चितवनलाई हराउँदै कर्णालीको टुंगियो लिग यात्रा, सानदार सुरुवात तर प्लेअफ पुग्न असफल

बिजमाण्डू
२०८३ कात्तिक २९ गते १६:३४ | Nov 15, 2026
चितवनलाई हराउँदै कर्णालीको टुंगियो लिग यात्रा, सानदार सुरुवात तर प्लेअफ पुग्न असफल

काठमाडौं। कर्णाली याक्सले चितवन राइनोजलाई हराएको छ। नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत लिग चरणको अन्तिम दिनको खेलमा कर्णालीले चितवनलाई २४ रनले हराएको हो।

GBIME
Tata

चितवनलाई हराए पनि कर्णालीको यो जित सान्त्वनामात्रै हुनेछ। यसअघि नै कर्णाली प्रतियोगिताबाट बाहिरिसकेको छ भने चितवन प्लेअफ पुगिसकेको छ। यसैकारण आज चितवनले टोलीमा ५ वटा परिवर्तन गरेर मैदान उत्रिएको थियो।

लिगमा सुरुका दुई खेलमा जित निकाल्दै प्रभावशाली सुरुवात गरेको कर्णालीको त्यसपछिको प्रदर्शन निराशाजनक रह्यो। त्यसपछिका चार खेलमा भने कर्णाली लगातार पराजित हुँदा प्लेअफ पुग्न असफल भयो।

आज टस जितेर ब्याटिङमा उत्रिएको कर्णालीले ८ विकेट गुमाएर १५३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको चितवन १९.१ ओभरमा १२९ रन बनाएर अलआउट भयो।

चितवनका लागि उस्मा मीरले सर्वाधिक अविजित २८ रन बनाउँदा कमिल मिश्राले २५ तथा कुशल मल्लले १८ रन बनाए।

बलिङमा हुसैन तलतले ३, मार्क वाट र पवन सर्राफले समान २ तथा सोमपाल कामीले १ विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाएको थियो।

यसक्रममा कर्णालीका हुसैन तलतले अर्धशतकीय इनिङ्स खेल्दै सर्वाधिक अविजित ५१ रन बनाउँदा अरिफुल इस्लामले ३५ तथा गुल्सन झाले १८ रनको योगदान दिए।

बलिङमा कमलसिंह ऐरी, सलाउद्दीन खान र उस्मा मीरले समान २ विकेट लिँदा रिजन ढकाल र सिकन्दर राजाले समान १ विकेट लिए।