काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई नेतृत्वबाट अलग गर्नुपर्ने बताएका नेताहरुमाथि निशाना साँधेका छन्।
उनले महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई, पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डे लगायत आफ्नो विरोधमा उत्रिएका नेताहरुलाई लक्षित गरी पार्टी छोड्न धम्की दिनेदेखि कारबाहीको चेतावनीसम्म दिएका छन्।
राष्ट्रिय कार्यकर्ता भेलामा बिहीबार सम्बोधनका क्रममा उनले गत चैतमा सरकारले आफूलाई पक्राउ गर्ने तयारी गरेको विषयमा दिएको अभिव्यक्तिलाई लिएर खासगरी सुरेन्द्र पाण्डेलाई लक्षित गर्दै फेरि एमाले भएर बस्ने? भनी प्रश्न गरेका छन्।

‘अचम्म लाग्यो मेरो गिरफ्तारीभन्दा २/३ दिनअघि एक जना आफूलाई मूर्धन्य नै ठान्ने व्यक्तिको एउटा इन्टरभिउ आयो टेलिभिजनमा। केपी ओलीलाई गिरफ्तार गर्दा कार्यकर्ता सडकमा ओर्लिन्छन् भन्ने हल्ला चलाएका छन्, यो केही पनि होइन, एक जना मान्छे पनि सडकमा उत्रिंदैन, केपी ओलीलाई समायो भने सबै खुशी हुन्छन्, कोही उत्रिनेवाला छैन, यो भ्रम फिंजाएका मात्र हुन्, के भन्या होला त्यो एमाले हुँ भन्ने मान्छेले, ‘ओलीले भने, ‘एमाले सडकमा जाला भनेर सरकार हच्किरहेको छ, तर सरकारलाई ढाडस दिन केही पनि हुँदैन, एक जना पनि सडकमा जाँदैन भन्या समात भन्या त हो नि। यति त देखिएको बुझिएको कुरा छ नि। यो पार्टी प्रवृत्ति होइन। फेरि एमाले भएर बस्ने?’

ओलीले पार्टीमा नेतृत्व हस्तान्तरणको विषय उठाउने नेताहरुमाथि पनि प्रहार गरेका छन्। उनले पार्टी महाधिवेशनले पारित गरेको विधान स्वीकार गर्नुको साटो नेतृत्व हस्तान्तरणको एकतारे नबजाउन भनेका छन्।
‘महाधिवेशनले संशोधन गर्या होइन र विधान? महाधिवेशनमा हामी थियौं होइन र? केही केही साथीले चित्त नबुझेर विपक्षमा भोट हाल्या होइन र? विपक्षमा भोट हालियो अत्यधिक संख्याले मानेन। महाधिवेशनको निर्णय सरक्क मानेर अर्को महाधिवेशनसम्म जानु परेन? बीचमा एकतारे बजाएर जहिले पनि र्याइँर्याइँ गरिरहने?,’ उनले भने, ‘केही चित्त नबुझेको भए कमिटीमा राख्न पाइयो। कमिटीमा राख्नै पाइएन भन्ने नक्कली गुनासो नगरौं। कमिटीमा राख्दा कसैले मुख थुन्या पनि छैन, कसैले आक्रमण गर्या पनि छैन।’

ओलीले खासगरी उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै पार्टीभित्रको असन्तुष्टि फेसबुकमार्फत पोखे अब कारबाही गर्ने चेतावनी दिए।
‘पार्टीभित्र छलफलको विषय नबनाउने र पार्टीबाहिर फेसबुकबाट विरोधीलाई मौका दिने, अवसर दिने अनि विरोधीको प्रशंसा पाएर गमक्क पर्ने, उफ्रिने। त्यो खालको विषय अनुशासनभित्र पर्दैन। मान्य हुन सक्दैन। त्यसलाई रोक्नुपर्छ। यदि अब पनि अनुशासन पालना हुँदैन भने त्यो कारबाहीको विषय हुन्छ। क्षमा दिन सकिंदैन,’ उनले भने।

ओलीले पार्टी महासचिव शंकर पोखरेललाई पनि बाँकी राखेनन्। उनले आफ्नो राजीनामा माग्नुको साटो डटेर काम गर्न नसके पोखरेललाई नै पद छोड्न भनेका छन्। उनले पार्टीमा अब सदस्यता लिएको मितिका आधारमा नभइ कामका आधारमा मूल्यांकन हुने बताए।
‘हाम्रा साथीहरु अप्ठेरो नमानीकन भन्नुहुन्छ। हिजो महासचिव कमरेडले पनि भन्नुभयो- हस्तान्तरण र पुस्तान्तरण भन्यौं हामीले तर हुनै सकेन। कोही पनि एउटा पोस्ट पाएपछि तल्लो पोस्टमा बस्न मान्दैन अनि कसरी हुन्छ पुस्तान्तरण र हस्तान्तरण? भगवानसँग छिटो खाली गरिदेउ भन्ने?,’ ओलीले भने, ‘काम गर्न सकिंदैन भने छोडिदिनुपर्छ। नयाँलाई ठाउँ दिनुपर्छ। दौडन सकिंदैन भने छोड्नुपर्छ त्यो मेरा लागि पनि हो अर्काका लागि पनि हो। काम गर्न नसके ठाउँ ओगटेर बस्नु हुँदैन।’









