फुड ब्लगिङदेखि आफ्नै ब्रान्डसम्म, ‘द्‍य किपा’ले लिँदैछ व्यावसायिक आकार

बिजमाण्डू
२०८३ कात्तिक ३० गते ०६:०० | Nov 16, 2026
फुड ब्लगिङदेखि आफ्नै ब्रान्डसम्म, ‘द्‍य किपा’ले लिँदैछ व्यावसायिक आकार

काठमाडौं। सन् २०१९ मा इन्स्टाग्रामको क्रेज काठमाडौंमा फैलिँदै थियो। त्यही बेला युरिशा महर्जन र रउस राय रेस्टुरेन्ट घुम्न थाले। उनीहरू खानाको फोटो खिचेर इन्स्टाको फिडमा पोस्ट गर्थे। सन् २०२० मा रिल्स आएपछि भिडियो पनि बनाउन थाले।

GBIME
Tata

उनीहरूको कन्टेन्टमा भ्यूज राम्रै जान्थ्यो। त्यही भिडियो हेर्दै रेस्टुरेन्टमा पुग्नेहरू बढे। कन्टेन्टकै कारण ‘फुटफल’ बढेको देखेका उनीहरूले सोचे, ‘अरुको व्यवसायको प्रचार मात्र किन? आफ्नै व्यवसाय किन नगर्ने?’

युरिशा र रउस बाल्यकालदेखिका साथी हुन्। फुड ब्लगिङ गर्दैगर्दा थरीथरीका बिजनेस आइडिया नआएको पनि होइन। सन् २०२६ को मे महिनामा उनीहरूले ‘द्‍य किपा’ सुरु गरे। नेपालभाषामा ’द्‍य’ भनेको भगवान्। ’किपा’ भनेको तस्विर।

काठमाडौंका गल्लीमा हुर्किएका उनीहरूका लागि देवदेवीका मूर्ति र मन्दिर नौलो होइन। दरबार क्षेत्र वरिपरिमा तिनै सम्पदा र संस्कृतिलाई विभिन्न स्वरुपमा व्यावसायीकरण गरिएको छ। मूर्ति, मण्डला लगायत बिक्री भएको उनीहरूले देखेकै हो। तर, बजारका धेरैजसो सामान धातुका थिए र महँगा पनि। सस्तो विकल्प नभएको महसुस गरे। उनीहरूले यही कुरामा अवसर देखे।

काठ, माटो र डेन्टल स्टोन प्रयोग गरेर उनीहरूले मूर्ति र मण्डला बनाउन सुरु गरे। धातुको भन्दा यसको मूल्य कम पर्ने उनीहरू बताउँछन्।

‘सुरुमा श्वेत भैरवको तीनवटा मूर्ति मात्र बनाएका थियौं। १० दिनमै बिक्री भयो। त्यस्तो होला भन्ने सोचेका थिएनौं,’ युरिशाले भनिन्, ‘भिडियो पोस्ट गरेको ५/६ दिनमै पहिलो अर्डर आयो।’

फुड ब्लगिङको सात वर्षे यात्रा

द्‍य किपा एकै रातमा जन्मिएको ‘आइडिया’ भने होइन। यसको जगमा यी दुई साथीको ७ वर्ष लामो सामाजिक संजालको अनुभव पनि हो।

इन्स्टाग्राममा रिल्स र टिकटकको चलन थिएन। दुवैलाई फोटोग्राफीको रहर थियो। कतै खाना खान गए परिकारको फोटो खिचेर इन्स्टाग्राम र फेसबुकमा पोस्ट गरेर फुड ब्लगिङ सुरु भएको थियो।

कोभिडअघि उनीहरूले पहिलोपटक आँगन स्विट्सबाट सहकार्यको प्रस्ताव पाए। त्यसअघि कुनै ब्रान्डसँग काम गरेका थिएनन्।

‘टेबलभरि खाना राखिएको थियो। एउटा फोटो खिचेर पोस्ट गर्नु मात्र काम थियो,’ युरिशाले सुनाइन्, ‘त्यतिबेला सहकार्य पाउनु नै ठूलो कुरा लाग्थ्यो। पैसा लिने सोचसमेत थिएन। खाना खाएर पनि पैसा कसरी लिने?’ भन्ने लाग्थ्यो।

तर, कन्टेन्ट क्रिएसनको संसार बढ्लिँदै गयो। ब्लगिङ गर्दै हिँडेकाहरू कन्टेन्ट क्रिएटर बने, इन्फ्लुएन्सर बने। अनि समयसँगै उनीहरूले बुझे – कन्टेन्ट बनाउन समय, मेहनत र सिर्जनशीलता लाग्छ। त्यसको मूल्य हुन्छ।

उनीहरूको पहिलो कमाइको किस्सा पनि निकै रोचक छ। एउटा एपमार्फत ककटेलको प्रचार गर्ने काम पाएका थिए उनीहरूले। त्यसका लागि एक हजार रुपैयाँ दिने सहमति भएको थियो। तर, रकम भने भ्युजका आधारमा दिने तय भएको थियो।

‘ककटेलको भिडियो भएकोले होला त्यो सुरुमा खासै दर्शकको रोजाइमा परेन। हामीले २०० रुपैयाँ पायौं,’ युरिशा भन्छिन्।

त्यही सानो कमाइबाट सुरु भएको यात्रा अहिले निकै अगाडि बढेको छ। कन्टेन्ट र भिडियो हरेर उनीहरू रकम ‘चार्ज’ गर्छन्। सबै प्लेटफर्ममा जोड्दा ९० हजारभन्दा बढी फलोअर्स छन्।

