काठमाडौं। भारतीय विदेश सचिव बिक्रम मिश्रैले राजनीतिक भेटघाट थालेका छन्। उनले बुधबार बिहान नेपाल आएलगत्तै राजनीतिक भेटघाट थालेका हुन्।
सुरुमा परराष्ट्रसचिव अमृतबहादुर राईसँग द्विपक्षीय छलफल गरेका मिश्रीले त्यसपछि परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल-भारत सम्बन्ध थप सुदृढ बनाउने लगायत विषयमा कुराकानी भएको मन्त्री खनालको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारीको सिलसिलामा नेपाल आएका मिश्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पनि भेटवार्ता गर्ने तालिका रहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताएका छन्। मिश्रीले प्रधानमन्त्री बालेन र सत्तारुढ रास्वपा सभापति रवि लामिछानेसँग पनि भेट्ने बताइएको छ। उनी बिहीबार फर्किनेछन्।
बालेनले यसअघि भेटका लागि समय दिन नमानेपछि मिश्रीको नेपाल भ्रमण अन्तिम समयमा रोकिएको थियो।









