टाटासँग सहकार्य गर्न होन्डा र हुन्डाई इच्छुक, गाडी उत्पादन र प्रविधिमा साझेदारीको छलफल

बिजमाण्डू
२०८३ मंसिर ३ गते १२:२३ | Nov 19, 2026
टाटासँग सहकार्य गर्न होन्डा र हुन्डाई इच्छुक, गाडी उत्पादन र प्रविधिमा साझेदारीको छलफल

काठमाडौं। भारतको ठूलो औद्योगिक समूह टाटा ग्रुपसँग सहकार्य गर्न विश्वका प्रमुख अटोमोबाइल कम्पनीले चासो देखाएका छन्।

GBIME
Tata

जापानी कम्पनी होन्डा मोटर र दक्षिण कोरियाली हुन्डाई मोटरले टाटा ग्रुपसँग सवारी उत्पादन, इन्जिनियरिङ र प्रविधिका क्षेत्रमा सहकार्यको सम्भावनाबारे छलफल अघि बढाएका हुन्।

पछिल्लो एक वर्षमा दुवै कम्पनीका उच्च व्यवस्थापले टाटा ग्रुपका अध्यक्ष एन चन्द्रशेखरनसँग भेटघाट गरेका छन्। सन् २०२५ मा चन्द्रशेखरनको जापान भ्रमणका क्रममा होन्डाका अध्यक्ष तोशिहिरो मिबे र अन्य वरिष्ठ अधिकारीले भेट गरेका थिए।

त्यसैगरी हुन्डाई मोटर ग्रुपका अध्यक्ष तथा सीईओ जोसे मुनोजले मुम्बईमा चन्द्रशेखरनसँग भेट गरेका हुन्। भेटलाई शिष्टाचार भनिए पनि सम्भावित व्यावसायिक सहकार्यका विषयमा छलफल भएको हुन सक्ने बताइएको छ।

होन्डाले टाटा ग्रुपअन्तर्गतका टाटा मोटर्स, टाटा अटोकम्प, ब्याट्री उत्पादक अग्रतास, टाटा टेक्नोलोजिज, टीसीएस र टाटा एल्क्सीका गतिविधिमा चासो देखाएको छ।

टीसीएस र टाटा टेक्नोलोजिजसँगको छलफल अघि बढिसकेको छ। तर, टाटा मोटर्ससँगको छलफल प्रारम्भिक चरणमै छ।

टाटा मोटर्सले उत्पादन गरेका गाडी, विशेषगरी विद्युतीय सवारीसाधन (इभी), भारतमा होन्डाको ब्रान्डमा बिक्री गर्न सकिने सम्भावनाबारे समेत छलफल भएको छ। तर, कुन मोडल उत्पादन गर्ने, आपूर्ति व्यवस्था कस्तो हुने र कहिलेदेखि बिक्री सुरु गर्ने भन्ने विषयमा सहमति भइसकेको छैन।

होन्डाले भारतलाई जापान र उत्तर अमेरिकासँगै आफ्नो प्रमुख तीन बजारमध्ये एक मानेको छ। कम्पनीले भारतकै लागि नयाँ गाडी विकास गरिरहेको छ, जुन सन् २०२८ मा सार्वजनिक गर्ने योजना छ।

टाटा मोटर्ससँग सहकार्य गर्न सके होन्डाले नयाँ गाडी विकासमा लाग्ने लागत घटाउनुका साथै कम समयमा बजारमा नयाँ मोडल ल्याउन सक्नेछ। अर्कातर्फ टाटा मोटर्सले आफ्नो उत्पादन क्षमता बढाएर गाडी विकासमा गरेको लगानीको प्रतिफल लिन सक्नेछ।

तर, टाटा मोटर्सले आफ्नै ब्रान्डका गाडीको उत्पादन बढाइरहेका बेला होन्डालाई कति उत्पादन क्षमता उपलब्ध गराउन सक्छ भन्ने विषयले पनि सम्भावित सम्झौतालाई प्रभाव पार्नेछ। होन्डा कार्स इन्डियाले यस्ता अड्कलबाजीमा टिप्पणी नगर्ने बताएको छ।

