दूधको मूल्य मंसिरभित्र बढाइने, लिटरमा कति बढाउने भन्ने विषयमा सहमति जुटाउन सकस

सरला सुवेदी
२०८३ मंसिर ३ गते १९:१५ | Nov 19, 2026
दूधको मूल्य मंसिरभित्र बढाइने, लिटरमा कति बढाउने भन्ने विषयमा सहमति जुटाउन सकस

काठमाडौं। दूधको मूल्य मंसिर महिनाभित्र बढाइने भएको छ। दाना, मकै लगायतको भाउ धेरै बढिसकेका कारण किसान घाटा थेग्न नसक्ने अवस्थामा पुगेको निष्कर्षसहित दूधको मूल्य मंसिरभित्र बढाइने भएको हो।

GBIME
Tata

मूल्य कति बढाउने भन्ने विषय भने टुंगो लागेको छैन। किसानहरु लिटरमा १५ रुपैयाँसम्म बढाउनुपर्ने पक्षमा छन्। तर, सरकार उपभोक्तालाई मार पर्ने भन्ने धेरै बढाउन नहुने पक्षमा छ। मूल्य कति बढाउने भन्ने विषयमा राष्ट्रिय दुग्ध विकास बोर्डले बिहीबार किसानका प्रतिनिधि र डेरी उद्योगीसँग छलफल गरेको छ।

छलफलमा किसानका प्रतिनिधिले लिटरमा १५ रुपैयाँसम्म बढाउनुपर्ने माग गरेका छन्। यस्तै डेरी उद्योगीले भने लिटरमा १० रुपैयाँ बढाउँदा उपयुक्त हुने सुझाव दिएका छन्।

बोर्डका निमित्त कार्यकारी निर्देशक डा. बालक चौधरीले दूधको मूल्य सक्दो चाँडो बढाउनका लागि आफूहरुले छलफललाई तीव्रता दिएको बताए।

‘मूल्य आफूखुशी बढाउनु राम्रो हुँदैन। यो निक्कै संवेदनशील विषय भएकाले सबै सरोकारवालाहरुको कुरा सुन्नुपर्छ। त्यही अनुसार आज हामीले किसानका प्रतिनिधि र डेरी उद्योगीको फिडब्याक लिएका छौं,’ चौधरीले बिजमाण्डूसँग भने, ‘मूल्य कति बढाउने भन्नेबारे सबैको एउटै मत छैन। नेगोसिएसन बाँकी छ। हामी यही महिनाभित्र बढाउनका लागि लागेका छौं।’

सरकारले पछिल्लोपटक २०७९ फागुन १९ गते दूधको मूल्य लिटरमा ९ रुपैयाँ १० पैसा बढाएको थियो। किसानले अहिले लिटरको ६८ रुपैयाँ पाउने गरेका छन्।

यो मूल्यले लागत नधान्ने भन्दै किसानले मंसिर १५ देखि लागू हुने गरी लिटरमा १५ रुपैयाँ भाउ बढाउन माग गरेका छन्। उनीहरुले दाना उत्पादनमा प्रयोग हुने मकै र भटमासको मूल्य एक महिनामै २० प्रतिशतसम्म बढेका कारण पशुपालनमा लागत बढेर घाटा थेग्न सक्ने अवस्था नरहेको भन्दै चाँडो निर्णय गर्न दबाब दिएका हुन्।

दाना उत्पादनमा प्रयोग हुने मकैको मूल्य प्रति किलो ३६ रुपैयाँबाट अहिले ५० रुपैयाँ पुगेको छ। त्यस्तै भटमासको मूल्य प्रति किलो ८५ रुपैयाँबाट बढेर १०० रुपैयाँ पुगेको छ।

तराई क्षेत्रका किसानले लागत थेग्न नसकेको भन्दै बढी मूल्य पाउने भएका कारण दूध भारतमा बेच्न थालेका छन्। जसका कारण आन्तरिक बजारमा अहिले दूधको आपूर्ति घटेको छ।

