विराटनगर। सम्बन्धित निकायले समयमा कार्यसम्पादन नगर्दा विराटनगर नाकातर्फ आइरहेका ५०० भन्दा बढी मालवाहक सवारी भारतीय भूमिमा एक हप्ता रोकिने भएका छन्।
सीमावर्ती भारतीय जोगबनी भन्सार र त्यहाँका अन्य तीन निकाय, नेपालतर्फको आइसीपी ठेक्कामा लिएको ट्रान्स नेपाल टीआरएस लोजीपार्क र विराटनगर भन्सार गरी मुख्य तीन निकायको कार्यसम्पादनमा सुस्त भएको मालवाहक सवारी एक हप्ता रोकिने भएका हुन्।
विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकी शर्माले फूलपाती असोज ३१ देखि कात्तिक ५ गतेसम्म बैंक बन्द हुने भएकाले एक हप्ता जाँचपास रोकिने बताए। यस अवधिमा नेपाल र भारतका भूमिमा ५०० बढी मालवाहक सवारी रोकिने उनको भनाइ छ।
शर्माले नेपाल र भारत दुवैतिरका निकायले जाँचपासको प्रक्रिया ढिलो, झन्झटिलो र लामो प्रक्रियाको बनाएर समयमा काम नगरिदिँदा नाकामा आइसकेका मालवाहक सवारी पनि भित्रन नसक्ने भन्दै असन्तोष व्यक्त गरे। यसकारण दसैंका लागि आयात गरिएका वस्तुका ट्रक रोकिने भएको उनी बताउँछन्।
भन्सार एजेन्टहरू भने भारतीय भन्सारबाटै मालवाहक सवारी नेपाल आउन २ दिन लाग्ने गुनासो गर्छन्। एक एजेन्टका अनुसार भारतीय भन्सारमा ४ वटा निकायले वस्तुको चेकजाँच गर्छन्। सबैभन्दा पहिले भन्सार एजेन्टले परीक्षण गर्छन्। यसपछि क्रमशः भन्सार कार्यालय, ल्यान्ड पोर्ट अफ इन्डिया (एलपीआई), एसएसबीले चेकजाँच गर्छन्। यसरी ४ निकायले चेकजाँच गर्दा एउटा मालवाहक सवारी त्यहाँबाट एक्जिट हुन दिनभरि लाग्छ।
‘आज बेलुका भारतीय भन्सारमा गाडी इन्ट्री भएको छ भने त्यहाँबाट एक्जिट हुन भोलि बेलुकासम्म कुर्नुपर्छ। त्यहाँ त्यति लामो र झन्झटिलो प्रक्रिया छ। यसरी हरेक गाडीले भारतीय भन्सारमा दिनको एक गाडीको भारु ११२२ का दरले २ दिनको पार्किङ चार्ज बुझाउनु पर्छ,’ एक आयातकर्ताले सुनाए।
नेपाल आउने मालवाहक सवारीलाई भारतीय भूमिमा यति धेरै चेकजाँच गर्नु नपर्ने भए पनि अनावश्यक झन्झट भइरहेको व्यवसायीको गुनासो छ।
यता विराटनगर भन्सारभित्र पनि मालवाहक गाडी पसेपछि समस्या छ। सबैभन्दा पहिले गाडीको तौल गर्नुपर्छ। व्यवसायीले हरेक गाडीको तौल गरिनु आवश्यक नभएको भन्दै विरोध गर्दै आएका छन्। तर, भन्सार विभागले लजिस्टिक र ह्यान्डलिङको ठेक्का लिएका कम्पनीको स्वार्थमा हरेक गाडीको तौल गर्न बाध्य बनाएको व्यवसायीको आरोप छ।
मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनिलकुमार शाहले तौल परिमाणमा आएका वस्तुको मात्र तौल गरिनुपर्ने भन्दै पेट्रोलियम प्रोडक्ट, कपडा लगायतका धेरै वस्तुमा तौल गर्नुपर्ने आवश्यकता नभएको बताए।
विराटनगर भन्सारको आइसिपी ठेक्कामा लिएको ट्रान्स नेपाल टीआरएस लोजिपार्कलाई पार्किङ चार्ज बाहेक एक गाडी तौल गरेको ३३० रुपैयाँ अलग्गै तिर्नुपर्छ।
भन्सार एजेन्ट महासंघ नेपालका केन्द्रीय सचिव प्रबिन जोशीले हरेक गाडीको तौल गर्नुपर्ने अनिवार्य नियम संशोधन गर्नुपर्ने आग्रह गरे।
केन्द्रीय सचिव जोशीले भने, ‘विराटनगर भन्सारमा गाडीको यति धेरै जाम छ कि सबै जाँचपास हुन नसकेर अब ६ दिनको बिदामा यहीँ थन्किनुपर्ने भएको छ। उता भारततर्फको सडकमा पनि धेरै गाडी लाम लागेर बसेका छन्। यसरी व्यवसायी र उपभोक्ता दुवै माथि अन्याय भइरहेको छ।’
जोशीले भारतीय जोगबनी भन्सारमा गाडी अटाउने ठाउँ नभएका कारण नेपालतर्फ आइरहेका गाडी भारतीय बाटोमा २ किलोमिटरसम्म लाइन लागेर जाम भएर बसिरहेको उल्लेख गरे।
‘यस समस्यालाई हल्का रूपमा लिनु हुँदैन। जाँचपास भएर एक हप्तासम्म मालवाहक गाडी अड्किएर बसे भने तिनको डिटेन्सन शुल्कको मार ठुलो परिमाणमा छ। र, नेपालका व्यवसायी यो भोग्न बाध्य भइरहेका छन्,’ जोशीको भनाइ छ।
विराटनगर भन्सारका प्रमुख उमेश श्रेष्ठले हरेक मालवाहक गाडीको तौल गर्न अनिवार्य भएको बताए।
प्रमुख श्रेष्ठले तौल लगायतका केही कारणले प्रक्रिया नलम्बने दाबी गर्दै भन्सारले समयमा जाँचपास गर्न सहयोग गरिरहेको बताए।










