स्वास्थ्यमन्त्री मेहतालाई रास्वपाकै सांसदले पत्याएनन्, ‘काम सुरु भएपछि मात्रै विश्वास गर्छौं’

बिजमाण्डू
२०८३ कात्तिक ८ गते १४:४७ | Oct 25, 2026
स्वास्थ्यमन्त्री मेहतालाई रास्वपाकै सांसदले पत्याएनन्, ‘काम सुरु भएपछि मात्रै विश्वास गर्छौं’
निशा मेहता


काठमाडौं। स्वास्थ्यमन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि टेन्डर प्रक्रिया अघि बढिसकेको बताएकी छन्।

GBIME
Tata

उनले ट्रमा सेन्टर निर्माणका लागि प्रस्तावित जग्गाको आइतबार निरीक्षणका क्रममा मन्त्रालयले टेन्डरसम्बन्धी कागजात तयार पारेर पूर्वाधारसम्बन्धी निकायमा पठाइसकेको बताइन्।

‘ट्रमा सेन्टर बन्छ कि बन्दैन भन्ने अन्योलमा रहन आवश्यक छैन। यो आयोजना सरकारको बहुवर्षीय योजनामा समावेश भइसकेको छ,’ मन्त्री मेहताले भनिन्।

उनले अब छिट्टै ट्रमा सेन्टरको शिलान्यास हुने विश्वास व्यक्त गरिन्। ढल्केवरमा ट्रमा सेन्टर बनाउने भनिएको लामो समय भइसकेको छ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसद राजकिशोर महतोले भने निर्माणको काम सुरु भएपछि मात्रै स्थानीयवासी विश्वस्त हुने बताए।

‘ट्रमा सेन्टरका नाममा यहाँका नागरिकले लामो समयदेखि आश्वासन पाउँदै आएका छन्। अब आश्वासनले मात्र चित्त बुझाउने अवस्था छैन। भवन निर्माण सुरु भएपछि मात्रै विश्वास जाग्छ,’ उनले भने।