काठमाडौं। दक्षिण अफ्रिकाका अनुभवी ब्याटर डेविड मिलर नेपाल आइपुगेका छन्। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न उनी बुधबार बिहान काठमाडौं आइपुगेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका मिलरलाई कर्णाली याक्स स्पोर्ट्स प्रालिका प्रतिनिधिले स्वागत गरेका थिए। कर्णाली याक्सले उनलाई यस सिजनका लागि टोलीमा अनुबन्ध गरेको हो।
३७ वर्षीय बायाँ हाते मध्यक्रमका ब्याटर मिलर विश्व क्रिकेटका परिचित नाम हुन्। उनले दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीसँगै विश्वका विभिन्न फ्रेन्चाइज लिगमा आफ्नो क्षमता प्रमाणित गरिसकेका छन्।
मिलरले भारतको इन्डियन प्रिमियर लिग (आइपीएल), अस्ट्रेलियाको बिगबास लिग र पाकिस्तान सुपर लिग लगायत लिग खेलिसकेका छन्। आइपीएलमा उनले दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किङ्स इलेभेन पञ्जाब र गुजरात टाइटन्सको प्रतिनिधित्व गरेका थिए।

सन् २०२२ मा गुजरात टाइटन्सले पहिलो पटक आइपीएलको उपाधि जित्दा मिलर टोलीका महत्त्वपूर्ण सदस्य थिए। उनको आक्रामक ब्याटिङले टोलीको सफलतामा ठूलो भूमिका खेलेको थियो।
अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा पनि मिलरको प्रदर्शन प्रभावशाली छ। उनले दक्षिण अफ्रिकाका लागि १४० टी-२० अन्तर्राष्ट्रिय खेलमा २ हजार ८०४ रन बनाएका छन्।
सो क्रममा उनले २ शतक र ९ अर्धशतक प्रहार गरेका छन्। उनले भारत र बंगलादेशविरुद्ध टी-२० अन्तर्राष्ट्रिय शतक बनाएका हुन्।
समग्र टी-२० क्रिकेटमा भने मिलरको अनुभव अझ विशाल छ। उनले ५८४ खेलमा १२ हजार ४३५ रन बनाइसकेका छन्। यसक्रममा ४ शतक र ५३ अर्धशतक प्रहार गरेका छन्।

मिलर उनको विस्फोटक ब्याटिङका लागि परिचित छन्। उनले सन् २०१७ मा बंगलादेशविरुद्धको टी-२० अन्तर्राष्ट्रिय खेलमा ३५ बलमै शतक पूरा गरेका थिए।
त्यस्तै, आइपीएलमा किङ्स इलेभेन पञ्जाबबाट खेल्दै रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध ३८ बलमा शतक प्रहार गरेका थिए।
मिलरको आगमनले कर्णाली याक्सको ब्याटिङ थप बलियो हुने अपेक्षा गरिएको छ। उनको अनुभव र आक्रामक शैलीले टोलीलाई महत्त्वपूर्ण खेलमा फाइदा पुग्ने विश्वास गरिएको छ।
कर्णाली याक्स स्पोर्ट्स प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले मिलरको आगमनले नेपाली क्रिकेटसँगै पर्यटन प्रवर्धनमा पनि योगदान पुग्ने बताएका छन्। विश्व क्रिकेटमा स्थापित खेलाडी नेपाल आउनुले अन्तर्राष्ट्रिय स्तरमा एनपीएलको आकर्षण बढाउने उनको विश्वास छ।

कात्तिक ९ गते सुरु भएको एनपीएलमा कर्णाली याक्सले हालसम्म ३ खेल खेलेको छ। टोलीले दुई खेलमा जित निकालेको छ भने एक खेलमा हार बेहोरेको छ।
कर्णालीले पहिलो खेलमा जनकपुरलाई १९ रनले पराजित गरेको थियो। दोस्रो खेलमा विराटनगरलाई ४ विकेटले हराएको थियो। तर, तेस्रो खेलमा काठमाडौं गोर्खाजसँग ४ विकेटले पराजित भयो।
अब कर्णालीले शुक्रबार सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ। उक्त खेलमा मिलरले कर्णालीको जर्सीमा मैदान उत्रिने अपेक्षा गरिएको छ।
उनको आगमनसँगै कर्णालीको ब्याटिङ लाइनअप थप मजबुत बन्ने देखिएको छ।









