नदी नियन्त्रणमा ३४.९ प्रतिशत प्रगति, पहिलो त्रैमासमा १४ करोड ७० लाख रुपैयाँ खर्च

बिजमाण्डू
२०८३ कात्तिक १७ गते १०:२७ | Nov 3, 2026
नदी नियन्त्रणमा ३४.९ प्रतिशत प्रगति, पहिलो त्रैमासमा १४ करोड ७० लाख रुपैयाँ खर्च


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा नदी नियन्त्रणतर्फ ३४.९ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ।

GBIME
Tata

मन्त्रालय अन्तर्गतको नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखाका प्रमुख रवीन्द्रबहादुर थापाका अनुसार उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्षमा ५ अर्ब २० करोड ९० लाख बजेट विनियोजन भएको थियो। पहिलो त्रैमासिकमा छुट्याइएको ६२ करोड ७४ लाख बजेटमध्ये १४ करोड ७० लाख रुपैयाँ खर्च भएको छ।

यो त्रैमासिक बजेटको २३.४ प्रतिशत हो। सोही अवधिमा त्रैमासिक लक्ष्यको तुलनामा ३४.९ प्रतिशत भारित भौतिक प्रगति भएको हो।

उक्त अवधिमा २.९ किलोमिटर तटबन्ध निर्माण र एक हेक्टर जग्गा उकास भएको महाशाखाका प्रमुख थापाले बताए। उनका अनुसार केही आयोजनाले भने त्रैमासिक लक्ष्यभन्दा उल्लेखनीय राम्रो काम गरेका छन्।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, भरतपुर (चितवन) ले त्रैमासिक भौतिक लक्ष्यको १६०.८ प्रतिशत प्रगति हासिल गरेको छ।

त्यस्तै, टार–बजार संरक्षण कार्यक्रमले लक्ष्यको १०८ प्रतिशत प्रगति गरेको छ। लमही (दाङ)ले ८६.५ प्रतिशत, कञ्चनपुरले ८२.५ प्रतिशत र जनकपुर (धनुषा)ले ८२.३ प्रतिशत भौतिक प्रगति हासिल गरेको महाशाखाले जनाएको छ। रासस