‘होम एन्ड अवे’ लिग गराउन पीपीपी मोडलमा बहस, सरकारले फ्रेन्चाइज संचालकसँग छलफल गर्ने

बिजमाण्डू
२०८३ मंसिर ७ गते १६:५३ | Nov 23, 2026
‘होम एन्ड अवे’ लिग गराउन पीपीपी मोडलमा बहस, सरकारले फ्रेन्चाइज संचालकसँग छलफल गर्ने

काठमाडौं । सरकारले होम एण्ड अवे मोडलमा खेलकुदलाई लैजान छलफल सुरु गरेको छ। खेलकुद पूर्वाधार विकास, रंगशाला निर्माण तथा स्तरोन्नति र ‘होम एन्ड अवे’ प्रणालीमा खेल संचालन गर्ने विषयमा शिक्षा तथा मन्त्रालयमा आज छलफल थियो।

GBIME
Tata

नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलकै दिन प्रधानमन्त्री बालेन शाहले होम एण्ड अवे लिगका लागि ८ वटा फ्लडलाइट सहितको रंगशाला निर्माणमा सरकार तयार रहेको बताएका थिए। हाल भारत भ्रमणका क्रममा पनि क्रिकेट लगायत खेलकुदको संरचना विकासमा सहकार्य गर्ने भारतीय पक्षले जनाएको छ।

यता सरकार नेपाल फुटबल लिग (एनएफएल) लाई पनि भव्यरुपमा अघि बढाउन सकारात्मक छ। आजको बैठकमा फुटबल भन्दा क्रिकेटको प्रविधि महँगो भए पनि यसको विस्तार गर्दै लैजानेबारे छलफल भएको छ।

छलफलमा रंगशाला निर्माणको लगानी मोडेल, लिज प्रक्रिया तथा प्राविधिक मापदण्डका विविध पक्षमाथि कुराकानी भएको थियो। सीमित बजेटबाट मैदान सम्याउने (ग्राउन्ड लेभलिङ) सहितको आधारभूत पूर्वाधार तयार गरेर सर्तसहित लिजमा हस्तान्तरण गर्ने वा निजी क्षेत्रलाई नै जग्गा लिजमा दिएर पूर्ण निर्माणको जिम्मा दिने विकल्पबारे कुरा भएको थियो।

छलफलको क्रममा मन्त्री सस्मित पोखरेलले सरकार र निजी क्षेत्रको साझेदारी (पीपीपी)बाटै खेलकुद पूर्वाधार विकासलाई गति दिन सकिने बताए।

‘हामीले सीमित बजेटबाटै भए पनि मैदान सम्याउनेजस्ता आधारभूत पूर्वाधार तयार गरिदिएर सरोकारवाला पक्षलाई लिजमा दिन सक्छौं। जसले गर्दा उहाँहरूलाई स्तरोन्नति गर्न सहज हुन्छ’, मन्त्री पोखरेलले भने, ‘अब यही हप्ताभित्र एनपीएलका सम्बन्धित टिमका सञ्चालकहरूसँग बसेर आधारभूत आवश्यकता बुझ्दै लिज सम्झौताको प्रक्रिया अघि बढाउँछौं।’

यसैगरी, एनपीएल छैटौँ संस्करणसम्म ‘होम एन्ड अवे’ ढाँचामा प्रतियोगिता संचालन गर्ने लक्ष्यको व्यावहारिक र प्राविधिक पक्षबारे समेत बैठकमा समीक्षा गरिएको थियो।