नेपाल डेरी उद्योग संघका निवर्तमान अध्यक्ष एवं नेपाल डेरीका प्रबन्ध निर्देशक अरनिको राजभण्डारीले दूधको मूल्य सक्दो चाँडो बढाउनुको विकल्प नरहेको बताए।

‘किसानले सधैं घाटा खाएर बेच्न सक्दैनन्। गाइभैंसी पाल्नका लागि चाहिने मकै, दाना लगायतको मूल्य बढिरहने तर किसानले दूध सस्तोमा दिइरहने भन्ने कुरा हुन सक्दैन। यही कारण सीमा क्षेत्रबाट दूध अहिले भारत जाने गरेको छ। त्यसको असर बजारमा अभाव देखिन थालिसकेको छ,’ उनले भने, ‘त्यसैले १० देखि १५ रुपैयाँ मूल्य बढाउनुपर्ने सुझाव आएकाले सरकारले अब चाँडै निर्णय गर्नुपर्छ।’

लिटरमा १० रुपैयाँ वृद्धि हुँदा प्रति प्याकेट ५ रुपैयाँ भाउ बढ्छ।

भारतका विभिन्न राज्यमा दूधको मूल्य गत अगस्टदेखि बढेको छ। कर्नाटकमा प्रति लिटर न्यूनतम ८ भारु बढेको छ। महाराष्ट्रको पुणेमा लिटरमा २ भारु र त्यही राज्यको मुम्बइमा सेप्टेम्बरदेखि ९ भारु बढेको छ। भारतमा दाना, घाँस, ढुवानी तथा प्याकेजिङको भाउ बढेको भन्दै दूधको मूल्य बढाइएको हो।

डेरी उद्योगीहरु किसानले मूल्य नपाएको अवस्थामा उत्पादन ह्वात्तै घटेर आफ्नो व्यवसाय नै संकटमा पर्ने भयका कारण भाउ बढाउनुपर्ने पक्षमा उभिएका हुन्।

नेपाल डेरी एसोसिएसनलेका अध्यक्ष प्रल्हाद दाहालले दूधको मूल्य लिटरमा १० रुपैयाँसम्म बढाउनु उपयुक्त हुने बताए। ‘दूधको मूल्य लिटरमा १० रुपैयाँ जति बढाउनु ठिक हुन्छ। ‘भारतको भन्दा धेरै महँगो बनाउँदा सीमावर्ती क्षेत्रबाट अवैध रूपमा दूध भित्रिएर यहाँका किसानको उत्पादन नबिक्ने जोखिम हुन्छ,’ उनले भने।

बोर्डका निमित्त कार्यकारी निर्देशक चौधरीले सबैको चित्त बुझ्ने गरी मूल्य बढाउने बताए। ‘दूधको मूल्य बढाउने कुरामा दुईमत छैन। तर, किसान र उद्योगीको मात्र कुरा सुनेर निर्णय गर्दा उपभोक्तालाई भार पर्छ। त्यसैले हामी सबैलाई चित्त बुझ्ने गरी प्रस्ताव तयार गर्ने पक्षमा छौं,’ उनले भने।

बोर्ड आफैंले दूधको मूल्य बढाउन सक्दैन। बोर्डको प्रस्तावमा कृषि मन्त्रालयले मूल्य वृद्धिको निर्णय गर्छ। चौधरीले सबै पक्षको कुरा सुनेर मूल्य कति बढाउने भन्ने प्रस्ताव तयार गर्न केही दिन लाग्ने बताए। ‘किसानले १५ गतेबाट लागू गर्ने गरी बढाउनुपर्छ भनेका छन्। १५ गतेको ठाउँमा २५ हुनसक्छ। तर मूल्य बढ्छ,’ उनले भने।

बोर्डले देशभर एउटै मूल्य निर्धारण गर्ने वा उत्पादन क्षेत्रअनुसार फरक मूल्य कायम गर्ने भन्ने विषयमा पनि सरोकारवालासँग सुझाव लिइरहेको छ।