यो अवधिमा उनीहरूले धेरै कुरा सिके। भिडियो कसरी सुरु गर्ने, पहिलो केही सेकेन्डमै दर्शकलाई कसरी तान्ने, कस्तो दृश्य राख्ने, कुन शैलीमा बढी प्रतिक्रिया आउँछ भन्ने बुझे। यही अनुभवलाई उनीहरुले द्य:किपाको मार्केटिङमा प्रयोग गरिरहेका छन्।

‘हाकुपतासी र नेवारी गहना लगाएर पहिलो भिडियो बनाएका थियौं। श्वेत भैरवको मूर्ति अघि उभिएर बनाएको भिडियो बिस्तारै भाइरल भयो। त्यही मूर्ति अहिले सबैभन्दा धेरै बिक्री हुन्छ,’ युरिशाले भनिन्।

हालसम्म  श्वेत भैरवको मूर्ति भएको किपामात्रै करिब २०० थान बिक्री भइसकेको रउस बताउँछन्।

‘सबै गरेर ५ महिनामा ८५० भन्दा बढी थान बिक्री भयो,’ उनले भने।

रउसका अनुसार पछिल्लो ५ महिनामै १० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। उनीहरूको उत्पादनको सुरुवाती मूल्य १ हजार ४०० रुपैयाँ छ। मूर्ति र आकार हेरेर १५ हजार रुपैयाँभन्दा बढीसम्मका छन्।

उनीहरूले अहिले श्वेत भैरवसँगै, पञ्च बुद्ध, जनबहा: द्‍य (सेतो मछिन्द्रनाथ), पलाञ्चोक भगवती, जालीमा रहेक श्वेत भैरव आदिको मूर्तिहरू बनाएर बिक्री गरिरहेका छन्।

रउसका अनुसार एउटा मूर्ति बनाउन करिब ३ दिन लाग्छ। एक ब्याचमा करिब ८ थान बन्ने गरेको छ। करिब १२ जनाको टिमले अहिले मिलेर मूर्ति बनाउने काम गरिरहेको छ। सबै मूर्ति एकै स्वरुपका हुन् भनेर ‘मास्टर मोल्ड’ प्रयोग गरिन्छ।

‘हरेक चरणपछि सुकाउन कुर्नुपर्छ। वर्षामा झन् ढिलो हुन्छ। यसमा अलि धैर्य चाहिने रहेछ,’ युरिशा भन्छिन् भने।

उनीहरूले बल्क अर्डर आएपछि मात्र ठूलो संख्यामा उत्पादन गर्ने गरेका छन्। सानो मूर्ति भने अगाडि नै बनाएर राख्छन्। गएको लक्ष्मी पूजालाई लक्षित गरेर उनीहरूले लक्ष्मी र गणेश सेट लन्च गरेका थिए। इन्द्रजात्राअघि पनि त्यसै अनुसार प्रचार गरेका थिए।

‘एकैचोटी धेरै बनाउने रिस्क लिएका छैनौं,’ उनीहरू भन्छन्।

बाहिरको बजार, भित्रै भेटियो

सुरुवातमा ‘रिस्क’ लिएर थोरैथोरै रकम जम्मा गरेर उनीहरूले टार्गेट गरेको बजार भने विदेश थियो। तर, ढुंगा खोज्दा देवता भेटियो! उनीहरूले सोचेको बजार स्वेदशमै भेटियो।

‘बाहिर विदेशमा बस्ने नेपाली र संस्कृतिप्रेमी धेरै छन्। सुरुमा उहाँहरूलाई लक्षित गरेका थियौं। बजार यतै भेटायौं। यहीँ ग्राहक भेटिए,’ युरिशा भन्छिन्।

त्यस्तै, विदेशमा बस्ने छोराछोरी र दिदीभाइले नेपालका आमाबुबालाई उपहार पठाउन थालेको उनले सुनाइन्। अहिले विदेशबाट पनि द्‍य किपाको अर्डर आउन थालेको छ। काठमाडौंबाहिरबाट पनि अर्डर आउने गरेको छ।

‘ग्राहक यहीको समुदायमा मात्र सीमित छैनन्। साथीभाइ र परिवारले सुरुदेखि साथ दिएका छन्। कुनै नकारात्मक प्रतिक्रिया आएको छैन। केही कलाकार साथीले नयाँ उत्पादन सँगै बनाउने इच्छा पनि देखाएका छन्,’ रउसले सुनाए।

अबको बाटो

वसन्तपुरका दुई/तीन पसलमा उनीहरूका मूर्ति पुगिसकेका छन्। अब भने उनीहरूले आफ्नै स्टोर खोल्ने योजना बनाएका छन्। पर्यटकलाई केन्द्रित गरेर व्यवसाय विस्तार गर्ने लक्ष्य पनि उनीहरूको छ।

उनीहरूलाई अहिले कर्पोरेट क्षेत्रबाट पनि अर्डर आउने गरेको छ। त्यसैले आफ्ना उत्पादनको वनावट र विस्तारबारे पनि उनीहरूले काम गरिरहेका छन्।

विदेश जानु उनीहरूका लागि अन्तिम विकल्प हो। नेपालमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास यही यात्राले दिएको उनीहरू बताउँछन्।

कक्षा एकदेखिको मित्रता अहिले उद्यमशीलतामा बदलिएकोमा उनीहरू खुसी सुनिए। त्यसैले अहिले उनीहरूका धेरैजसो कुराकानी ‘अब के गर्ने’ भन्ने छलफलमै बित्छ।

‘बजार सानो भए पनि यही गर्‍यो भने ठूलै हुन्छ। अवसर निकाल्न मात्र गाह्रो हो,’ उनीहरू भन्छन्।