नेपाल प्रहरीको ‘पूर्ण शान्ति पुरस्कार २०८३’ बाट बाँकेका एसपी अंगुर जिसी पुरस्कृत

बिजमाण्डू
२०८३ असोज ३० गते १०:२२ | Oct 16, 2026
नेपाल प्रहरीको ‘पूर्ण शान्ति पुरस्कार २०८३’ बाट बाँकेका एसपी अंगुर जिसी पुरस्कृत


काठमाडौं । नेपाल प्रहरीको बाँके जिल्ला प्रमुख प्रहरी उपरीक्षक ‘एसपी’ अंगुर जिसीलाई जोखिमपूर्ण तथा उत्कृष्ट काम गरेको कदमस्वरुप ‘पूर्ण शान्ति पुरस्कार’ प्रदान गरिएको छ।

GBIME
Tata

शुक्रबार ७१ औं प्रहरी दिवसको अवसरमा जिसीलाई गृहमन्त्री सुधन गुरुङले पुरस्कार प्रदान गरेका हुन्। नेपाल प्रहरीमा २५ हजार रुपैयाँ नगदसहित दिइने यो महत्वपूर्ण पुरस्कार हो।

एसपी जीसीलाई गत फागुनमा सम्पन्न निर्वाचन, शान्ति सुरक्षा, अनुसन्धान, राजस्व संकलन र फरार कैदीहरुलाई नियन्त्रणमा लिएको आधारमा यो पुरस्कार दिइएको हो। उनले ५७७ जना फरार प्रतिवादी पक्राउ गरेका थिए।

उनले नेतृत्व गरेपछि भदौ महिनाको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रहरी कार्यालय बाँके सर्वोत्कृष्ट भएको थियो। प्रहरी प्रधान कार्यालयले गरेको मूल्यांकन रिपोर्ट अनुसार भदौमा बाँके जिल्लाले ९०.४३ अंक प्राप्त गर्दै प्रथम भएको हो।

गत पुसदेखि मूल्यांकन समिति बनाएर प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयहरुको कार्यसम्पादन मूल्यांकन गर्दै आएको छ। पुसदेखि भदौसम्म बाँके पाँच पटक प्रथम भएको छ।

जिसी यसअघि पनि पूर्णशान्ति पुरस्कारको लागि दाबेदार थिए।