हुन्डाई मोटर ग्रुपले सन् २०२६ देखि २०३२ सम्म भारतमा १५.५ अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ।

यो लगानी उत्पादन क्षमता विस्तार, अनुसन्धान तथा विकास (आरएन्डडी), स्थानीय आपूर्तिकर्ता र भविष्यको मोबिलिटी व्यवसायमा केन्द्रित हुनेछ। यसका लागि हुन्डाईले भारतमा छुट्टै लगानी संस्था स्थापना गर्ने योजना पनि बनाएको छ। त्यो संस्थाले स्थानीय साझेदार पहिचान गरी रणनीतिक सहकार्य अघि बढाउनेछ।

टाटा ग्रुपसँग सवारी उत्पादनदेखि अटो पार्ट्स, ब्याट्री, इन्जिनियरिङ र सफ्टवेयरसम्मको क्षमता छ। टाटा मोटर्सले गाडी उत्पादन गर्छ भने टाटा अटोकम्पले पार्टपुर्जा, अग्रतासले ब्याट्री, टाटा टेक्नोलोजिजले इन्जिनियरिङ तथा टीसीएस र टाटा एल्क्सीले सफ्टवेयर र डिजिटल प्रविधिमा काम गर्छन्।

होन्डा र टाटाबीच ४० वर्षअघि पनि भएको थियो सहकार्यको प्रयास

टाटा र होन्डाबीच चार दशकअघि पनि सहकार्यको प्रयास भएको थियो। सन् १९८५ मै टाटाले होन्डासँग कार उत्पादनका लागि साझेदारीको प्रयास गरेको थियो।

टाटा सेन्ट्रल आर्काइभ्सका अभिलेखअनुसार सन् १९८५ जुलाई १० मा होन्डाका तत्कालीन अध्यक्ष तादाशी कुमे र टेल्कोका सुमन्त मूलगावकरले सम्झौतामा हस्ताक्षर गरेका थिए। तर, परियोजना कार्यान्वयनमा आउन सकेन।

जिपले टाटाको प्लेटफर्म प्रयोग गरेर नयाँ गाडी बनाउने

होन्डा र हुन्डाईसँग छलफल चलिरहेका बेला अमेरिकी अटोमोबाइल समूह स्टेलान्टिसले भने टाटा मोटर्ससँग ठोस सहकार्य सम्झौता गरिसकेको छ।

स्टेलान्टिस, टाटा मोटर्स प्यासेन्जर भेहिकल्स र टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटीबीच सवारीसाधनको प्रविधि तथा उत्पादन विकासका लागि सम्झौता भएको छ।

सम्झौताअनुसार स्टेलान्टिसले टाटा मोटर्सको प्लेटफर्म र सवारी प्रविधि प्रयोग गर्दै आफ्नै इन्जिनियरिङ क्षमतासमेत जोडेर ५० भन्दा बढी बजारका लागि गाडी विकास गर्नेछ।

ती गाडी भारतमा रहेको फियाट इन्डिया अटोमोबाइल्समार्फत उत्पादन हुनेछन्। यो कम्पनी स्टेलान्टिस र टाटा मोटर्सको ५०/५० प्रतिशत स्वामित्वको संयुक्त लगानी कम्पनी हो।

स्टेलान्टिसका तत्कालीन एसिया-प्यासिफिक प्रमुख ग्रेगोइर ओलिभियरले टाटा मोटर्सको प्लेटफर्म प्रयोग गरेर नयाँ जिप गाडी विकास गरिने बताएका थिए। गाडी भारतमै विकास र उत्पादन गरेर विश्व बजारमा बिक्री गर्ने योजना छ।

यो साझेदारीअन्तर्गत टाटा सिएराको एयरगोस प्लेटफर्ममा आधारित नयाँ जिप एसयूभी विकास भइरहेको छ। पहिलो उत्पादन सन् २०२८ को पहिलो अर्धवार्षिक अवधिमा आउने सम्भावना छ।

यसले भारतीय अटोमोबाइल उद्योगमा टाटा ग्रुपको उत्पादन तथा प्रविधि क्षमताप्रति अन्तर्राष्ट्रिय कम्पनीहरुको आकर्षण बढ्दै गएको संकेत गर्छ।