रोम। तलब वृद्धि, महँगी नियन्त्रण र सार्वजनिक सेवामा लगानीको माग गर्दै शुक्रबार युरोपका विभिन्न देशमा श्रमिक तथा विद्यार्थी सडकमा उत्रिएका छन्। देशव्यापी हडतालले इटालीमा विद्यालय, सार्वजनिक यातायात र स्वास्थ्य सेवासमेत प्रभावित भएका छन्।
इटालीमा ठूलो श्रमिक संगठन जनरल इटालियन कन्फेडरेसन अफ लेबर (सीजीआईएल) को आह्वानमा २४ घण्टे हडताल भएको हो। हडतालका कारण मिलान, टुरिन, रोम, नेपल्स र पालेर्मोसहित सयभन्दा बढी सहरमा प्रदर्शन भएका छन्। प्रदर्शनकारीले स्थिर तलब, बढ्दो जीवनयापन खर्च र कमजोर सार्वजनिक सेवाप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
श्रमिक आन्दोलनसँगै शुक्रबार अन्तर्राष्ट्रिय विद्यार्थी परिचालन दिवस पनि मनाइएको छ। त्यसक्रममा इटालीका ४५ भन्दा बढी सहरमा विद्यार्थीले प्रदर्शन गरेका छन्। उनीहरूले शिक्षामा सरकारी लगानी बढाउन, महँगी नियन्त्रण गर्न र आर्थिक असमानता घटाउने नीति ल्याउन माग गरेका छन्।
इटालीमा भएको आन्दोलन युरोपका अन्य देशमा फैलिएको श्रमिक तथा विद्यार्थी असन्तुष्टिको ठूलो लहरकै हिस्सा हो। क्रोएसियामा विद्यार्थीले कक्षा बहिष्कार गर्दै करिब एक दर्जन सहरमा प्रदर्शन गरेका छन्। उनीहरूले सैन्य खर्च बढाउनुको सट्टा शिक्षा, आवास र सार्वजनिक सेवामा लगानी गर्न सरकारसँग माग गरेका छन्।
अस्ट्रियाको भियना विश्वविद्यालयबाहिर पनि युवाहरूको नेतृत्वमा सयौँ मानिस भेला भएका थिए। उनीहरूले हतियार खरिदमा भन्दा शिक्षा क्षेत्रमा बढी बजेट विनियोजन गर्नुपर्ने माग राखेका थिए। प्रदर्शनका क्रममा अव्यवस्था भएको भन्दै प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरीले अश्रुग्यास छरेर केही प्रदर्शनकारीलाई पक्राउ गरेको जनाएको छ।
जर्मनीमा पनि शिक्षामा लगानी बढाउन र अनिवार्य सैनिक सेवा पुनः लागू गर्ने सम्भावनाको विरोधमा प्रदर्शन भएका छन्। अक्टोबर ३१ मा फ्रान्स र जर्मनीसहितका देशमा भएका प्रदर्शनमा हजारौँ मानिस सहभागी भएका थिए। त्यतिबेला केही सहरमा प्रदर्शन हिंसात्मक बनेका थिए।
देशअनुसार प्रदर्शनका माग फरक देखिए पनि युरोपभरि उठेका आवाजमा समानता छ। बढ्दो जीवनयापन खर्च, कमजोर सार्वजनिक सेवा, शिक्षामा अपर्याप्त लगानी र सरकारको खर्च प्राथमिकताप्रति नागरिकको असन्तुष्टि आन्दोलनमार्फत प्रकट भएको छ।
इटालीको हडताल सार्वजनिक र निजी दुवै क्षेत्रमा लागू भएको थियो। यसका कारण विभिन्न सहरमा सार्वजनिक यातायात सेवा कटौती तथा अवरुद्ध भएको छ। विद्यालय र केही स्वास्थ्य संस्थाको सेवा पनि प्रभावित भएको छ। हवाई यातायात क्षेत्रका श्रमिकको शुक्रबारका लागि घोषित हडताल भने रद्द गरिएको थियो। तर मिलान र भेनिस विमानस्थलका कर्मचारीले आइतबार छुट्टै हडताल गर्ने कार्यक्रम कायम राखेका छन्।
एकै दिन विभिन्न सहरमा प्रदर्शन हुन थालेपछि इटालीका सुरक्षा निकायले थप प्रहरी परिचालन गरेका थिए। सीजीआईएलको हडतालसँगै कोबासलगायत अन्य साना श्रमिक संगठनले पनि छुट्टै प्रदर्शन र जुलुस आयोजना गरेका थिए।
आन्दोलनले राजनीतिक रूपसमेत लिएको थियो। विपक्षी दलका नेताहरू प्रदर्शनमा सहभागी हुँदै प्रधानमन्त्री जर्जिया मेलोनी नेतृत्वको सरकारको आलोचनामा उत्रिएका थिए। उनीहरूले तलब वृद्धि, सामाजिक सुरक्षामा लगानी र सार्वजनिक सेवाको सुधारमा सरकारले पर्याप्त काम नगरेको आरोप लगाएका छन्।
रोममा आयोजित प्रदर्शनको समापन कार्यक्रममा सीजीआईएलका महासचिव माउरिजियो लान्दिनीले देशभरका प्रदर्शनमा १० लाखभन्दा बढी मानिस सहभागी भएको दाबी गरेका छन्। उनले आन्दोलनमा सबै पुस्ताका मानिस सडकमा उत्रिएको बताएका छन्।
‘सहरका चोकहरू भरिएका छन् र सबै पुस्ताका मानिस सडकमा छन्। यो विभाजन होइन, एकता प्रदर्शन गर्ने दिन हो,’ लान्दिनीले समर्थकहरूलाई सम्बोधन गर्दै भने।
प्रदर्शनकारीले शान्तिको पक्षमा आवाज उठाउँदै रोजगारी, सामाजिक कल्याण, विद्यालय र स्वास्थ्य सेवामा सरकारी लगानी बढाउन माग गरेका थिए। सरकारको खर्च प्राथमिकता परिवर्तन गरी नागरिकको जीवनस्तर र सार्वजनिक सेवाको सुधारलाई केन्द्रमा राख्नुपर्ने उनीहरूको साझा माग थियो। (एपी)










