काठमाडौं। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले दुई वटा जलविद्युत आयोजना र एउटा कम्पनीमा सवा अर्बभन्दा बढी लगानी गर्ने भएको छ।
कम्पनीले ६३ मेगावाट क्षमताको छुजुङ खोला र ७० मेगावाटको दूधकोशी-२ जलविद्युत आयोजना तथा मोरङको अन्नपूर्ण राठी केबल्स इन्डस्ट्रिजमा १ अर्ब २९ करोड ९७ लाख ५० हजार रुपैयाँ लगानी गर्ने भएको हो।
एनआरएन इन्फ्रास्ट्रक्चरको सञ्चालक समितिको मंगलबार बसेको बैठकले दूधकोशी हाइड्रोपावर नेपालले प्रवर्धन गरेको दूधकोशी-२ जलविद्युत आयोजनामा १ अर्ब, सांग्रिला ऊर्जा लिमिटेडले प्रवर्धन गरेको छुजुङ खोला जलविद्युत आयोजनामा २० करोड र अन्नपूर्ण राठी केबल्स इन्डस्ट्रिजमा ९ करोड ९७ लाख ५० हजार रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ।










