमार्फत हङकङबाट काठमाडौं आएका उनीहरूलाई शंकास्पद गतिविधिको आधारमा जाँच गरिएको थियो।

भन्सार क्षेत्र पार गरेर बाहिर निस्कने क्रममा शरीरको संवेदनशील अंग तथा भित्री वस्त्रमा प्लास्टिकले बेरी लुकाइछिपाई ल्याएको अवस्थामा उनीहरुको साथमा ८ थान गोलाकार अर्धठोस पदार्थ बरामद गरिएको कार्यालयले जनाएको छ।

प्लास्टिकको र्यापसहित उक्त पदार्थको तौल २ केजी ३४८ ग्राम रहेको छ। पक्राउ पर्नेमा चीनको ग्वाङ्दोङ स्थायी वतन भएकी ४५ वर्षीया लिन लिना र ३५ वर्षीया लिन जिनपिङ रहेका छन्।

लिनाको साथबाट १,३४० ग्राम (५ थान) र जिनपिङको साथबाट १,००८ ग्राम (३ थान) पदार्थ बरामद गरिएको हो।  

दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ। थप कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा उनीहरुलाई बुझाइनेछ।