बफेटले नेतृत्व छाडेपछि बर्कशायरको नाफामा धक्का, तीन महिनामै २८% घट्यो खुद नाफा

बिजमाण्डू
२०८३ कात्तिक २२ गते १०:२० | Nov 8, 2026
बफेटले नेतृत्व छाडेपछि बर्कशायरको नाफामा धक्का, तीन महिनामै २८% घट्यो खुद नाफा
बफेट र सीइओ ग्रेग।


अमेरिकी अर्बपति लगानीकर्ता वारेन बफेटले स्थापना गरेको इन्भेस्टमेन्ट कम्पनी बर्कशायर ह्याथवेको खुद नाफा सन् २०२६ को तेस्रो त्रैमासमा २८ प्रतिशतभन्दा बढीले घटेको छ। कम्पनीले आफ्नै सेयर खरिदमा ९ अर्ब ६० करोड डलर खर्च गरे पनि बीमा व्यवसायको कमजोर प्रदर्शन र लगानीको मूल्यमा आएको परिवर्तनले नाफा घटाएको हो।

GBIME
Tata

बर्कशायरको नगद सञ्चिति भने बढेर ३ खर्ब ७७ अर्ब ४० करोड डलर पुगेको छ। जुन अघिल्लो जुनको अन्त्यमा रहेको ३ खर्ब ६५ अर्ब ५० करोड डलरभन्दा बढी हो। कम्पनीको नगद सञ्चिति बढ्नुले ठूलो लगानीका अवसरको प्रतीक्षामा रहेको संकेत गर्छ।

शनिबार सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले तेस्रो त्रैमासमा २२ अर्ब १० करोड डलर खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा ३० अर्ब ८० करोड डलर थियो। लगानीको मूल्यमा हुने उतारचढावसमेत समेटिने खुद नाफा २८ प्रतिशतभन्दा बढीले घटेको हो।

कम्पनीले लगानीको मूल्यमा हुने परिवर्तनलाई अलग राखेर हेर्ने सञ्चालन नाफा पनि झन्डै ६ प्रतिशत घटेर १२ अर्ब ७० करोड डलरमा सीमित भएको छ। अघिल्लो वर्षको तेस्रो त्रैमासमा यस्तो नाफा १३ अर्ब ४८ करोड ५० लाख डलर थियो।

कम्पनीको बीमा व्यवसायमा आएको कमजोरीले नाफा घटाउन ठूलो भूमिका खेलेको छ। विशेषगरी बर्कशायरको प्रमुख बीमा कम्पनी ‘गाइको’को अन्डरराइटिङ नाफा १ अर्ब ७७ करोड डलरबाट घटेर ९८ करोड २० लाख डलरमा झरेको छ। बीमा प्रिमियम घट्दै जानु र दाबी भुक्तानीको औसत लागत बढ्नुले कम्पनीलाई दबाब परेको विश्लेषकहरूको भनाइ छ।

ग्राहक आकर्षित गर्न जिकोले विज्ञापनमा लगानी बढाएकाले पनि तत्कालीन नाफामा असर परेको लगानीकर्ता क्रिस बलार्डको भनाइ छ। नयाँ बीमा पोलिसी बिक्री आक्रामक बनाउँदा सुरुवाती चरणमा बीमा कम्पनीको नाफामा दबाब पर्ने उनको विश्लेषण छ।

यता, बफेटले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी ग्रेग एबेललाई हस्तान्तरण गरेपछि कम्पनीको नेतृत्व परिवर्तन भइसकेको छ। बफेटले जनवरीमा सीईओ पद छाडेका थिए भने सेप्टेम्बरमा अध्यक्षको जिम्मेवारीसमेत त्यागेका थिए। एबेलले लामो समयदेखि हेर्दै आएका उत्पादन, ऊर्जा र रेलमार्ग व्यवसायको प्रदर्शन भने तुलनात्मक रूपमा राम्रो देखिएको विश्लेषकहरूको भनाइ छ।

कम्पनीको सेयर मूल्य बढेर प्रतिक्लास ए ८ लाख ७८ हजार डलर नाघेकाले सेयर पुनः खरिद कार्यक्रम भने हाल रोकिएको हुन सक्ने अनुमान गरिएको छ।