मिलरको अन्तिम ओभरको चार छक्काले टारेन कर्णालीको हार, सुदूरपश्चिम विजयी

बिजमाण्डू
२०८३ कात्तिक २० गते १६:२८ | Nov 6, 2026
मिलरको अन्तिम ओभरको चार छक्काले टारेन कर्णालीको हार, सुदूरपश्चिम विजयी
क्रिजमा कर्णालीका सोमपाल कामी र डेभिड मिलर।


काठमाडौं। सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई हराएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सम्पन्न पहिलो खेलमा सुदूरपश्चिमले कर्णालीलाई ३९ रनले हराएको हो।

GBIME
Tata

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कर्णाली डेभिड मिलरको विस्फोटक ब्याटिङको वावजुद १३७ रनमा समेटिएको हो।

डेब्यु खेलमै सानदार प्रदर्शन गरेका डेभिड मिलर

सुदूरपश्चिमले दिएको लक्ष्य पछ्याउने क्रममा आजै एनपीएल डेब्यु गरेका ब्याटर डेभिड मिलरले सर्वाधिक अविजित ९३ रनको योगदान दिए। उनले अन्तिम ओभरमा मात्रै चार छक्काको सहायतामा २५ रन बनाए। उनले ५५ बलमा ५ चौका र ७ छक्का प्रहार गरे पनि टोलीलाई लक्ष्यसम्म पुर्‍याउन सकेनन। उनी बाहेक १८ रन बनाएका दीपक डुम्रेले मात्रै दोहोरो अंकको रन जोडे।

विकेट सेलिब्रेसनमा सुदूरपश्चिमका खेलाडी।

कर्णालीलाई रोक्न सुदूरपश्चिमका स्कट कुगेलेइनले सर्वाधिक २ विकेट लिँदा दीपेन्द्रसिंह ऐरी, हेमन्त धामी, अभिनास बोहरा, अनिल खरेल र थारिन्दु रत्नायकेले समान १ विकेट लिए।

सुदूरपश्चिमको ब्याटिङ।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो।

कर्णालीको विकेट सेलिब्रेसन

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सैफ जैब र विनोद भण्डारीले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। भण्डारी २७ रन बनाएर रन आउट हुँदा जैबले सर्वाधिक ३५ रन बनाए। त्यस्तै, ब्राण्डन म्याकमुलनले २४, इशान पाण्डेले २३ तथा थारिन्दु रत्नाइकेले अविजित २२ रन बनाए।

ब्याटिङमा सुदूरपश्चिम।

बलिङमा कर्णालीका मार्क वाटले २ विकेट लिँदा नन्दन यादव, हुसैन तलत र सूर्य तामाङले समान १ विकेट लिए।

विकेट सेलिब्रेट गर्दै कर्णालीका खेलाडी

जितसँगै ५ खेलबाट ६ अंक बनाएको सुदूरपश्चिम दोस्रो स्थानमा उक्लिएको छ। ४ खेलबाट ४ अंक बनाएको कर्णाली पाँचौँ स्थानमा झरेको छ। आजै चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्नेछन्।