काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन्। सभामुख अर्यालले शुक्रबार शीतल निवास पुगेर राष्ट्रपति पौडेसँग भेट गरेका हुन्।
पौडेल र अर्यालबीच समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
सभामुख अर्यालले संघीय संसद्ले आयोजना गर्न लागेको अन्तर व्यवस्थापिका संघ (आईपीयू)अन्तर्गतको दिगो विकाससम्बन्धी स्थायी समितिको एसियाप्रशान्त क्षेत्रीय सम्मेलनबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका छन्।
सभामुखको सचिवालयका अनुसार भेटमा संसद् अधिवेशन आह्वान तथा संसद्लाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा समेत छलफल भएको छ।
यसैगरी, सातवटै प्रदेशका सभामुख तथा उपसभामुखसहित प्रदेशसभाका पदाधिकारीहरूसँग सम्माननीय राष्ट्रपति र सभामुखबीच सामूहिक भेटघाट तथा छलफल गर्ने योजनाका विषयमा पनि सभामुख अर्यालले जानकारी गराउनुभयो।
राष्ट्रपति पौडेलले संसद्मा जति धेरै बहस र छलफल भयो लोकतन्त्र त्यति नै बलियो हुने बताए। उनले संसद्मा हुने विचार विमर्शले लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने उल्लेख गर्दै सरकारका कामकारबाहीका विषयमा समेत चासो राखेका छन्।










