काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले विश्वभर रहेका नेपाली समुदायको लगानी परिचालनका लागि संस्थागत र स्वदेशकै स्वामित्वमा रहने संयन्त्र विकास गर्नुपर्नेमा जोड दिएका छन्।
उनले बिहीबार काठमाडौंमा आयोजित ‘ग्लोबल करेन्ट्स, लोकल कम्पास : नेपालको आगामी पुस्ताको कूटनीति’ विषयक सेमिनारलाई सम्बोधन गर्दै वैदेशिक रोजगारी र मानव आवागमनलाई नेपालको कूटनीतिको महत्त्वपूर्ण आयामका रूपमा प्रस्तुत गरे।
उनले विदेशमा रहेका नेपाली श्रमिकको अधिकार र मर्यादाको संरक्षणमा मात्र सीमित नभई सीपमा आधारित साझेदारी तथा विश्वभर रहेका नेपाली समुदायको लगानी परिचालनका लागि संस्थागत र स्वदेशकै स्वामित्वमा रहने संयन्त्र विकास गर्नुपर्ने बताए।
परराष्ट्रमन्त्री खनालले तीव्र गतिमा परिवर्तन भइरहेको विश्व परिवेशमा नेपालको नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हित, राष्ट्रिय सम्पदा र देशको वास्तविकतामा आधारित हुनुपर्ने बताए।
परम्परागत रूपमा सीमित कूटनीतिलाई विस्तार गर्दै नागरिक समाज, निजी क्षेत्र, नवप्रवर्तक तथा विभिन्न विषयका विज्ञ र ज्ञान समुदायलाई समेट्ने सहकार्यमा आधारित कूटनीतिक अभ्यास अवलम्बन गर्नुपर्ने उनको भनाइ थियो।
मन्त्री खनालले नयाँ पुस्ताका कूटनीतिज्ञलाई प्रविधि र कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी ज्ञान तथा सीपले सुसज्जित बनाउनुपर्ने भन्दै एआईको सुशासन, साइबर सुरक्षा र तथ्याङ्कको सार्वभौमिकतालाई राष्ट्रिय सुरक्षाका प्रमुख प्राथमिकताका रूपमा लिनुपर्ने बताए।
जलवायु न्याय र स्वच्छ ऊर्जाको प्रवर्धनलाई नेपालको कूटनीतिक प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो। उनले हिमालय क्षेत्रलाई विश्वको ‘तेस्रो ध्रुव’का रूपमा संरक्षण गर्न वैज्ञानिक तथ्य र नैतिक पैरवीलाई एकसाथ अघि बढाउनुपर्ने तथा नेपालको स्वच्छ जलविद्युत् ऊर्जामार्फत क्षेत्रीय कार्बन उत्सर्जन न्यूनीकरणमा योगदान पुर्याउन सकिने बताए।









